coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदूषणले खोला रातो

भक्तपुर सूर्यविनायक नगरपालिकाको चुपिंघाटस्थित काँल्हाचा खोला। यो खोलामा नुहाएपछि बालबालिकामा आएका खटिरा निको हुने विश्वास भक्तपुरवासीमा छ।

भक्तपुर– सामान्यतया खोलामा बग्ने पानी रंगविहीन हुन्छ । तर भक्तपुरमा बग्ने एउटा खोलाको पानी रगतजस्तै रातो छ । खोलाको पानी नै रातो भएपछि स्थानीयले खोलालाई रातो खोला नाम दिएका छन् । खोलाको पानी प्रदूषणले रगतजस्तो रातो भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिकामा बग्ने काँल्हाचा खोला चुपिंघाटमा राताम्मे पानी बग्छ । यसैले स्थानीयले काँल्हाचा खोलाको साटो रातो खोला भन्न थालेका छन् । खोलामाथि रहेको रंगाउने डाइङ कारखानाले रसायनयुक्त फोहर खोलामा मिसाउँदा खोलाको पानी रगतजस्तै रातो भएको हो । कारखानाले रसायनिक फोहर मिसाएका बेलामात्र खोलाको पानी रातो बग्छ ।

‘पहिला हामी बालबालिकाको जीउमा खटिरा निस्क्यो कि उनीहरूलाई काँल्हाचामा नुहाउन ल्याउँंथ्यौं,’ स्थानीय रामकेशरी घेमोसूले स्मरण गरिन्, ‘यो खोलामा नुहाइदिएपछि खटिराजन्य रोगव्याधीबाट मुक्त हुने जनविश्वास भक्तपुरवासीमा छ ।’
खोलामा रसायनयुक्त प्रदूषित पानी मिसाइन थालेपछि भने स्थानीयले अहिले खोलामा नुहाउन छाडेका छन् । सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले खोलामा सिधै रसायनयुक्त फोहर मिसाउन नपाइने बताए । तर यो नगरपालिकाले नभइ घरेलु तथा साना उद्योग कार्यालयको कार्यक्षेत्रमा पर्ने उनले स्पष्ट पारे ।

भक्तपुर सूर्यविनायकस्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सीताराम खड्काले खोलाभन्दा माथि कुनै उद्योग दर्ता नभएको जनाए । ‘बिनादर्ता उद्योग चलाएका होलान्,’ कार्यालय प्रमुख खड्काले अनभिज्ञता प्रकट गर्दै भने, ‘त्यस्तो छ भने अब हामी त्यसको खोजी गर्छाैं ।’

वातावरणविद् भूषण तुलाधर ढलको पानी खोलामा मिसाउँदा काठमाडौं ढलमय भइसकेको र अब कारखानाले रसायनयुक्त प्रदूषित पानी खोलामा मिसाउँदा भक्तपुरका खोलासमेत प्रदूषित हुन थालेको बताए । ढललगायत रसायनयुक्त प्रदूषित पानी खोलामा मिसाउन नपाइने कानुनी व्यवस्था छ ।

भक्तपुर पर्यटन विकास समितिका उपाध्यक्ष रामसुन्दर भेलेले भक्तपुरका खोलानाला प्रदूषित भएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘खोलामा फोहर फाल्ने, रसायनयुक्त प्रदूषित पानी मिसाउनेमाथि कारबाही गर्नुप¥यो भनेर स्थानीय निकायको ध्यानाकर्षण पनि गरायौं, तर कसैले केही गरेन ।’

 

 

 

प्रकाशित: १८ कार्तिक २०७३ ०४:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App