८ वैशाख २०८१ शनिबार
खेल

नेपाली टोली मलेसिया प्रस्थान

काठमाडौं – आइसिसी ट्वान्टी–२० विश्वकप एसियाली छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेल्नका लागि नेपाली टोली मंगलबार मलेसिया प्रस्थान गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयमा नवनियुक्त राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाली राष्ट्रिय टोलीको बिदाइ गरे। बिदाइ कार्यक्रममा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले सिंगापुरमा हुने आइसिसी ट्वान्टी–२० विश्वकप एसियाली छनोट प्रतियोगितामा नेपालले राम्रो गर्ने प्रतिबद्धता जनाए। त्यसका लागि तयारी गर्न नेपाली टोली अभ्यास खेल खेल्न मलेसिया प्रस्थान गरेको हो।

‘सिंगापुर जानुअघि हामी मलेसियासँग अभ्यास खेल खेल्दै छौं,’ कप्तान पारसले भने, ‘मलेसिया राम्रो टोली हो। उनीहरूभन्दा हामी राम्रो भएकाले उनीहरू घरेलु मैदानमा दबाबमा खेल्नेछन्।’ ‘अहिले हामीसँग वैकल्पिक खेलाडी पनि निकै फर्ममा रहेको अवस्था छ। सिंगापुरमा हुने प्रतियोगिताका कुनै पनि टोलीलाई कमजोर मानेका छैनौं,’ कप्तान पारसले थपे, ‘सबै छनोटको आशा लिएर आएका हुन्छन्। उनीहरूले पनि तयारी राम्रो गरेका हुन्छन्। उनीहरुका अगाडि राम्रो खेल्नुको विकल्प हामीलाई छैन। विश्वकप यात्रा त्यति सहज छैन।’

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गर्ने क्रममा नेपाल क्रिकेट संघ (क्यान) को विवाद चाँडै सुल्झाउने बताए। ‘टोलीलाई शुभकामना ! अनुरोध के गर्न चाहन्छु भने अब समस्या लिएर मिडियामा जानु पर्दैन। राम्रो कुरा बाहिर लाने हो। समस्या भए मलाई भन्नुहोस्,’ सदस्यसचिव सिलवालले भने, ‘म समस्या समाधानका लागि तत्पर छु। क्रिकेटको विवाद मिलाउन मैले आइसिसीले बनाएको पाँच सदस्यीय समितिलाई छलफलका लागि बेलाएको छु। क्यानको समस्या अब चाँडै समाधान हुन्छ।’

नेपालले आयोजक मलेसियासँग असार २८ र २९ गते गरी दुई ट्वान्टी–२० क्रिकेट खेल्नेछ। त्यहींबाट नेपाल साउन ४ गते सिंगापुर प्रस्थान गर्नेछ। सिंगापुरमा हुने आइसिसी ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले साउन ७ गते कतारविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। साउन ८ गते दोस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने ११ गते कुवेतविरुद्ध र १२ गते अन्तिम खेल आयोजक सिंगापुरविरुद्ध खेल्नेछ।

विजेता टोलीले ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने मौका पाउनेछ। नयाँ प्रशिक्षक उमेश पटवाल आएपछि नेपालले पहिलो प्रतियोगिता खेल्न लागेको हो। एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा विजयी टोलीका कप्तान रोहितकुमार पौडेल र पवन सर्राफ मलेसियाबाटै टोलीमा सामेल हुने व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए।

नेपाली टोली
पारस खड्का(कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, प्रदीप ऐरी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, अविनाश बोहरा, रोहितकुमार पौडेल र पवन सर्राफ।

वैकल्पिक खेलाडी
कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, सुसन भारी, आरिफ शेख

‘मलेसिया राम्रो टोली हो। उनीहरूभन्दा हामी राम्रो भएकाले उनीहरू घरेलु मैदानमा दबाबमा खेल्नेछन्।’

प्रकाशित: २५ असार २०७६ ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App