coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फराकिलो सडकमा साँघुरो ‘कल्भर्ट’

चरिकोट दोलखा सडक खण्डस्थित म¥याङ खोलाको साँघुरो कल्भर्ट। तस्बिर: रमेश/नागरिक

दोलखा - सदरमुकाम चरिकोटबाट भीमेश्वर मन्दिर रहेको दोलखा बजार जोड्ने सडक विस्तार गर्दै कालोपत्रेसहित फराकिलो पारिएको छ। काममा ढिलासुस्तीले वर्षामा हिलो र हिउँदमा धुलोको कष्ट बेहोरिरहेका यात्रु, सवारी चालकलगायत उपभोक्ताले विस्तार र गुणस्तरमा सुधार भएसँगै साढे पाँचदेखि ६ मिटरसम्म फराकिलो सडक पाएका छन्। तर सडकमा रहेका दुईवटा साना कल्भर्टका कारण सडक उपभोक्ताहरूको मन खिन्न हुने गरेको छ।

‘ढिलै भए पनि सडक फराकिलो र कालोपत्रे भयो,’ सडकखण्डको गौतमटोलस्थित उड्स रिसोर्टका सञ्चालक निराजन थापाले भने, ‘तर दुईवटा स–साना पुल (कल्भर्ट) लाई त्यसै छाडिएका कारण दुर्घटनाको जोखिम बढेको छ।’ उनका दोहोरो लेनको सडकमा तीव्र गतिमा गुडिरहेका सवारीसाधन दुईदेखि तीन मिटरका साँघुरा कल्भर्टबाट खस्नसक्ने जोखिम अत्यधिक छ। पहिल्यै बनेका साँघुरा कल्भर्टको दायाँ–बायाँको गाह्रो समेत भत्काएर खुला छाडिएको छ।

सडकखण्डको साङ खोला र म¥याङ खोलाका कल्भर्टबाट जुनसुकै बेला गाडी वा मोटरसाइकल खस्न सक्ने जोखिम रहेको स्थानीयले बताएका छन्। यस्तै तिखातल छाँगोभन्दा तल्लो ओरालो मोडमा समेत सडकको तलबाट ग्याबिन उठाएर संरचना नबनाइएका कारण केही दिनअघि मोटरसाइकल र साइकल खसेर दुर्घटना भएको थियो। स्थानीयका अनुसार भर्खरै कालोपत्रे भएको फराकिलो र चिल्लो सडक देखेर स्पिडमा आउने मोटरसाइकल र साना सवारीका चालक कल्भर्टनजिक आइपुगेपछि आत्तिएर ब्रेक लगाउँछन्, कति दुर्घटनामा पर्छन्, कति जसोतसोे जोगिन्छन्।

कालोपत्रेको काम सके पनि भुक्तानी हुन नसकेकामा कारण 'कल्भर्ट बनाऊ' भनेर सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई भन्न सकेको छैन।

चरिकोटदेखि दोलखा पाखलतीसम्मको चार किलोमिटर दूरीको यो सडक ठेकेदारको लापर्बाही र ढिलासुस्तीका कारण लामो समयसम्म अलपत्र परेको थियो। श्रेष्ठ र समानान्तर निर्माण सेवाले दुईवटा निर्माण फर्मको नामबाट करिब सात करोडमा तीन वर्षअघि यो सडक ठेक्का लिएका थिए। तर श्रेष्ठ निर्माण सेवाले सर्तअनुसार काम नगरी बीचैमा छाडेपछि सडक निर्माणको काम अलपत्र परेकाो थियो। पछि चरिकोट सडक डिभिजन कार्यालयमा सरुवा भएर आएका डिभिजन प्रमुख धर्मेन्द्रकुमार झाले संयुक्त उपक्रमका रहेका अर्का ठेकेदार समानान्तर निर्माण सेवालाई सम्पर्कमा ल्याए। काम छाडेर अलपत्र पारेका कारण उनलाई करिब ९० लाख रुपैयाँ हर्जानासमेत तिराए र काम अगाडि बढाउन बाध्य पारे। त्यति गरेपछि समानान्तर निर्माण सेवाले चार महिनामा कालोपत्रेको काम सक्यो।

तर कालोपत्रेको काम सके पनि भुक्तानी हुन नसकेका कारण ‘कल्भर्ट बनाऊ’ भनेर सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई भन्न सकेको छैन। एक त समानान्तरको ठेक्काभित्र कल्भर्ट बनाउने काम समेटिएको छैन। डिभिजन सडक कार्यालयले उसलाई दुवै कल्भर्टको काम कोटेसन वा अरू प्रक्रियामार्फत गराउन सक्ने भए पनि समानान्तरले गरेको कामको भुक्तानी दिन नसकिएका कारण कल्भर्ट बनाउन समस्या परेको डिभिजन प्रमुख झाले बताए। आगामी आर्थिक वर्ष लागेपछि बजेट व्यवस्था गरेर दुवै खोलामा कल्भर्ट बनाउने चरिकोट सडक डिभिजन कार्यालयको योजना छ। डिभिजन प्रमुख झाका अनुसार साङ र म-याङ खोलामा फराकिला स्ल्याब कल्भर्ट हाल्नुपर्ने भएको छ।

प्रकाशित: २५ असार २०७६ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App