coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नारावाजीबीच संसद् बैठक

काठमाडौं - प्रतिनिधिसभाको बुधबारको बैठक प्रतिपक्षीको नारावाजीबीच मै सञ्चालन भएको छ। सर्लाहीमा भएको मृत्युको घटनाबारे संसदीय समिति गठन नभएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी राजपाले संसद्मा दोस्रो दिन पनि नारावाजी गरेका हुन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि संसदीय समिति गठको माग राख्दै प्रतिपक्षीले संसद्मा नारावाजी गरेका थिए। त्यसपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना जारी गर्दै बुधबार १ बजे बोलाइएको थियो।

बुधबार १ बजे बैठक बोलाइए पनि सभामुखले मध्याह्नदेखि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए तर सहमति भएको थिएन। सहमति नभए पनि निर्धारित समयभन्दा डेढ घण्टापछि मात्रै बैठक सुरु भएको थियो। सभामुखले २ बजेर २६ मिनेटमा बैठक सुरु गराएका थिए। बैठक सुरु हुनासाथ प्रतिपक्षी कांग्रेस र राजपाले उठेर विरोध जनाएका थिए। सभामुखले हिजै राखेको विषय भएकाले आज बस्न आग्रह गरेका थिए। तर, उनले नयाँ कुरा भन्छु बस्नुस् भन्दै प्रतिपक्षलाई बसाउन खोजिरहेका थिए। प्रतिपक्षले यसबारे कुनै सुनुवाइ गरेको थिएन। प्रतिपक्षीले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेको अवस्थामा पाँच मिनेट जति सभामुखले बस्न आग्रह गरेका थिए।

यसैबीचमा सभामुखले बैठकको कारबाही सुरु भएको भन्दै कार्यसूचीमा प्रवेश गरेका थिए। सभामुखले बैठकको कारबाही सुरु भएको बताएपछि कांग्रेस र राजपाका सांसद् बेल घेराउ गर्दै नारावाजी गरेका थिए। बेलमा मर्यादापालकले घेराबन्दी गरी अगाडि बढ्न रोकेका थिए।

उनीहरूले संसदीय मर्यादा कायम राख, मानवअधिकार हनन गर्न पाइदैन, संसदीय समिति गठन गर भन्ने नारा लगाएका थिए। नारावाजीकै क्रममा सभामुखले राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको बजेटसम्बन्धी विधेयकको सन्देश प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई पढ्न लगाएका थिए।

‘विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक २०७६ राष्ट्रियसभाबाट पारित भएको सन्देश योगीले पढेर सुनाएका थिए। प्रतिनिधिसभा सचिव योगीबाट सन्देश सुनाइसकेपछि सभामुखले बैठक स्थगित गरी असार ३० गते अर्को बैठक बस्ने बताएका थिए। सन्देश सुनाएपछि यी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइने छ। आश्रित विधेयक प्रमाणीकरण भएपछि बजेट साउन १ बाट पूर्णरूपमा लागू गर्न योग्य हुनेछ।

कार्य व्यवस्था परामर्शमा सर्लाही घटनामा मारिएका विप्लव समूहका कुमार पौडेल, स्थानीय प्रहरीबीच झडपमा मारिएका सरोजनारायण यादव र कुवामा डुबेर मृत्यु भएका ११ वर्षीय बालक अमित रायको विषयमा छानबिन गर्न संसदीय समिति गठन भएपछि मात्रै सदन सञ्चालन हुने प्रतिपक्षीले अडान लिएका थिए। तर सत्तारुढ दलका सांसदले प्रतिनिधिसभामा छानबिन समिति गठन गर्नेकाम नगरी कानुन न्याय तथा मानवअधिकार समितिबाट उपसमिति गठन गरेर जानुपर्ने अडान लिएका थिए। सदनमा प्रवेश गरेको विषय समितिमा लगेर उपसमिति गठन गर्ने कार्य विधिसम्मवत नभएको भन्दै कांग्रेस र राजपाले अस्वीकार गरेपछि बैठक अनिर्णित बनेको थियो। दुवै पक्षको अडान कायम नै रहेका बेला सभामुखले भने सहमति नभएसम्म समिति गठन नगर्ने बताएका थिए।

नारावाजीबीच बैठक चलाएको विषयमा नेकपाका वण्रिष्ठ नेता झलनाथ खनालले भने, ‘संसद् भनेकै यस्तै हो, यसरी नै चल्छ’ भन्ने प्रतिक्रिया दिएका थिए। उनले भने, ‘हरेक कुरामा संसदीय समिति बन्दैन, केही विषयमा समिति बनाउनुपर्ने हुन्छ, समिति बन्न निश्चित आधार हुन्छ, तर यस्ता विषयमा अध्ययन गर्न संसद्मा धेरै समिति छन् त्यहाँ छलफल गरे हुँदैन?’

बैठकपछि बोल्दै कांग्रेसका सांसद् गगन थापाले सभामुखबाट संसदीय समिति गठन गर्ने विश्वास रहेको भए पनि सत्तापक्षका सांसद्को कुरा सुनेर सभामुखले समिति गठन गर्न नसकेको बताए। ‘यो संसद् सभामुखले चलाउनुभएको छ कि सरकारले ?,’ उनले भने। बुधबारको संसद् बैठकमा आफूले माग गरे पनि सभामुखले बोल्नसमेत नदिएको बताए। ‘सत्तापक्षका नेताले बोल्न नदिने भनेपछि सभामुखले बोल्न नदिने काम गर्नुभएको छ,’ उनले भने।

यता बुधबार बिहान साढे आठ बजे प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा तीनैओटा हत्याबारे उपसमिति गठन गर्ने विषयमा अनौपचारिक छलफलमा भएको थियो। समिति सभापति कृष्णभक्त पोखरेलले समितिको कार्यक्षेलाई देखाउँदै उपसमिति गठन गर्ने प्रस्ताव गरेका थिए। समिति सभापति कृष्णभक्त पोखरेलले ‘सर्लाहीमा भएको भनिएको दोहोरो भिडन्तमा विप्लव समूहका नेता कुमार पौडेलको मृत्यु तथा प्रहरीसँग भएको झडपमा सरोजनारायण यादवको मृत्युका सन्दर्भमा उपसमिति गठन गर्ने प्रस्ताव गरेका थिए।

प्रतिनिधिसभाबाटै संसदीय समिति गठन गर्नुपर्ने भनेर वेलमा पुगेको अवस्थामा यो प्रस्ताव स्वीकार गर्न नसकिने कांग्रेस सांसदले बताएका थिए। समिति सदस्य अतहर कमाल मुसलमानले सदनमा प्रवेश गरिसकेको विषयमा संसदीय समितिले उपसमिति गठन गरेर जान्छु भन्न मिल्दैन भन्दै विरोध जनाएका थिए।

प्रकाशित: २६ असार २०७६ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App