coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बंगलादेशी प्रशिक्षक बर्खास्त

ढाका – इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले खराब प्रदर्शन गरेपछि सोमबार बंगलादेशी क्रिकेट बोर्ड (बिसिबी) ले प्रमुख प्रशिक्षक स्टिभ रोड्सलाई जिम्मेवारीबाट हटाएको छ। बंगलादेशले तालिकाको आठौं स्थानमा रहँदै विश्वकप टुङ्ग्याएको थियो।

‘प्रमुख प्रशिक्षक स्टिभ रोड्सलाई बिदाइ गर्ने निर्णय गरेका छौं। निर्णय तत्कालै लागू हुन्छ,’ बिसिबीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निजामुद्दिन चौधरीले भने।
प्रमुख प्रशिक्षको बिदाइको खबर टोली इङ्ल्यान्ड बसाइ सकेर फर्किएपछिको अर्को दिन आएको हो। बंगलादेशले इङ्ल्यान्ड संस्करणको प्रतियोगिताका ९ मध्ये  ३ खेलमा नतिजा निकाल्दा ५ खेलमा नतिजा सुम्पिएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो। बंगलादेशले दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अफगानिस्तामाथि जित निकालेको थियो भने भारत, अस्ट्रेलिया र न्युजिल्यान्डजस्ता कठिन प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरेको थियो।

प्रमुख प्रशिक्षक रोड्सले अघिल्लो जुनमा बंगलादेशको टोली सम्हालेका थिए। विश्वकपअघि आयरल्यान्डमा भएको मल्टी टिम टुर्नामेन्टमा टोलीलाई पहिलो उपाधि दिलाउन सफल भएका थिए। बंगलादेशले रोड्सलाई अर्को वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपसम्मका लागि सम्झौता गरेको थियो। तर एकदिवसीय विश्वकप टोलीलाई राम्रो नतिजा दिलाउन नसकेको भन्दै बंगलादेश क्रिकेट बोर्डले सोमबार उनलाई बिदाइ गर्ने निर्णय गरेको हो।  

सोमबार गरेको निर्णयमा बंगलादेश क्रिकेट बोर्डले प्रशिक्षक रोड्स यही जुलाइको अन्तिममा श्रीलंकासँग हुने तीन एकदिवसीय भ्रमणमा नहुने जनाएको हो। साथै बोर्डले यही जुलाई २६, २८ र ३१ मा श्रीलंकाको घरेलु मैदानमा तीन एकदिवसीय खेल हुने जनाएको छ।

‘श्रीलंका भ्रमणका लागि छिट्टै अन्तरिम प्रशिक्ष नियुक्त गर्नेछौं,’ बिसिबी मिडिया कमिटीका अध्यक्ष जलाल युनुसले भने। यस्तै जलालले बोर्ड नयाँ प्रशिक्षकसँगै बलिङलाई ध्यान दिने विज्ञलाई पनि समावेश गर्ने तयारीमा रहेको बताए। तीब्र गतिका बलिङ प्रशिक्षक कर्टनी वाल्स र भारतीय स्पिन बलर प्रशिक्षक सुनील जोशीको करार अवधिक नविकरणका लागि कुनै पनि छलफल नभएको जलालले बताए। उनीहरूको सम्झौता विश्वकप अन्त्यसम्म यथावत् रहने उनले बताए।

वालेस जिम्बाबेका पूर्व फास्ट बलर हेथ स्ट्रिकको स्थानमा २०१६ को सेम्टेम्बरमा नियुक्त भएका थिए भने जोशी अघिल्लो वर्ष मात्र नियुक्त भएका थिए। बोर्डका कार्यकारी अधिकृत (सिइओ) चौधरीले जोशीको बारेमा अन्तिम निर्णय हुन बाँकी रहेको बताए। ‘जोशीको विषयमा यसै महिनाको अन्तिममा बस्ने बैठकले टुङ्गो लगाउनेछ,’ सिइओ चौधारीले भने।

प्रकाशित: २५ असार २०७६ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App