८ वैशाख २०८१ शनिबार
समाज

आत्महत्याको संख्या वर्षेनी बढ्दै

धादिङ - धादिङमा आत्महत्याको संख्या पछिल्ला वर्षमा बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको रेकर्डअनुसार हरेक वर्ष आत्महत्याको संख्या वृद्धि हुँदै गइरहेको हो।

धादिङका प्रहरी प्रमुख राजकुमार बैदवारका अनुसार चालू आर्थिक वर्ष (आव)को हालसम्म मात्रै ८७ जनाले आत्महत्या गरेको तथ्यांक छ। जसमा ५६ जना झुन्डिएर, ३१ जना विष सेवन गरेर र एकजनाले हामफालेर आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा महिलाभन्दा पुरुष बढी रहेका छन्। तीमध्ये ४३ जना महिला र ४४ जना पुरुष रहेका छन्। धादिङमा चार वर्षको अवधिमा तीन सय १६ जनाले आत्महत्या गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय धादिङको रेकर्डअनुसार आव २०७२/७३ मा ६२ जनाले आत्महत्या गरेका थिए।

आत्महत्यापछि पोस्टमार्टमको झमेलाका कारण कतिपय ठाउँमा गुपचुप दाहसंस्कार हुने गरेको र त्यस्ता घटनाको रेकर्ड नरहको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।

आव २०७३/७४ मा आत्महत्याको संख्या ७५ पुग्यो। आ २०७४/०७५ मा अझै बढेर ९२ जना पुगेको प्रहरी उपरीक्षक बैदवारले बताए। आत्महत्यापछि पोस्टमार्टम गर्ने झमेलाका कारण कतिपय ठाउँमा गुपचुप दाहसंस्कार पनि हुने गरेको छ। त्यस्ता घटनाको भने रेकर्ड नरहने जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रूपक खड्काले बताए। आत्महत्याको चार वर्षे आँकडा हेर्दा धादिङ जस्तो कम जनघनत्व भएको जिल्लामा यति धेरै आत्महत्या हुनु र वर्षेनी त्यो

संख्या बढ्दै जानु निकै भयावह अवस्था रहेको सिनियर मनोविमर्शकर्ता रामकुमार थापाले बताए। ‘जीवनदेखि हार खाएर वा आफूलाई सहयोग र माया गर्ने मानिसको अभावका कारण मानिसको दिमाग शून्यमा पुग्छ,’ उनले भने, ‘विभिन्न समस्याले एकैपटक घेरेपछि मानिस दिमागशून्य अवस्थामा पुग्छ र आफैलाई नष्ट गर्न अघि सर्ने गर्छ।’ थापाका अनुसार कुनै एउटा कारणले मात्र नभई थुप्रै कारण र समस्याले गर्दा मानिस आत्महत्या गर्ने मनस्थितिमा पुग्छन्। आत्महत्या न्यूनीकरण गर्न सबैभन्दा पहिलो कुरा परिवारमा माया, आपसमा हेरचाह र सोधपुछ हुनुपर्ने थापाको भनाइ छ।

प्रकाशित: २६ असार २०७६ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App