coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

घट्यो नेपाली लाेकबाजाको बजार

काठमाड - राजधानीको क्षेत्रपाटी आसपासको व्यस्त क्षेत्रमा रहेका सटरहरूमा धमाधम विभिन्न नेपाली वाद्यवादनहरू उत्पादन भइरहेको छ। नेपाली परम्परागत वाद्यवादनहरु उत्पादनलाई निरन्तरता दिइरहेका वाद्यवादन व्यवसायीहरू यसको व्यापार बढ्न नसकेको प्रतिक्रिया दिन्छन्।

क्षेत्रपाटीमा लामो समयदेखि वाद्यवादन उत्पादन गरिरहेका विकास लामा, काठ सफा गरेर मादल तयार गर्न व्यस्त छन्। हेटौंडाका उनी आफैं मादल, सारङ्गी, गितार र मुरली उत्पादन गर्छन्। उनको पसलमा दुई सय हाराहारीका मादलहरू बिक्रीका लागि राखिएका छन्। नेपालको परम्परागत लोकबाजाहरू बिक्री गरेर गुजारा गर्ने उनी भन्छन्, ‘नेपाली सांस्कृतिकको महत्व बोकेका लोकबाजाहरूको संरक्षण र प्रवद्धन गर्नमा जोड दिनुपर्छ। पछिल्लो ५ वर्षमा नेपाली वाद्यवादनहरूको बिक्री ह्वात्तै घटेको छ। यसले गर्दा व्यवसायनै संकटमा पर्न थालेको छ,’ उनले भने।

नेपालको परम्परागत लोकबाजा बजाउने संस्कृति हराउँदै गएको छ। यसले गर्दा लोकबाजाहरूको बिक्री घट्दो छ।

असोजदेखि पुस महिनालाई नेपाली लोकबाजाहरू बिक्री हुने सिजनको रूपमा लिइन्छ। नेपाली बजारमा पाइने मादलको एक हजार र सारङ्गीको तीन हजार मूल्यबाट सुरू हुने गरेको छ। विगत ६ वर्षदेखि यो पेशामा आवद्ध उनले परम्परागत लोकबाजाहरू बजाउने परम्परा हराउँदै गएकाले बिक्री घटेको बताउँछन्। ‘नेपालको परम्परागत लोकबाजा बजाउने संस्कृति हराउँदै गएको छ। यसले गर्दा लोकबाजाहरूको बिक्री घट्दो छ,’उनी भन्छन्।
रिङ, काँटी, गोरु र बाख्राको छाला र पोलेको परालबाट बनाइने मादल बनाउँदा प्रयोग हुन्छन्। आधुनिकतासँगै नेपाली वाद्यवादन उत्पादन गर्ने संस्कृति लोप हुँदै गएको त्यस क्षेत्रमा आवद्धहरू बताउँछन्।

विगत २५ वर्षदेखि मादन र सारङ्गी उत्पादन गरेर बिक्री गर्दै आएका गायक बुकुन गन्धर्व पछिल्लो केही वर्षमा नेपाली लोकबाजाहरू बिक्री हुन छाडेको बताउँछन्। ‘नेपालका विभिन्न क्षेत्रमा उत्पादन हुने लोकबाजाहरूको बिक्री घट्दै गएको छ। नेपालीहरूको मुख्य चाडको बेला केही लोकबाजा बिक्री भएपनि त्यो एकदम कम हो,’ उनी भन्छन्,‘ आधुनिक संगीतको प्रभाव बढ्दै गएकाले यसप्रति रूचि घटेको महसुस गरेको छु।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीका अनुसार परम्परगत गीतहरूमा लोकबाजाहरू प्राथमिकता पाएपनि अन्य विधामा यसको प्रभाव न्यून हुँदै गएको बताए। ‘लोकबाजाहरूको प्रयोग नेपाली संगीतहरूमा सोचअनुसार हुन नसक्दा यसको बजारलाई प्रभाव परेको हो। लोकबाजा भन्नासाथ परम्परागत संगीतमा मात्र प्रयोग गनुपर्छ भन्ने मान्यताले समस्या बढेको हो। यसले गर्दा लोकबाजाहरूको बजार ह्वात्तै घटेको हुनसक्छ,’ उनी भन्छन्, ‘यस्ता वाद्यवादनलाई प्राथमिकतामा राखेर संगीत तयार गर्न सके राम्रो हुन्थ्यो।’

स्थानीय सामग्रीहरूको प्रयोग गरेर बनाइने खैजडी, ढ्याङ्ग्रो, झ्याली र मुरली जस्ता वाद्यवादनहरूले प्राथमिकता नपाउँदा बिक्री घटेको अनुमान उनले गरेका छन्। सिजनल व्यापारको रूपमा लिइएको नेपाली लोकबाजाको बजार साँघुरो हुँदै गर्दा यसमा लागि परेका व्यवसायीहरूले नयाँ बजार खोज्न एकजुट भएर लाग्नुपर्ने देखिएको छ।

 

 

प्रकाशित: २५ असार २०७६ ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App