६ वैशाख २०८१ बिहीबार
अर्थ

कर छली आरोपमा फन भ्यालीका कागजपत्र नियन्त्रणमा

भक्तपुर – आन्तरिक राजस्व कार्यालय भक्तपुरले कर छली गरेको आशंकामा काठमाडौं फन भ्याली कम्पनीमा छापा मारेको छ। सूर्यविनायक नगरपालिका–१० पलाँसेमा सञ्चालित फन भ्यालीले नक्कली बिल काटेको आशंकामा राजस्व कार्यालयले छापा मारेको हो। कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर कर छली गरेको उजुरी राजस्व कार्यालयमा पुगेको थियो।

राजस्व कार्यालयका प्रमुख सूर्यप्रसाद पोखरेलले कर छलीको उजुरी कार्यालयमा आएपछि काठमाडौं फन भ्यालीका कागजपत्र नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको जानकारी दिए। राजस्वले फन भ्यालीका लेखा र राजस्वसम्बन्धी सबै कागजपत्र, कम्प्युटरलगायत सामान नियन्त्रणमा लिएको हो। प्रमुख पोखरेलले कागजात हेरेपछि कर छले–नछलेको र छलेको भए कति छलेको भन्ने स्पष्ट हुने बताए। 

काठमाडौं फन भ्यालीको नाममा दर्ता भई सञ्चालनमा रहेको उक्त कम्पनीले कर छली गर्न वाटर वल्र्ड ट्रेडर्स प्रालिका नाममा बिल काट्ने गरेको उजुरी परेको थियो। यो कम्पनीले कुनै बिल फन भ्याली र कुनै बिल वाटर वल्र्ड ट्रेडर्सका नाममा काट्ने गरेको बताइएको छ।

फन भ्यालीका प्रवक्ता लक्ष्मण गिरीले कर कार्यालयले कागजपत्र लिएको स्वीकार गर्दै कर छली नगरेको दाबी गरे।

खासगरी त्यहाँ विद्यार्थी लैजाने विद्यालयहरुलाई कम्पनीको सक्कली बिल नदिई वाटर वल्र्डको नाममा बिल काटेर लाखौं रुपैयाँ कर छलेको आरोप लगाइएको छ। दोहोरो बिल बनाएर कर छली गरेको उजुरी विद्यालयहरुले दिएपछि राजस्व कार्यालयले छापा मारेको हो। फन भ्यालीमा गर्मी मौसममा सयौं विद्यालयका हजारौं विद्यार्थी जाने गर्छन्।

अर्कोतिर फन भ्यालीले प्रदूषित पानी राखेको र स्थानीय सार्वजनिक जग्गासमेत मिचेर दुरुपयोग गरेको आरोप स्थानीयले लगाउँदै आएका छन्। स्थानीयले उजुरी दिएपछि सूर्यविनायक नगरपालिका वडा नं १० ले समेत फन भ्यालीलाई कारबाही गर्न पत्राचार गरेको थियो।

एक सय ४५ जना स्थानीयले १० नम्बर वडा अध्यक्ष शिवराम राउतलाई हस्ताक्षर सहितको उजुरी दिएका थिए। उजुरीमा फन भ्यालीले स्थानीय कुसिंग खोलामा ठूलाठूला खाल्डा खनेर पानी तान्ने गरेको, खोलाको पानी पौडी पोखरीमा राखेर विभिन्न प्रकारका रसायन प्रयोग गर्दै मानव स्वास्थ्यसँग खेलबाड गरेको र रसायनयुक्त पानी पुनः सोही खोलमा फ्याँक्ने गरेको आरोप लगाएका थिए। यसले पानीको स्रोतसमेत दूषित पारेको भन्दै उनीहरुले कारबाहीको माग गरेका थिए।रासस

प्रकाशित: २६ असार २०७६ ०४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App