coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेरि थुनियो महानगरको ढल, दुर्गन्धले महामारी फैलिने त्रास

माटोले पुरिएपछि थुनिएको ढल निकास । तस्बिर : श्याम राई

काठमाडौं -काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ। ढल थुनिँदा फेरि महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ।

महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुईकोठे भवन भत्काएका थिए। भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो। तर खनेको ठाउँमा ह्युमपाइप नहालेका कारण मंगलबारदेखि फेरि ढल थुनिएको हो। सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो।

ढलको पानीले निकास नपाउँदा कारागारको क्यान्टिन भवनसमेत धरापमा परेको छ। ढलको पानी थुनिएर दर्जनौं कार्यालय र पसल रहेका भवनका भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ। दुर्गन्धका कारण विभिन्न कार्यालयका कर्मचारी र व्यापारी नाकमुख थुनेर काम गर्न बाध्य छन। दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ। ढलको पानीले निकास नपाउँदा कारागारको क्यान्टिन भवनसमेत धरापमा परेको छ।

निकासका लागि खनेको माटो वर्षाको पानीसँगै त्यही खसेर फेरि ढल प्रवाह अवरुद्ध भएको स्थानीयले बताए। जेटमेसिन लगाएर बुधबार जमेको पानीलाई निकास दिने प्रयत्न गरिए पनि सफलता मिलेन। सोमबार डोजरले केन्द्रीय कारागारको भवन भत्काएर खनेपछि ढल खुलेको थियो। स्थानीयका अनुसा खनेको स्थानमा तत्काल नयाँ पाइप राखेर पुरिएको भए समस्या दोहोरिने थिएन। कामदारलाई पैसा नदिएपछि ढलको काम पूरा हुन नसकेको एक स्थानीयले बताए। ‘ढल निकासमा खटिएका कामदारले पैसा नपाएको भन्ने सुनिएको छ,’ ती स्थानीयले भने, ‘त्यसैले कामदारले फटाफट काम गर्न नमानेको हुन सक्छ। बुधबार साँझसम्म ढल निकासका लागि पाइप हालिएको छैन। काम गर्न लगाएपछि पैसा दिनु नि ? भवन भत्काएपछि त ढल निकास हुन्छ भनेर सोचेका थियौं तर समस्या सुल्झिएन।’

खनेर छेउमा थुपारिएको माटोे मंगलबार दिउँसो झरेर ढल निकास हुने प्वाल थुनिएपछि समस्यमा दोहोरिएको ती स्थानीयले बताए। ‘ढलको काम भएको दुई महिना पुगिसक्यो। अहिलेसम्म वडा र महानगरपालिकाले पाइप राखेको अवस्था छैन,’ उनले भने, ‘वर्षा भइरहेकाले निकासका लागि खनेको खाल्टोमा माटो खसेर ढल थुनिएको छ।’ तत्काल नयाँ पाइप हालेर ढलको समस्या समाधान गर्नुपर्ने स्थानीयको माग छ।

कारागारका प्रहरी बस्दै आएको दुईकोठे पुरानो भवन भत्काइए पनि नयाँ बनाइएको महिला व्यारेक भवनमुनिबाट ढल राम्रोसगँ निकास हुन सकेको छैन। ढल प्रभावित क्षेत्र ११ नम्बर वडाअन्तर्गत पर्छ। ११ वडाका अध्यक्ष हिरालाल तन्डुकारले बिहीबार ढलको पाइप हालेर समस्या समाधान गर्ने बताए। ‘मंगलबार ढलको पाइप राख्ने योजना भए पनि पाउन सकेनौं,’ उनले भने, ‘पाइप ल्याइसकेका छौं। लगातार पानी परेकाले माटो झर्ने समस्या भएपछि कामदारले त्यहाँ जान मानेनन्। बिहीबार जसरी भए पनि पाइप हाल्न भनेका छौं।’ वडाले ढलको काम गरेबापतको सबै पारिश्रमिक कामदारलाई दिइसकेकोे उनले बताए। उनका अनुसार कारागार प्रशासनले महानगरपालिका र वडा कार्यलयसगँ स्वीकृति नलिई अनधिकृत ढंगले संरचना बनाएपछि ढलको समस्या आएको हो।

प्रकाशित: २६ असार २०७६ ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App