coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

तातोपानी नाकाबाट सामग्री आयात हुन थाल्यो

सिन्धुपाल्चोक– एक महिनाअघि पुनः सञ्चालनमा ल्याइएको चीन जाड्ने उत्तरको मुख्य तातोपानी नाकाबाट चिनियाँ सामग्री नेपाल भित्रन थालेका छन्। पछिल्लो एक साताबाट सुरु आयात कारोवार बिस्तारै बढ्दै गएको छ। 

२०७२ वैशाख १२ को बिनाशकारी भूकम्पपछि चार वर्ष बन्द भएको नाका गत जेठ १५ गतेबाट औपचारिक रुपमा पुनः सञ्चालनमा ल्याइएको थियो। नवनिर्मित अत्याधुनिक सुख्खा बन्दरगाह सरेको तातोपानी भन्सार पुनः सञ्चालनको झण्डै तीन साता प्रशासनिक व्यवस्थापन र आन्तरिक तयारीमा जुट्दा व्यापारिक कारोवार हुन सकेको थिएन। 

‘चीनबाट सामग्री भित्रन थालेका छन्’, भन्सार अधिकृत केशवराज ओलीले मंगलबार नागरिकसँग भने। भन्सारले कारोवार सुरु गरेयता बिस्तारै आयात बढ्दै गएको उनले बताए। ओलीका अनुसार यसबीचमा १० कन्टेर सामग्री भन्सार जाँचपास भई राजधानी भित्रिसकेका छन्। सुख्खा बन्दरगाह भन्सार यार्डमा अझै चार कन्टेर सामग्री जाँचपासको पर्खाइमा छन्। मंगलबार मात्र दुई कन्टेनर सामग्री चीनबाट तातोपानी भित्रिएका छन्। 

दैनिक औसत एक–दुई कन्टेनर चिनियाँ सामाग्री भित्रन थालेको भन्सार अधिकृत ओलीले बताए। ‘तातोपानी नाका व्यापारिक कारोवारसहित सञ्चालनमा आएको सन्देश गइरहेको छ’, उनले भने, ‘क्रमिक रुपमा व्यापार बढ्दै जाने विश्वास लिएका छौं।’ चालू अवस्थामा रहँदा पनि असार–साउन तातोपानी भन्सारको ‘अफसिजन’ मानिन्छ। साउन–भदौमा व्यापारीले दसैंँ, तिहार जस्ता चाडबाड लक्षित सागम्री अर्डर गर्छन्। त्यतिबेला नाकाको कारोवार झण्डै–झण्डै पूर्ववत् अवस्थामा फर्कँन सक्ने भन्सार अधिकारी र व्यापारी औँल्याउँछन्। 

तातोपानी भन्सारले लार्चामा बनेको अत्याधुनिक सुख्खा बन्दरगाहबाट कारोवार थालेको हो। चीन सरकारकै सहयोगमा गत वैशाखमा बन्दरगाह निर्माण सम्पन्न भएको थियो। दुई अधिकृतसहित १४ कर्मचारीले काम गरिरहेका छन्। प्रशासनिक, प्राविधिक र जनशक्तिबाट ठूलै परिमाणमा कारोवार गर्न अब कुनै रोकावट नरहेको भन्सार अधिकृत ओली बताउँछन्। 

भन्सारले कारोवार थालेयता चीनबाट नाका भएर ऊन, पावर ट्रेलर (जोत्ने हाते ट्याक्टर), स्पीकर, जुत्ता, चप्पल लगायत सामग्री भित्रिएका छन्। ऊन आयात बढी छ। सिजन नभएकाले तयारी पोशाक भने भित्रिएका छैनन्। तातोपानी नाका चिनियाँ तयारी पोशाकका लागि लोकप्रिय मानिन्छ। शिल्क ग्रुप नामक चिनियाँ ट्रान्सपोर्टेसन कम्पनीले नेपाली व्यापारिका सामग्री खासासम्म ल्याउने गरेको छ। 

भूकम्पअघिका पूराना ट्रान्सपोर्टेसन कम्पनी फर्किसकेका छैनन्। उनीहरुलाई फर्काउन नोपाली व्यापारीले पहल गरिरहेका छन्। नेपाली कन्टेर सामग्री लिन खासा पुग्ने गरेका छन्। भूकम्पपछि खासामा गोदामको व्यवस्था छैन। कन्टेर–कन्टेनर जोडेर सामग्री लोड हुने गरेको छ। भन्सार अधिकृत ओली बन्दरगाहको अवधारणा नै चिनियाँ कन्टेनर सामग्री लिएर तातोपानी भन्सार यार्डसम्मै आउने भन्ने हो। खासातर्फको सडकको केही घुम्ति साँघुरा रहेकाले चिनियाँ कन्टेनर बन्दरगाहसम्म आउन नसकेको उनी बताउँछन्।

बन्दरगाह भन्सारमा वेभवेस, आशिकुँडा लगायत प्रणाली जडान भइसकेको छ। राजस्व कारोवार गर्न बन्दरगाहमा बैंक तथा वित्तीय संस्था भने फर्कँन बाँकी छ। व्यापारीले हाल बाह्रविसेस्थित नेपाल बंगालादेश बैंकबाट राजस्व कारोवार गर्दै आएका छन्। भन्सारले यही बैंकमार्फत सुरुदेखि नै राजस्व कारोवार गर्दै आएको छ। प्रमुख भन्सार कृष्ण बस्नेत अधिकृत बैंकलाई फर्काउन प्रयास भइरहेको बताउँछन्। ‘भन्सार विभागबाट अर्थमन्त्रालयको सहमति लिने काम भइरहेको छ,’ उनले भने। 

नाका सञ्चालनमा आउनुपूर्व भूकम्पले क्षतिग्रस्त बनाएको मितेरी पुल, नेपाल तर्फको सडक मर्मत चीन आफैँले गरेको थियो। नेपालको लामो कुटनीतिक प्रयासपछि चीन गत वर्षको असोजमा बन्द तातोपानी नाका खुलाउन सैद्धान्तिक सहमतिमा पुगेको थियो। हाललाई मालबाहक सामग्री ओहोर–दोहोर गर्ने प्रयोजनका लागि नाका पुनः सञ्चालनमा ल्याउने सहमति नेपाल–चीनबीच भएको हो। मान्छे आउ–जाउ भने अझै बन्द नै छ। बन्द हुनु अघि नाकाबाट वार्षिक २० अर्व आयात/निर्यात कारोवार हुन्थ्यो हुँदा भन्सारले पाँच अर्ब रुपैयाँ राजस्व संकलन गर्थ्याे। 

प्रकाशित: २४ असार २०७६ १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App