coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विपक्षीसँगको वार्ताप्रति मदुरो आशावादी

निकोलस मादुरो।

कराकास – भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले बार्बेडोसमा सोमबारबाट सुरु भएको सरकार र प्रतिपक्षीबीचको वार्ताप्रति आफू ‘आशावादी’ रहेको बताएका छन्। यसै बर्षको जनवरी महिनामा भेनेजुएलाका राष्ट्रिय सभाका अध्यक्ष उवान गुआइडोले आफूले आफैंदलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि राष्ट्रपति मादुरोमाथि प्रत्यक्ष चुनौती खडा भएको थियो। प्रतिपक्षी दलका नेता गुआइडोको घोषणालाई संयुक्त राज्य अमेरिकाले तत्काल समर्थन गरेको थियो भने युरोपेली केही मुलुकसहित विभिन्न ५० राष्ट्रले पनि अमेरिकी निर्णयलाई पछ्याएका थिए।

भेनेजुएलाका राष्ट्रपति मादुरो निर्वाचनबाट जनमत प्राप्त व्यक्ति भएको भन्दै रुस, चीन, मेक्सिको र क्युबालगायतका राष्ट्रले भने उनलाई दह्रो साथ दिएका थिए। यी राष्ट्रबाहेक देशको शक्तिशाली सेनाले पनि मादुरोको साथ दिएका कारण मादुरो सरकारलाई आन्दोलनको बलमा सत्ताबाट हटाउने प्रतिपक्षीको चाहना विफल बनेको थियो।

यदि प्रतिपक्षीले सद्भावका साथ छलफलमा सहभागी हुने र अमेरिकी हस्तक्षेपवाद हावी नहुने हो भने म ढुक्क छु हामी सहमतिमा पुग्नेछौं।

सरकार र प्रतिपक्षी दलका प्रतिनिधिबीच वार्ताको वातावरण निर्माण गर्न नर्वेको ओस्लोमा भएका छलफलपछि दुवै पक्षका प्रतिनिधि औपचारिक वार्तामा सहभागी हुन बार्बेडोस पुगेका छन्। सोमबार भएको वार्तापछि राष्ट्रपति मादुरोले राज्य सञ्चालित टेलिभिजन भिटिभीमार्फत गरेको सम्बोधनमा भने, ‘प्रतिपक्षसँगको वार्तालाई लिएर म निकै नै आशावादी छु। सोमबार वार्ता टोलीले करिब पाँच घण्टा छलफल गरेको छ। मलाई लाग्छ, एकपछि अर्को गर्दै हुने छलफल र रणनीतिक धैर्यबाट हामीले शान्तिको बाटो खोज्न सक्छौं।’

‘वार्ता टोलीले मुलुकका सम्पूर्ण हितलाई ध्यानमा राख्दै विभिन्न छ बुँदामा केन्द्रित भएर छलफल गरिरहेको छ,’ राष्ट्रपति मादुरोले सम्बोधनका क्रममा बताए। तर छलफलका ती छ बुँदा के के रहेका छन् भन्नेबारे भने उनले केही नखुलाएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। राष्ट्रपति मादुरोले भेनेजुएलाको संकटमा अमेरिकाले प्रतिपक्षीलाई उत्तेजित पारेको आरोप लगाउँदै भने, ‘यदि प्रतिपक्षीले सद्भावका साथ छलफलमा सहभागी हुने र अमेरिकी हस्तक्षेपवाद हावी नहुने हो भने म ढुक्क छु हामी सहमतिमा पुग्नेछौं।’

बार्बेडोसमा भइरहेको वार्ता ओस्लोमा गत मेमा भएको छलफलपछिको तेस्रो चरणको वार्ता भएको बताइएको छ। प्रतिपक्षी नेता गुआइडोले गत मंगलबार मादुरोसँग पुनःवार्ता गर्ने योजना नरहेको दाबी गरेपनि सोमबार लामो समयसम्म दुबै पक्षका बुँदामा केन्द्रित बनेर छलफल भएको सञ्चारमाध्यमले जनाएका छन्। प्रतिपक्षी समूहको सहयोगी मानिएका नौसेनाका अवकास प्राप्त उच्च अधिकारी राफेल अकोस्टा अरेभालोको शंकास्पद मृत्युले प्रतिपक्षी तथा अमेरिका तथा युरोपेली मुलुक राष्ट्रपति मादुरोप्रति थप आक्रोशित बनिरहेकै बेला दुई पक्षबीच वार्ता भइरहेको छ।

प्रकाशित: २५ असार २०७६ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App