coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छुई छोड्दै जुम्लाका महिला

जुम्ला - हिमा गाउँपालिका–४ की सिद्धा शाही छुई (महिनावारी) भएको समयमा घरभित्रै बस्छिन्। अहिले छुई भएको समयमा गोठमा बस्दा हुुनसक्ने खतराबारे गाउँका महिलालाई सुझाउँछिन्। उनले भनिन्, ‘१३ वर्षको उमेरदेखि छुई भएको अहिले २७ वर्ष बित्यो, अधिकांश समय गोठमा बसें तर अहिले घरमै सुरक्षित रूपमा बस्न थालेकी छु।’

उनी एक वर्षअघिसम्म छुई हुँदा पाँच दिनसम्म गोठमा बस्ने गरेको अनुभव सुनाउँछिन्। उनी अहिले गाउँमा छुई प्रथा हटाउने अभियानमा जुटेकी छिन्। ‘छुई भएको समयमा गोठमा बस्दा निकै जोखिम मोल्नुपर्ने अवस्था आयो,’ उनले भनिन्, ‘छुई भएको समयमा घरमा बस्न थालेपछि सबै समस्या चट।’

गाउँमा हरेक महिना आमा समूहमा हुने औपचारिक छलफल र मेलापातमा छुईबारे छलफल हुन्छ। जसकारण छुई मान्ने संख्या कम हुँदै गएको छ। तापनि गाउँमा छुई हुँदा घरभित्र बसे देवीदेवताले सराप्ने, बोटबिरुवा छोए पाप लाग्ने वा सुक्ने तथा गाईभैंसीको दूधदही खान नहुने परम्परा कायमै रहेको छ। ‘अन्धविश्वासले महिलाको स्वास्थ्य धरापमा छ,’ शाहीले भनिन्, ‘छुई हुुँदा घरमा बस्न थालेपछि स्वास्थ्य अवस्थामा सुधार आएको छ।’

उनी अहिले छोरीचेलीलाई छुई हुँदा गोठमा नबस्न सुझाउँछिन्। ‘बरु सरसफाइ राम्रोसित गर। बस्न त घरमै बस भन्छौं,’ हिमा–३ की सेतु योगीले भनिन्, ‘छुईविरुद्धको अभियानलाई गाउँमा घनीभूत बनाउँदै लगेका छौं।’

छुई हुँदा हरेक महिलाले सफा प्याडको प्रयोग गर्छन्। जसले महिलाको जीवनशैलीमा सुधार आइसकेको छ। महिलाले छुई भएको बेला सुक्खा खानेकुरा खाने, प्याड प्रयोग गर्ने, पातलो ओछ्यानमा सुत्न नहुनेलगायत व्यवस्थापन गर्न सिकिसकेका छन्। परम्परागत रुढिवादी छुई संस्कार हटाउन स्वयं महिला लाग्नुपर्ने हिमा गाउँपालिकाका स्वास्थ्य संयोजक क्षेत्रबहादुर महत बताउँछन्।

हिमा गाँउपालिकाकी उपप्रमुख हिमाली रोकाया गाउँपालिकामा छाउपडी गोठमुक्त अभियान थालेको बताउँछिन्। गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा अनिवार्य १० प्रतिशत बजेट विनियोजन गर्ने भएको छ। जुन स्वास्थ्य, सरसफाइ सुधारसँगै छुई गोठमुक्त अभियान चलाउन खर्च गरिनेछ। महिलाहरू विस्तारै परिवर्तन हँुदै गएको बताउँदै रोकाया कुरीति अन्त्य गर्न अब धेरै समय पर्खिन नपर्ने बताउँछिन्। वाटर/एड नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको आयोजनामा यहाँका महिलाले पटकपटक महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी तालिम पाएपछि घरमै प्याड बनाउन पनि सिकेका छन्।

प्रकाशित: २६ असार २०७६ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App