coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साउनदेखि गाडी थन्काउने ट्रक व्यवसायीको चेतावनी

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश ५ काे बैठकपछि लिइएकाे सामूहिक तस्बिर । तस्बिरः नागरिक

बुटवल – ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा अनलाइनमार्फत् निगरानी गर्ने गरी सरकारले बजेटमार्फत् ल्याएको नीति अव्यवहारिक भएको भन्दै सच्याउन प्रदेश ५ का ट्रक व्यवसायीले माग गरेका छन। नीति तत्काल नसच्याए साउन १ गते देखि सवारीसाधन घर, ग्यारेजमा थन्काउन बाध्य हुने चेतावनी पनि व्यवसायीले दिएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश ५ को भैरहवामा बसेको बैठकले ढुवानीमा भ्याट र अनलाइन प्रणालीमार्फत्को निगरानी तुरुन्त सच्चाउन सरकारसँग मागसमेत गरेका छन्। सरकारले लागू गर्न खोजेको सो प्रणालीले यातायात तथा ढुवानी व्यवसायीनै चौपट हुने र व्यवसाय सञ्चालन गर्न नसकिने निष्कर्ष निकाल्दै यस विरुद्ध आन्दोलन गर्न पनि पछि नपर्ने निर्णय व्यवसायीले गरेका छन्।

महासंघ प्रदेश ५ संयोजक यमप्रसाद पाण्डेले सरकारले ढुवानी र ट्रक व्यवसाय क्षेत्रका समस्या नबुझेर एकपछि अर्को अव्यवहारिक नीति ल्याएको टिप्पणी गरे।

नेपाल ट्रक व्यवसायी महांसघ वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले सरकारले एकतर्फी रूपमा सो नीति लाद्न खोजे साउन १ गतेदेखि लोड बहिस्कार गर्नुपर्ने बाध्यात्मक अवस्था आउने चेतावनी दिए। अनलाइन प्रणालीमार्फत्को निगरानी सकारात्मक भए पनि नेपालको हालको संरचना, उपलब्ध सूचना प्रविधि, दक्ष जनशक्ति अभाव र भौगोलिक अवस्थाका कारण सम्भव नभएको उनले बताए।

लुम्बिनी ट्रक यातायात व्यवसायी संघ अध्यक्ष विष्णुप्रसाद खरेलले सरकारले यथाशीघ्र यातायात व्यवसायीका समस्या सम्बोधन गर्नुपर्ने बताउँदै व्यवसायलाई धराप पार्ने काममा राज्य नलाग्न आग्रह गरे।

यसैबीच प्रदेश बैठकले प्रदेश समितिलाई पूर्णता दिएको छ। संयोजक पाण्डेको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी ट्रक यातायात व्यवसायी संघ अध्यक्ष विष्णुप्रसाद खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की, बाणगंगा यातायात व्यवसायी समिति अध्यक्ष विष्णुप्रसाद न्यौपाने, राप्ती ट्रक संयुक्त यातायात व्यवसायी समिति अध्यक्ष यादव शाह, भेरी ट्रक समिति अध्यक्ष किसन गुरुङलाई पदेन सदस्यमा मनोनीत गरेको छ। महासंघका केन्द्रीय सदस्य लक्ष्मण क्षेत्री, वीरेन्द्र यादव, लक्ष्मण भुसाल र उमेश मजगैयालाई पनि पदेन सदस्यमा मनोनीत गरिएको छ।

यस्तै राप्ती ट्रक संयुक्त यातायात व्यवसायी समितिका सचिव खेमजंग बस्नेत, पश्चिमाञ्चलका उपाध्यक्ष खीमबहादुर थापा नारायण, लुम्बिनीका महासचिव रुमाखर गौतम, बाणगंगा यातायातका कमलबहादुर क्षेत्री र लुम्बिनी साना तथा मझौला यातायात व्यवसायीका दिनेश थापालाई सदस्यमा मनोनीत गरिएको छ।

समितिको सल्लाहकारमा पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जीतबहादुर भाट तथा प्रेस सल्लाहकारमा यमलाल भुसाल र श्यामशंकर पाण्डेलाई राखिएको छ।

प्रकाशित: २४ असार २०७६ १०:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App