८ वैशाख २०८१ शनिबार
राजनीति

आक्रामक बन्दै क्लिन्टन र ट्रम्प

म्यानचेस्टर (अमेरिका)– अमेरिकी राष्ट्रपति निर्वाचनका लागि एक साता भन्दा कम समय बाँकी रहँदा डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले जित सुनिश्चित नभएका राज्यहरूमा दौडाह बढाएका छन् ।

निर्वाचनको अन्तिम साता दुवै उम्मेदवार एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । क्लिन्टनले ट्रम्पले महिलामाथि अभद्र व्यवहार र अमेकिरिकीबीच फाटो बढाउने व्यवहार प्रदर्शन गरेको भन्दै आलोचना गरिरहेकी छिन् ।

ट्रम्पले  क्लिन्टनले विदेशमन्त्री हुँदा आफ्नो छुट्टै सर्बर राखेर सरकारी इमेल दुरुपयोग गरेको आरोप लगाइरहेका छन् । क्लिन्टनलाई ‘बदमास आइमाई’ को संज्ञा दिँदै ट्रम्पले वर्तमान राष्ट्रपति बाराक ओबामाको स्वास्थ्य नीति ‘ओबामाकेयर’ को पनि चर्को आलोचना गर्न थालेका छन् ।

डोनाल्ड ट्रम्पले महिलामाथि अभद्र व्यवहार र अमेकिरिकीबीच फाटो बढाउने काम गरेका छन्, उनी राष्ट्रपति हुन योग्य छैनन् –हिलारी क्लिन्टन
हिलारी क्लिन्टन ‘बदमास आइमाई’ हुन्, उनले विदेशमन्त्री हुँदा सरकारी इमेल दुरुपयोग गरेकी छिन्, उनी ओभल अफिस होइन जेल जानुपर्छ –डोनाल्ड ट्रम्प

निर्वाचनको १२ दिनअघि संघीय अनुसन्धान ब्युरो  एफबिआई) का निर्देशक जेम्स कोमीले अमेरिकी कंग्रेसको एक समितिका सदस्यहरूलाई पत्र पठाएर क्लिन्टनले विदेशमन्त्री हुँदा निजी सर्बर राखेर सरकारी इमेल दुरुपयोग गरेको हुनसक्नेबारे फेरि अनुसन्धान सुरु गरेको जानकारी गराएका थिए ।

यो मौका छोप्दै ट्रम्पले क्लिन्टनको चर्को आलोचना सुरु गरे । उनले क्लिन्टन ओभल अफिसमा होइन अपराधी प्रमाणित भएर जेल जाने दाबीसमेत गर्न भ्याए । समर्थकलाई उत्साहित बनाउन ट्रम्पका लागि यो राम्रो मौका साबित भयो ।

एफबिआईको अघिल्लो छानबिनपछि मुद्दा नचल्नेमा ढुक्क भएर चुनावी दौडमा लागेकी क्लिन्टनलाई थप इमेल छानबिन गर्ने घोषणाले झट्का दिइको छ । उनका अभियन्ताले चुनावको मुखमा एफबिआईले लिएको यो कदमलाई स्थापित परम्पराबाहिरको काम मात्र नभनेर चुनावलाई प्रभावित गर्न नपाउने कानुनी व्यवस्थाको उल्लंघनका रुपमा लिएका छन् ।

क्लिन्टन र उनका समर्थकले के र कुन इमेलको छानबिन गर्ने हो जनतालाई तत्काल स्पष्ट पार्न पनि आग्रह गरे ।
इमेल कान्डको थप छानबिन हुने भएपछि उत्साहित ट्रम्प सोमबार प्रकाशित वासिंगटन पोस्ट एबिसी न्युजको एउटा चुनावी सर्भेक्षणमा क्लिन्टनभन्दा एक प्रतिशतले अगाडि देखिएका थिए । यो सर्भेक्षण नतिजासँगै इमेल कान्डको बचाउमा अल्झिरहेको क्लिन्टनको अभियानले ट्रम्पविरुद्धको मोर्चा खोल्यो र उनी अभद्र, अश्लिल पुरुष र अमेरिकी राष्ट्रपतिका लागि अयोग्य रहेको भन्दै आलोचना गर्न थालेको छ ।

फ्लोरिडामा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै क्लिन्टनले ट्रम्पलाई कर छलीमा मुछिएको, महिलाबारे अश्लिल टिप्पणी गर्ने साँढेका रुपमा प्रस्तुत गरिन् ।

ट्रम्पविरुद्धको मोर्चामा क्लिन्टनलाई राष्ट्रपति बाराक ओबामा, उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन, हिलारीविरुद्ध प्रारम्भिक चुनावमा प्रतिस्पर्धा गरेका बर्नी स्याण्डर्स जस्ता डेमोक्रेटिक नेताले साथ दिएका छन् । उनीहरूले छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै क्लिन्टनको पक्षमा मत मागिरहेका छन् । राष्ट्रपति ओबामाले ओहायोको चुनावी सभामा क्लिन्टनको बचाउ गर्दै मत मागे ।

अर्कोतर्फ, ट्रम्पले आफूले निर्वाचन जिते राष्ट्रपति ओबामाको स्वास्थ्य नीति खारेज गरिदिने घोषणा गरेका छन् । अमेरिकाको एउटा तप्काले ओबामाको स्वास्थ्य नीति महँगो हुँदै गएको भनेर चर्को आलोचना गरिरहेको समयमा ट्रम्पले त्यसको खारेजी नै गरिदिने घोषणा गरेका हुन् ।

अमेरिकाका कतिपय राज्यमा निर्वाचनको मितिभन्दा अगाडि नै मतदान गर्न पाउने कानुनी व्यवस्था छ । अमेरिकी समाचार च्यानल, सिएनएनले करिब २ करोड ५० लाख मतदाताले निर्वाचनमा मतदान गरिसकेको जनाएको छ । यो मतदानमा क्लिन्टन अघि रहेको केही सर्भेक्षणले देखाएपछि ट्रम्पले मतदातालाई मत परिवर्तन गर्न आग्रह गरेका छन् । तर मत परिवर्तन गर्ने अधिकार उपयोग गर्न पाउने कानुनी व्यवस्था ६ वटा राज्यमामात्र छ । ६ राज्यमध्येको एक विस्कन्सन पुग्दा ट्रम्पले सोमबार यस्तो आग्रह गरेका हुन् ।

रिपब्लिकनका वरिष्ठ नेताहरूको साथ एकदमै कम पाएका ट्रम्पका लागि निर्वाचन जित्न अझै चुनौती देखिन्छ ।

रिपब्लिकनबाट उपराष्ट्रपतिका उम्मेदवार माइक पेन्सले पार्टीका नेता, कार्यकर्ता र समर्थकलाई एकजुट हुन आग्रह गरेका छन् ।  विस्कन्सनमा ट्रम्पसँग देखिएका पेन्सले सबै रिपब्लिकनलाई आफ्ना मतभेद थाँती राखेर घर फर्कन आग्रह गरेका छन् ।

प्रकाशित: १८ कार्तिक २०७३ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App