coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विदेश पढ्न एनओसी रोकियोः मारमा विद्यार्थी, अन्यौलमा मन्त्रालय

काठमाडौं– वैदेशिक अध्ययन अनुमतिपत्र अर्थात नो अब्जेक्शन लेटर (एनओसी) दिन रोकेको छ। मन्त्रालयको यो निर्णयले विद्यार्थीलाई मार परेको छ । सरकारले उच्च शिक्षा अध्ययनलाई मात्र एनओसी दिने निर्णयको विरोध विधार्थी तथा व्यवसायीले गरिरहेका छन्। सरकारले जेठको २९ गते सूचना प्रकाशित गरी रोक्ने निर्णय गरेको थियो।

एनओसी रोकिएको समय पनि धेरै भएको छ। यसबारे कस्तो निर्णय हुने हो भन्नेमा विद्यार्थीसँगै मन्त्रालय पनि अन्योलमा देखिन्छ। एनओसीको काम अचानक रोकिँदा अहिले हजारौंको संख्यामा रहेका विद्यार्थीहरुको भविष्य अन्योलमा देखिन्छ।

सिन्धुपाल्चोकबाट एनओसी लिन आएकी सुशिला लामाले +२ पास गरेर डिप्लोमा कोर्सको लागि अष्ट्रेलिया जान सबै प्रक्रिया पुरा गरिसकेकी छिन्। दुई दिन भन्दा बढि भइसकेको छ उनले वैदेशिक अध्ययन अनुमति शाखा केशरमलमा धाएको तर एनओसी पाउन भने सकेकी छैनन्। एनओसी पाउनका लागि आफु योग्य हुँदासमेत एनओसी नदिदा आश्चर्यमा छिन् उनी। मैले प्रमाणपत्र तह पास गरेर एनओसी लिन आउँदा पनि पाइन। एनओसी किन नपाएको भनेर निवेदन पेश गर्दासमेत कुनै जवाफ पाउन सकिन अब के गर्ने’ भन्दै कुरेर बसेकी छिन लामा।

यस्तै सुनसरीबाट एनओसी लिन आएका छन्, सलम चौधरी। चौधरी बि.आई.टी. अध्ययनका लागि रसिया जाने तरखरमा छन्। तर उनले पनि एनओसी पाउन सकेका छैनन्। उनीसँगै आएका साथीले एकैदिनमा एनओसी पाएको चौधरीले बताए। आफुले भने आजसम्म पाउन नसकेको गुनासो गर्छन।

नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाने क्रम बढ्दो छ। गएको वैशाखमा ३ हजार ७ सय ४६ जना र जेठमा ५ हजार ३ सय १३ जनाको संख्यामा विद्यार्थीहरुले एनओसी लिइसकेका छन्। अघिल्लो वर्षभन्दा यस वर्ष वैदेशिक अध्ययनका लागि धेरै विद्यार्थी जान सक्ने ठुलो सम्भावना रहेको वैदेशिक अध्ययन अनुमती शाखा केशरमलका उपसचिव महेश्वर शर्माले नागरिक न्यूजलाई बताए।

नेपालमा बसेर जिविकोपार्जन चलाउन एकदमै कठिन भएको भन्दै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट चलाउँदै आएका सुनाम छिरिंग पनि एनओसी लिने लाइनमा थिए। उनले चार वर्षदेखि जसोतसो रेष्टुरेन्ट चलाएर आफ्नो परिवार पालिरहेका थिए। उनले देशमा बढेको महंगाई र घरबेटीको तानाशाही प्रवृतीका कारण रेष्टुरेन्ट बेचेर कोरिया जान थालेको छन्। उनका अनुसार देशमा बढेको वेथितीका कारण साना र सामान्य नागरिकहरु विदेशिन बाध्य छन्। उनले पनि आजसम्म एनओसी पाउन सकेका छैनन्।

यस्तै चितवनबाट छोराको लागि एनओसी लिन आएका राधाकृष्ण पाठक पनि विहानै देखि लाइनमा देखिन्थे। विसिए कोर्सको अध्ययनका लागि छोरालाई अष्टे«लिया पठाउन थालेका पाठकलाई एनओसी नपाउँदा छोराको भविष्य के हुने हो भनेर चिन्तामा थिए।

यी त उदाहरण पात्र मात्र हुन। यस्तै दैनिक जसो सयौंको संख्यामा एनओसी लिने विद्यार्थी तथा अभिभावकको भिड वैदेशिक अध्ययन अनुमती शाखा केशरमलमा देख्न सकिन्छ। मन्त्रालयले पूर्व जानकारी नदिएरै एक्कासी यो निर्णय लिँदा वैदेशिक शिक्षामा जान पुर्ण तयारी अवस्थामा रहेका विद्यार्थीलाई अप्ठ्यारो परेको व्यवसायीले बताएका छन्। एनओसी रोक्नुमा राज्यको अज्ञानता भएको स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का सचिव राजु निरौलाले बताए। आफुहरुसँग सल्लाह नगरी यसरी एनओसी रोकिनु हुदैनथ्यो भन्दै आफ्ना विद्यार्थीहरुलाई अन्योलमा पारेको उनको भनाई छ। अधिकारको हिसावले पनि सबैलाई अध्ययन क्षेत्र र विषय छनौट गर्न पाउने अधिकार छ र राज्यले गरेको निर्णय गलत भएको फेकनका अमित ढुंगानाले बताए।

यस अघि +२ लाई उच्च शिक्षाको मान्यता दिदै आएको भएतापनि अहिलेको संशोधित कानुनमा +२ लाई माध्यमिक तहको मान्यता दिइएका कारण एनओसी दिन नसकेको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले बताएका थिए। यस्तै शर्माका अनुसार जो विद्यार्थीले +२ पास गरेर सो भन्दा माथिल्लो तह पढ्न जान चाहन्छ र प्रकृया पुरा गरेर आएको खण्डमा एनओसी दिइनेछ। छात्रवृत्ति ऐन २०२१ बमोजिम सरकारले यो निर्णय गरेको उनको भनाइ छ।

कानुनतः एकातर्फ प्लस टु उत्तिर्ण विद्यार्थीले उच्च शिक्षाका लागि एनओसी पाउने व्यवस्था हुनु र अर्कोतर्फ उच्च शिक्षाको जग मानिने डिप्लोमा कोर्सका लागि एनओसी नदिनु तथा यसबारे निष्कर्षमा पुग्न नसक्नुले मन्त्रालय आफैमा अस्पष्ट छ।

प्रकाशित: २६ असार २०७६ ०८:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App