७ वैशाख २०८१ शुक्रबार
समाज

स्वास्थ्य संस्थामाथिको आक्रमण रोक्नुपर्नेमा जोड

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्य संस्थाको सुरक्षाको विषयलाई लिएर सरोकारवालाबीच अन्तरिक्रया बैठक सम्पन्न भएको छ। मंगलबार मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, मन्त्रालयका अधिकारी तथा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी उपस्थित अन्तरक्रियात्मक बैठक सम्पन्न भएको हो।

पछिल्लो समय स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि भइरहेका आक्रमणमाथि बैठकमा चर्चा भएको थियो। स्वास्थ्य संस्थामा पुगेको बिरामीको प्रक्रियागत मृत्यु भए पनि दोष चिकित्सक तथा अस्पतालमाथि आउने गरेको सहभागीहरुले बताए। बैठकको क्रममा गृहमन्त्री रामबहादुर बादलले स्वास्थ्यकर्मी बिरामीप्रति उत्तरदायी भएर प्रभावकारी सेवा दिइएमा आक्रमण कम हुने बताए। उनले स्वास्थ्यकर्मीलाई निष्ठापूर्वक काम गर्न पनि आग्रह गरे।

गृहमन्त्री थापाले भने, ‘आफ्नो पेशाप्रति गम्र्भीयता र जिम्मेवारी पक्ष फितालो हुनाले स्वास्थ्य संस्थामा समस्या आउने गरेको देखिन्छ।’ यदि स्वास्थ्यसंस्थाले जिम्मेवारपूर्वक काम गर्दागर्दै पनि आक्रमण भए स्वास्थ्य मन्त्रालय र सुरक्षा निकायबीच समन्वय गरेर सुरक्षा दिइने उनले बताए। पछिल्लो समय देशका सबै क्षेत्रमा फस्टाएको दलाली, बिचौलिया, चुल्ठेमुन्द्रे संस्कृतिजस्ता अपराधीकरणको समाप्तीका लागि स्वास्थ्य संस्थामा सुरक्षाको प्रत्याभूति हुनुपर्ने पनि उनले बताए।

अन्तरक्रियामा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्यसंस्थाहरु आफ्नो पेशाप्रति जिम्मेवार हुनुपर्ने बताए। ‘स्वास्थ्यकर्मीले बिरामीको सुरक्षामा ध्यान दिनुपर्छ। स्वास्थ्यकर्मीको सुरक्षाको विषयमै मन्त्रालयले बैठकको आयोजना गरेको हो,’ उनले भने। स्वास्थ्य संस्थामाथि हुनसक्ने घटनाबाट बच्नको लागि सम्बन्धित संस्थाले स्थानीय प्रशासनलाई समयमै सूचना दिन पनि उनले आग्रह गरे।

सो अवसरमा गृहसचिव प्रेमकुमार राईले गुणस्तरीय सेवा र उचित व्यवस्थापनको कमीले स्वास्थ्य क्षेत्रमाथिको आक्रमण हुने गरेको बताए। ‘सबैदे आआफ्नो कमजोरीलाई सुधार गर्दै जानुपर्ने तथा मन्त्रालयले स्वास्थ्य संस्थाको अनुगमन बढाउनु पर्ने देखिन्छ,’ उनले भने। छलफलको सहजीकरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राम थपलियाले यस्तो बैठकबाट स्वास्थ्यकर्मीको मनोवल उच्च राख्न सहयोग पुग्ने बताए। ‘भोलिका दिनमा यस्ता समस्यालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुराको मार्गनिर्देशन बैठकले गरेको छ,’ उनले भने।

प्रकाशित: २५ असार २०७६ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App