७ वैशाख २०८१ शुक्रबार
समाज

व्यवस्थापन संकायमा अधिक विद्यार्थी

काठमाडाैँ - श्वविद्यालयमा अन्य संकायभन्दा व्यवस्थापन संकायमा विद्यार्थीहरुको चाप बढ्दै गएको देखिएको छ। सबै क्षेत्रमा कुशल व्यवस्थापकको माग हुन थालेपछि व्यवस्थापनमा विद्यार्थीको आकर्षण बढेको हो। तीन वर्ष अघिसम्म त्रिविको दीक्षान्त समारोहका लागि योग्य ठहरिएका विद्यार्थीको ग्रेसलिस्टमा अधिक विद्यार्थी शिक्षाशास्त्र संकायका हुने गरेकोमा हाल सो स्थान व्यवस्थापन संकायले लिएको छ।

बुधबार त्रिविको ६० औं वार्षिकोत्वसमा चार संकाय र पाँच अध्ययन संस्थाका डिनहरुले सभामा पेस गरेका ग्रेसलिस्ट अनुसार आगामी दीक्षान्त समारोहका लागि कुल ७० हजार ७७ विद्यार्थी योग्य ठहरिएका छन्। ५७ औं ग्रेसलिस्ट अनुसार उत्तीर्ण विद्यार्थीमध्ये व्यवस्थापन संकायका विद्यार्थी संख्या अधिक छ।

विश्वविद्यालयका रजिस्ट्रार डिल्लीराम उप्रेतीद्वारा पेस गरिएको ग्रेस लिस्टअनुसार २०७५ असार १ देखि २०७६ जेठ मसान्तसम्म स्नातक, स्नातकोत्तर, विद्यावारिधि गरी सर्टिफिकेट लिइसकेका विद्यार्थीहरुको संख्या ७० हजार ७७ रहेको छ। जसमध्ये व्यवस्थापन संकायमा २२ हजार ७ सय ९८, शिक्षशास्त्र संकायमा २० हजार ६, मानविकी तथा समाजिक शास्त्र संकायमा १३ हजार ६ सय ९५ र कानुन संकायमा एक हजार ६ सय ६६ विद्यार्थी छन्। यसअनुसार व्यवस्थापन संकायमा ३२.५ प्रतिशत विद्यार्थी दीक्षित हँुदैछन् भने शिक्षा शास्त्रमा २८.५ प्रतिशत। यसैगरी मानविकी तथा समाजिक शास्त्रमा १९.५, कानुन संकायमा २.४ प्रतिशत विद्यार्थी दीक्षीत हुँदैछन्। तयस्तै, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ९.३ प्रतिशत, इन्जिनियरिङ अध्ययन संस्थानका ४.२ प्रतिशत र चिकित्साशिक्षा शास्त्रका ०.७ प्रतिशत र वन विज्ञानतर्फ ०.४ प्रतिशत विद्यार्थी दीक्षित हुँदैछन्।

गत वर्षको तुलनामा व्यवस्थापन संकायमा २ प्रतिशत विद्यार्थी बढेका हुन्। गत वर्षको ५६ औं ग्रेस लिस्टमा ३०.६ प्रतिशत विद्यार्थी व्यवस्थापन संकायमा दीक्षित भएका थिए। व्यवस्थापन संकायका डिन डिल्लीराज उप्रेतीले एक दशक यता हरेक क्षेत्रमा कुशल व्यवस्थापकको आवश्यकता महसुस भएकै कारण व्यवस्थापन पढ्नेहरु ह्वातै बढेको बताए। उनका अनुसार त्रिवि व्यवस्थापन संकायले स्नातक र स्नातकोत्तर तहमा कुल २४ विषय पठनपाठन गराउँदै आएको छ। ‘हाम्रो संकायमा बिबिएसबाहेक सबै विषय सेमेस्टर प्रणालीमा छ।

चुस्त परीक्षा प्रणाली र ७०–७५ प्रतिशत नतिजाले पनि विद्यार्थी आकर्षण बढेको छ,’ डिन शर्माले नागरिकसँग भने, ‘यति मात्र होइन हाम्रो संकायमा समयको मागअनुसार विश्वबजार र स्वदेशमा समेत खपत हुने दक्ष जनशक्ति उत्पादन हुन्छ। व्यवहारिक विषयहरुले विद्यार्थीलाई दक्ष र क्षमतावान् बनाएको छ।’ उनले थपे, ‘स्नातकमा बिबिए, बिएचएम, बिआइएम, बिबिएम, बिटिटिएम, बिएमएस, बिपिएलगायतका विषय पठनपाठन हुँदा हाम्रा विद्यार्थी विश्वबजारमा बिकेका छन्।’ यसैगरी स्नातकोत्तर तहमा एमबिएस, एमबिए, एमबिएजिएलएम, एमबिएआइटी, एमएफसी, एमबिएम, एमएचएम र एमटिटिएम विषयसमेत सञ्चालन भइरहेको छ।

तीन वर्षअघिसम्म शिक्षाशास्त्रमा धेरै विद्यार्थी रहेकोमा दीक्षित विद्यार्थी त्यसै थुप्रिएर बेरोजगार हुन थालेपछि शिक्षा शास्त्रमा चाप घटेको डिन कृष्ण गौतमको भनाइ छ। ‘शिक्षाशास्त्रमा तीन वर्षदेखि विद्यार्थी घटेका हुन्,’ गौतमले भने, ‘शिक्षाशास्त्रले राम्रो शिक्षक उत्पादन गर्ने हो तर शिक्षक सेवा आयोगले समयसमयमा विज्ञापन नखुलाएकाले उत्पादित जनशक्ति थुप्रिए। बजारमा बिकेनन्। एमएड र बिएड गरेकाले पनि विदेशिएर बालुवा चाल्नु परेपछि यो संकायमा आकर्षण घटेको हो।’

विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयको संस्थागत विकासमा नेपाल सरकारले आवश्यक सहयोग निरन्तर जारी राख्ने र अब उच्च शिक्षा वैज्ञानिक, व्यवहारिक, रोजगारमूलक र गुणस्तरीय हुनुपर्नेमा जोड दिए। ‘हामीले प्राथमिक शिक्षाका साथै उच्च शिक्षालाई समाजका सबै वर्ग समूह, लिंग, जात, धर्म, क्षेत्रको पहुँचमा पु¥याउन आवश्यक छ,’ कुलपति ओलीले बैठकलाई सम्बोधन गर्दै भने, ‘विश्वविद्यालय सुधार हुन आवश्यक छ। गुण र दोषका आधारमा पुरस्कार र काराबाही हुन्छ। कोही व्यक्तिको नजिक हँुदैमा दोषीले छुट पाउने छैन।’

प्रकाशित: २६ असार २०७६ ०४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App