८ वैशाख २०८१ शनिबार
राजनीति

‘विषादीयुक्त’ भारतीय तरकारी र फलफुल प्रधानमन्त्रीलाई उपहार

नेपालगन्ज– नेपाल बिद्यार्थी संघ बाँकेले सांकेतिक बिरोध स्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई तरकारी र फलफुल उपहार स्वरुप पठाएको छ। भारतबाट आउने तरकारी र फलफुलको विषादी परीक्षण नगरेर जनताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत काठमाडौं पठाएको हो। 

प्रधानमन्त्री ओलीलाई आलु, टमाटर, प्याज, गोवी, बोडी, काउली, आँप, स्याउ, केरा लगायत १५ किलो बराबरको तरकारी र फलफुल पठाइएको नेविसंघ बाँकेका अध्यक्ष पुर्णप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार भारतबाट खुलेआम भित्रिएको ‘विषादीयुक्त’ तरकारी र फलफुल किनेर प्रधानमन्त्री ओलीलाई उपहार स्वरुप पठाइएको हो। प्रशासनमै पुगेर बिद्यार्थीले सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्याललाई उक्त तरकारी र फलफुल हस्तान्तरण गरेका थिए। 

नेपाली जनतालाई बिष खान बाध्यपार्ने आफू भने जापानको पानी पिउने, युरोप तथा अमेरिकाको तरकारी तथा फलफुल खाने प्रधानमन्त्री ओलीलाई सांकेतिक बिरोध स्वरुप उपहार पठाइएको अध्यक्ष आचार्यले बताए। राष्ट्रवादको खोक्रो नारा लगाउने वर्तमान सरकारले जनतालाई भारतीय विष खुवाएर मार्न खोजेको उनको आरोप छ। 

सो क्रममा उपस्थित बिद्यार्थीले कम्युनिस्ट सरकारको राष्ट्रवाद मुसाको दुलोभित्र पसेको बताएका थिए। भारतीय तरकारी र फलफुलको विषादी परीक्षणको काम पुनः नथाल्दा सम्म दबाब मुलक कार्यक्रम गरिरहने नेविसंघले जनाएको छ।

प्रकाशित: २४ असार २०७६ १३:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App