coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ताना शर्मालाई नियात्रा सम्मान

काठमाडौं– नियात्राकार तारानाथ शर्मालाई नियात्रा सम्मानद्वारा सम्मानित गरिएको छ । प्रथम नियात्राकृति प्रकाशित भएको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नियात्रा समाज, नेपालद्वारा राजधानीमा आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले शर्मालाई दोसल्ला र ताम्रपत्रले सम्मान गरे । सम्मान समर्पण गर्दै कुलपति उप्रेतीले ‘सिर्जनात्मक साहित्यका लागि नियात्राकार शर्माको नियात्रा उत्प्रेरक रहेको बताउँदै भने, ‘शर्माको भाषाशैली सुललित हुन्छ । जसले पाठकलाई सम्मोहित पार्ने क्षमता राख्छ ।’

सम्मानित व्यक्तित्व शर्माले नियात्रा सम्मान प्राप्त गर्नु आफ्ना लागि सौभाग्यको कुरा भएको बताउँदै भने, ‘लेखकले आफ्नो नियात्रामा पाठकलाई पनि सँगसँगै हिँडाउन सक्नु नै वास्तविक नियात्रा हो ।’ उनले नियात्रा शब्द बालसखा बालकृष्ण पोखरेलले सिर्जना गरेको सम्झँदै भने, ‘यो शब्द नितान्त मौलिक नेपाली शब्द हो । यो वेद, उपनिशद, शब्दकोश अथवा हिन्दी कहीँ पनि छैन ।’

प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव जीवेन्द्रदेव गिरीले नेपाली भाषा, साहित्य एवम् नियात्रा विधाका शिखर व्यक्तित्व शर्मालाई सम्मान गरेर संस्था स्वम् पनि सम्मानित भएको बताए । प्रज्ञा–प्रतिष्ठान समालोचना र निबन्ध विभागकी प्रमुख एवम् कार्यक्रम संयोजक ज्ञानू पाण्डेले आफ्नो विभाग नियात्रा विधाको उन्नयनका लागि प्रतिबद्ध भएर लागिपरेको उल्लेख गरिन् । 

कार्यक्रममा सम्मानित व्यक्तित्व डा. शर्माका बारेमा प्रकाश पार्दै श्रीओम श्रेष्ठ रोदनले शर्मा नियात्रा साहित्यका जन्मदाता भएको उल्लेख गर्दै भने, ‘उहाँ परिभाषाहरूमा परिभाषित गर्नै नसकिने विराट प्रतिभा हुनुहुन्छ ।’

सुवेदार मेजर शेरसिंह रानाद्वारा लिखित तथा प्रथम पटक प्रकाशित नियात्रा कृति ‘मेरो लन्दन राजतिलक यात्रा’को आवरण देखाई आरम्भ गरिएको कार्यक्रममा निर्मोही व्यासले ‘नेपाली साहित्यमा नियात्रा लेखनको ऐतिहासिक पृष्ठभूमि एवम् यसको विकासको गति’ र बलराम अधिकारीले ‘नियात्रा साहित्यको सैद्धान्तिक परिचय एवम् विश्व साहित्यमा यसको गति’ विषयमा प्रवचन दिएका थिए ।

समालोचकद्वयको प्रवचनमाथि प्राज्ञ विष्णुराज आत्रेय, प्राज्ञ विवश पोखरेल, नारायण तिवारी, शेखर ढुंगेल लगायतले टिप्पणी गरेका थिए । नियात्रा समाज, नेपालका अध्यक्ष चन्द्रप्रसाद भट्टराई, महासचिव दामोदर पुडासैनी किशोर, गीता रेग्मी लगायतले पनि नियात्रा लेखनका बारेमा बोलेका थिए ।      

 

प्रकाशित: १८ कार्तिक २०७३ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App