८ वैशाख २०८१ शनिबार
समाज

कुटाइबाट छात्रको मृत्यु, चार शिक्षक पक्राउ

धनगढी - शिक्षकको कुटाइबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र १५ वर्षीय माधव कलौनीको ज्यान गएको छ। कक्षा ९ मा अध्ययनरत कलौनीलाई असार १३ गते शिक्षकले कक्षाकोठाबाट अफिसमा लगेर कुटेको आरोप छ। कुटपिटपछि गम्भीर घाइते भएका कलौनीलाई उपचारार्थ भारतको राममूर्ति अस्पतालम लगिएको थियो। उनको उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको बुबा बिरस्पति कलौनीले बताए।

महाकाली अञ्चल अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा उपचार सम्भव नभएपछि कलौनीलाई भारतको राममूर्ति अस्पताल लगिएको बुबा बिरस्पतीले बताए।
छात्र कलौनीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कुटपिटको आरोप लागेका चार शिक्षकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार विद्यालयका प्रधानाध्यापक यशोदा जोशी, शिक्षकहरू दुर्गादत्त पाठक, लक्ष्मण भट्ट र हर्क जाग्रीलाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिइएको छ। विद्यालयबाहिर साथीभाइसँग झै–झगडाको विषयलाई लिएर प्रधानाध्यापकसहितका शिक्षकले कलौनीलाई कुटपिट गरेको पीडित परिवारको भनाइ छ।

कलौनीका बुबा बिरस्पतिले प्रधानाध्यापक जोशी, शिक्षकहरू भट्ट, हर्क र पाठकले कुटपिट गरेर घाइते बनाएको भन्दै यसअघि नै प्रहरीमा उजुरी दिएका थिए। कुटपिटबाट कलौनीको टाउको, छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको परिवारको दाबी छ। ‘शिक्षकहरूले विद्यालयमै सामूहिक रूपमा छोरामाथि कुटपिट गरे,’ बुबा बुबा बिरस्पतिले भने।

पीडित परिवारका अनुसार असार १२ गते विक थरका अर्का छात्र र कलौनीबीच झगडा भएको थियो। सोही झगडाको विषयलाई लिएर दुवै विद्यार्थीलाई १३ गते अफिसमा बोलाएर शिक्षकले कुटपिट गरेको थिए। कुटपिटपछि दुवै छात्रलाई विद्यालयले ‘रेस्टिकेट’ गरेर अभिभावकको जिम्मा लगाएको थियो। कुटपिटबाट विक सामान्य घाइते भए पनि कलौनी भने गम्भीर भएका थिए। कलौनीका बुबा बैतडीमा भएकाले उनलाई डडेल्धुरा बोलाएर छोराको उपचार गराइएको थियो। डडेल्धुरामा उपचार सम्भव नभएपछि महाकाली अञ्चल अस्पताल कञ्चनपुर ल्याइएको थियो। अवस्था गम्भीर हुँदै गएपछि १८ गते घाइते छोरालाई एम्बुलेन्समा जिल्ला प्रहरी कार्यालयमै लगेर चार शिक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दिएको बुबा बिरस्पतिले बताए।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि महाकाली अञ्चल अस्पतालमा घाउ जाँच फाराम भराइएको प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए। २२ गते विद्यालय व्यवस्थापन समितिको बैठकमा उपचार खर्च बेहोर्ने सहमति भएकाले शिक्षकहरूलाई त्यतिबेला पक्राउ नगरिएको उनले बताए। महाकाली अञ्चल अस्पतालमा घाइतेको अवस्था सुधार नभएपछि कोहलपुर मेडिकल कलेज लगियो। उनको अवस्था बिग्रँदै गएपछि भारतको बरेलीस्थित राममूर्ति अस्पतालमा लगिएको थियो। सोही अस्पतालमा मंगलबार राति छोराको मृत्यु भएको बुबा बिरस्पतिले बताए। कलौनीको शव नेपाल ल्याएपछि पोस्टमार्टम गरिने प्रहरी उपरीक्षक आचार्यले बताए।

विद्यालयमा यसअघि पनि बेला बेलामा शिक्षकले अन्य विद्यार्थीलाई कुटपिट गरेको विद्यार्थीहरूले बताएका छन्। सोही विद्यालयमा अध्ययनरत आरएन जोशीले बेलाबेला शिक्षकको कुटाइबाट विद्यार्थी घाइते हुने गरेको बताए। ‘दुई वर्षअघि मलाई पनि शिक्षकले कुटेका थिए,’ उनले भने, ‘अगामी दिनमा विद्यार्थी नकुट्ने सहमति गरिए पनि विद्यार्थी कुटपिट गर्न रोकिएन।’

प्रहरी उपरीक्षक आचार्यले असार १८ गते पीडित पक्षले शिक्षकविरुद्ध उजुरी दिएपछि उपचार गराउने सहमति भएको बताए। उनले भने, ‘अहिले विद्यार्थीको मृत्यु भएपछि शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’ दुई विद्यार्थीबीच झगडा भएपछि कार्यालयमै बोलाएर कुटपिट भएको जानकारीमा आएको उनले बताए।

यसैबीच विभिन्न विद्यार्थी संगठनले निजी विद्यालयका शिक्षकको कुटाइबाट घाइते भएका विद्यार्थी कलौनीको मृत्यु भएको घटनाको छानबिन माग गरेका छन्। नेकपानिकट अनेरास्ववियु, कांग्रेसनिकट नेविसंघ, वैद्यनिकट अखिल क्रान्तिकारी, जनमोर्चानिकट अखिल छैटौंले संयुक्त रूपमा र नेत्रविक्रम चन्द ‘विप्लव’ निकट क्रान्तिकारीले छुट्टै विज्ञप्ति जारी गरी छानबिन माग गरेका हुन्।

प्रकाशित: २६ असार २०७६ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App