coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपालगञ्ज भन्सार कार्यालयलाई लक्ष्य भेटाउनै मुस्किल

नेपालगन्ज भन्सार कार्यालय।तस्बिरः अर्जुन ओली/नागरिक

नेपालगन्ज– नेपालगन्ज भन्सार कार्यालयलाई यसवर्ष लक्ष्य अनुसारको राजश्व संकलन गर्न हम्य–हम्य परेको छ। भन्सार विभागले चालु आर्थिक वर्ष २०७५/७६ का लागि १२ अर्ब ३३ करोड १ लाख १६ हजार रूपैयाँ राजश्व असुल्ने बार्षिक लक्ष्य दिएको थियो। आर्थिक वर्ष सकिनै लाग्दा कार्यालयलाई सो लक्ष्य पुरा गर्न चुनौती थपिएको हो।

कार्यालयले जेठ मसान्त सम्म ११ अर्ब २७ करोड २४ लाख ९८ हजार रूपैयाँ राजश्व असुली गरेको छ। कार्यालयको रेकर्ड अनुसार असार महिनाको २४ गतेसम्म ८२ करोड मात्र राजश्व असुली भएको छ। अवस्था हेर्दा यसवर्ष भन्सार विभागले दिएको लक्ष्य अनुसार राजश्व संकलन नहुने निश्चित जस्तै भएको भन्सार अधिकारी बताउँछन्।

भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले यसवर्ष लक्ष्य अनुसारको राजश्व संकलन हुने सम्भावना न्यून रहेको बताए। ‘चालु वर्षको जेठ महिनासम्म ११ अर्ब २७ करोड २४ लाख ९८ हजार रूपैयाँ संकलन भएको छ, विभागले हामीलाई १२ अर्व ३३ करोड दिएको छ,’ उनले नागरिकसँग भने ‘असार २४ गतेसम्मको रेकर्ड अनुसार ८२ करोड मात्रै संकलन भएको छ, यो महिनाको अन्तिमसम्म मुस्किलले एक अर्ब जति पुग्ने हाम्रो अनुमान छ।’

कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा ८ अर्ब ३७ करोड ६४ लाख ५२ हजार लक्ष्य लिएकोमा १० अर्ब २७ करोड २२ लाख २६ हजार अर्थात १२२.६३ प्रतिशत संकलन गरेको थियो। अघिल्लो आर्थिक वर्र्ष २०७३÷७४ मा ५ अर्ब २० करोड ५३ लाख ८७ हजार राजश्व उठाउने लक्ष्य लिएकोमा ७ अर्ब २० करोड ७३ लाख ३२ हजार अर्थात् १३८.४५ प्रतिशत संकलन गरेको भन्सार कार्यालयको रेकर्ड छ।

भन्सार कार्यालयले चालु वर्ष २०७५/७६ को साउनमा ८६ करोड ३१ लाख ८ हजार लक्ष्य लिएकोमा ९१ करोड १५ लाख ९३ हजार असुली गरेको छ। यस्तै भदौंमा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा १ अर्ब १५ करोड ७८ लाख ९ हजार, असोजमा ८६ करोड ३१ लख ८ हजार लक्ष्य लिएकोमा १ अर्ब १९ करोड ७ लाख ५९ हजार, कात्तिकमा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा ९५ करोड ९ लाख ३४ हजार, मंसिरमा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा १ अर्ब २९ लाख ८३ हजार राजश्व असुली गरेको छ।

यस्तै पुस महिनामा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा ९९ करोड १७ लाख ५३ हजार, माघमा ९८ करोड ६४ लाख ९ हजार लक्ष्य लिएकोमा ९४ करोड ६७ लाख ७५ हजार, फागुनमा १ अर्ब १० करोड ९७ लाख ११ हजार लक्ष्य लिएकोमा ९३ करोड ५ लाख ८३ हजार, चैतमा १ अर्ब १० करोड ९७ लाख ११ हजार लक्ष्य लिएकोमा १ अर्ब ५ करोड १४ लाख ३१ हजार, बैशाखमा १ अर्ब १० करोड ९७ लाख ११ हजार लक्ष्य लिएकोमा ९८ करोड २२ लाख १३ हजार, जेठमा  १ अर्ब १० करोड ९७ लाख ११ हजार लक्ष्य लिएकोमा १ अर्ब १५ करोड ५६ लाख ६५ हजार असुली गरेको छ। असार महिनाका लागि भने कार्यालयले १ अर्ब २३ करोड ३० लाख ११ हजार राजश्व असुली गर्ने लक्ष्य लिएको छ।

भन्सार शुल्क बढी लाग्ने सामानको आयात दर घट्दा लक्ष्य अनुसारको राजश्व संकलन गर्न कठिनाई भएको भन्सार प्रमुख निरौलाले जिकिर गरे। ‘सरकारले चिनीको पैठारी बन्द गरेर कोटा सिस्टम लगाएको छ, भारतबाट भित्रिने मोटरसाईकल पनि कम मात्रामा आएको छ, सिमेन्ट, क्लिंकर जस्ता सामानको आयात पनि धेरै कम भईसकेको छ,’ उनले भने ‘त्यसैको परिणाम स्वरुप लक्ष्य अनुसार भन्सार असुल्न नसकिएको हो।’

भन्सार विभागले गतवर्ष भन्दा यसवर्ष करिव ५० प्रतिशतबढी लक्ष्य थपिदिएको छ। खुल्ला सिमाका कारण भारतबाट अबैध रुपमा माल सामान पैठारी भएर आउने क्रम नरोकिएको प्रमुख निरौला बताउँछन्। ‘सुरक्षाकर्मीको सहयोगमा हामीले अबैध पैठारीलाई कडाई त गरिरहेकै छौं, तरपनि दुई देशबीचको खुल्ला सिमाना छ, करिव ६० किलोमिटर बोर्डर क्षेत्र पुरै खुल्ला छ, त्यसकारण अबैध पैठारी नियन्त्रण गर्न चुनौतीपुर्ण छ,’ प्रमुख निरौलाले थपे।

 

प्रकाशित: २६ असार २०७६ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App