६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अमेरिका–चीनबीच व्यापार वार्ता पुनः सुरु

गत मे १० मा अमेरिकाको वासिङ्टन डिसीस्थित व्यापार प्रतिनिधिको कार्यालयबाट निस्किँदै गरेका चिनियाँ उपप्रधानमन्त्री लिउ हे (बायाँ) अमेरिकी वार्ता प्रतिनिधि रोबर्ट लाइटिजर (बायाँ)सँग हात मिलाउँदै। साथमा अमेरिकी अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन। फाइल तस्बिर

वासिङ्टन – संयुक्त राज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मंगलबार टेलिफोनमा कुराकानी भएको छ। दुवै मुलुकबीच विश्वासको वातावरण रहेको भन्ने घोषणाको करिब एक सातापछि नै व्यापार युद्धको चित्त बुझ्दो समाधानका लागि वार्ताको पहल सुरु भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

विश्वका २० औद्योगिक राष्ट्रको शिखर सम्मेलन (जी–२०) बैठकमा सहभागी हुन जापानको ओसाकामा रहँदा ट्रम्प र सीबीच व्यापार, लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाजस्ता विषयमा छलफल भएको थियो।

अमेरिकाले चीनका थप सामग्रीमा करवृद्धि गर्ने घोषणा गरेसँगै दुवै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भंग भएको थियो। अमेरिकी कदमलगत्तै चीनले पनि प्रतिशोधस्वरुप कतिपय अमेरिकी सामानमा करवृद्धि गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत जुन २९ मा जापानमा भेटवार्ता भएपछि अवरुद्ध व्यापार वार्ता पुनःथालनी गर्ने विषयमा सहमति भएको थियो।

विश्वका २० औद्योगिक राष्ट्रको शिखर सम्मेलन (जी–२०) बैठकमा सहभागी हुन जापानको ओसाकामा रहँदा ट्रम्प र सीबीच व्यापार, लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाजस्ता विषयमा छलफल भएको थियो। अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चिनियाँ उपप्रधानमन्त्री लिउ हे र वाणिज्य मन्त्री झोङ शानसँग मंगलबार टेलिफोनबाट कुराकानी गरेका थिए।

ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले संवाददातासँग कुरा गर्दै चिनियाँ प्रतिनिधिसँग टेलिफोनमा भएको वार्ता निकै रचनात्मक भएको तर विस्तृत विवरण सार्वजनिक गर्ने समय नभइसकेको जानकारी दिएका छन्। अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिएको अन्तर्वार्तामा कुडलोले दुवै देशका उच्च व्यापार मध्यस्थकर्ताबीच भएको वार्ता प्रारम्भिक रहेको बताए। उनले दुवै पक्षबीच सायद तत्कालै बैठकको आयोजना हुने विश्वास पनि व्यक्त गरेको फक्स बिजनेस टेलिभिजनसँगको अन्तर्वार्ता उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ।

चीनले जतिसक्दो चाँडो अमेरिकी कृषि उत्पादन खरिद गर्न थालेलगत्तै सम्भवतः वासिङ्टन–बेइजिङबीच व्यापार वार्ता पनि सुचारु हुने ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले बताए। चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको संक्षिप्त वक्तव्यमा ओसाकामा अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच भएका विचार आदानप्रदानकै सेरोफेरोमा सहमति खोजिने उल्लेख छ।

अमेरिका र चीनले एक अर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेका छन्। एकअर्काका सामानमा करवृद्धि भएसँगै विश्वभरबाट चिन्ता व्यक्त भइरहेकै समयमा विश्वका दुई शक्तिशाली राष्ट्रबीच पुनः वार्ता सुरु हुने समाचारले विश्व अर्थ बजारमा सकारात्मक सन्देश गएको छ।

प्रकाशित: २६ असार २०७६ ०५:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App