coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चालक निदाएका कारण दुर्घटना

दुर्घटनाग्रस्त बस । तस्बिरः नागरिक

ओखलढुंगा – ओखलढुंगामा काँकडभिट्टाबाट सोलुखुम्बु आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको छ। मानेभन्ज्याङ गाउँपालिका–६ स्थित हिलेपानी नजिक डडुवाडाँडामा मे १ ख १८९१ नम्बरको बस दुर्घटनामा परेको हो।

चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। बिहान साढे ३ बजे बस दुर्घटना हुँदा सबै यात्रुहरू निदाएका रहेछन् र चालक पनि निदाएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए। ‘दुर्घटनामा सामान्य घाइते भएका यात्रुहरूसँग बुझ्दा उनीहरू सबै निदाएको र बस दुर्घटनामा परेपछि मात्र थाहा भएको बताए,’ प्रहरी निरीक्षक श्रेष्ठले भने।

दुर्घटनामा चालकसहित तीनजनाको ज्यान गएको छ। बसका चालक झापा पथरीका–८ का ५१ वर्षीय कृष्णबहादुर बस्नेत, यात्रु सोलुदूधकुण्ड नगरपालिका–५, सोलुखुम्बुकी करिब ५१ वर्षीया माया थापा र कमलामाई नगरपालिका–१४, सिन्धुलीका करिब २८ वर्षीय लालबहादुर धामीको ज्यान गएको हो।

दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए। कोहलपुर–१, बाँकेका ४० वर्षीय कृष्ण गौतम, असाम गुहाटी भारतका ३२ वर्षीय माहात्मा राय, नेचा सल्यान सोलुखुम्बुका २३ वर्षीय मदन कट्टेल, सोलुदूधकुण्ड नगरपालिका–५ का ५० वर्षीय मित्रबहादुर थापा र इलामकी १९ वर्षीया अनिसा लिम्बु गम्भीर घाइते भएका छन्। अनिसा सात महिनाकी गर्भवतीसमेत रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। गम्भीर घाइते भएका पाँचजनासँगै भद्रपुर झापाका २१ वर्षीय प्रकाश शाह, असाम गुहाटी भारतका शिवा सार्की, इलामका २१ वर्षीय बविन योङ्हाङ, सबेला नगरपालिका–३, धनुषाका २३ वर्षीया राकेश दास, अर्ना गाउँपालिका–३, सिरहाका ३९ वर्षीय सत्यनारायण महतो र गढी गाउँपालिका–८, उदयपुरका २४ वर्षीय धनबहादुर राईलाई समेत थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो २ बजे काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस बुधबार बिहान साढे ३ बजे मानेभन्ज्याङ्ग गाउँपालिका–६ स्थित डडुवा डाँडामा उकालो आउँदै गर्दा सडकबाट करिब २० मिटर तल खसेको थियो।

सजिलो फराकिलो सडकबाटै बस झरेकाले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

 

प्रकाशित: २५ असार २०७६ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App