८ वैशाख २०८१ शनिबार
समाज

धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना

काठमाडौं – पर्यटकीय नगरी धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापना गरिएको छ। ‘हेल्दी सिटी’को अवधारणालाई अघि बढाउन तथा नगरको समग्र स्वास्थ्य क्षेत्रको एकीकृत सूचना प्रणाली व्यवस्थापन गर्ने उद्देश्यका साथ उक्त केन्द्र स्थापना गरिएको हो।

केन्द्रबाट धुलिखेल नगरपालिकाभित्रको समग्र स्वास्थ्य अवस्थाको जानकारी लिन सकिने नपा स्वास्थ्य संयोजक सन्दीप केसीले बताए। उनका अनुसार पालिकाले नगरको समग्र स्वास्थ्य अवस्था केन्द्रबाट जानकारी लिनेछ भने स्वास्थ्य विधाका विद्यार्थी, अनुसन्धानकर्ता तथा पर्यटकसमेतले धुलिखेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सक्नेछन्।

नपाले उक्त केन्द्र धुलिखेल अस्पतालको साझेदारीमा धुलिखेलस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना गरेको हो। नेपालका स्थानीय तहमध्ये धुलिखेल नपामा स्थापित स्वास्थ्य सूचना केन्द्र सम्भवतः पहिलो मानिएको छ। ‘धुलिखेललाई बालमैत्री र वातावरणमैत्री नगरसँगै स्वस्थ सहर बनाउने नीतिअनुसार स्वास्थ्य सूचना केन्द्र स्थापना गरेका हौं,’ नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भने।

ब्याञ्जूका अनुसार नगरभित्रका निजी, सरकारी तथा गैरसरकारी विभिन्न स्वास्थ्य संस्थाको पनि स्वास्थ्यसँग सम्बन्धित सूचना उपलब्ध गराइनेछ। केन्द्रका लागि आवश्यक सामग्री नपा कार्यालयले उपलब्ध गराएको हो। केन्द्रबाट नगरको अद्यावधिक जनसङ्ख्या, नगरभित्रका विभिन्न प्रकारका रोगीको सङ्ख्या तथा अवस्था जानकारी लिन सकिनेछ।

स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख नन्दराज अवस्थीले धुलिखेलमा स्वास्थ्य सूचना केन्द्र स्थापनाले स्थानीयवासी र पर्यटकका लागि सुविधा पुग्ने बताए। धुलिखेलमा एक प्राथमिक स्वास्थ्य केन्द्र, दुई प्रजनन केन्द्रसहित चार स्वास्थ्यचौकी, तीन नगर स्वास्थ्य केन्द्र र एक आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन्। रासस

प्रकाशित: २५ असार २०७६ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App