coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्थानीय तहमा बढ्दो अनियमितता

सिरहा नगरपालिकाको अनियमितता छानबिन गर्न माग गर्दै सिरहा बजारमा निकालिएको जुलुस। तस्बिरः नागरिक

लहान – पछिल्लो समय अख्तियारलाई स्थानीय तहका अनियमितताबारे परेका उजुरी पहिल्याउन भ्याईनभ्याई छ। अनियमितता छानबिनका लागि उजुरीको चाङ लागेपछि अख्तियारले सप्तरीको बलान बिहुल गाउँपालिकाबाट सम्बन्धित फाइलहरू लिएर गएको छ।

विकास निर्माणमा व्यापक अनियमितता भएको भन्दै उजुरीको ओइरो लागेपछि आयोगको इटहरी कार्यालयबाट आएको टोलीले लगातार दुई दिन लगाएर फाइल लिएर गएका हुन्। गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ का विभिन्न योजना कामै नगरी सम्पन्न भएको कागज पेस गरेपछि महालेखा परीक्षकको कार्यालयले समेत तीन करोड ८२ लाख ८१ हजार बेरुजु ठहर गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश यादवले भने, ‘बेरुजु ठहर हुनु भनेको भ्रष्टाचार होइन, तत्कालको समयमा फस्र्यौट हुन नसकेको रकमहरू बेरुजु हुने हो।’ यस गाउँपालिकाले अहिलेसम्म गाउँ परिषद् गरेको छैन। विकास निर्माणको काम सक्ने चटारोले परिषद् ढिला भएको यादवले बताए।

एक महिनाभित्र सप्तरीको सुरुंगा नगरपालिकाबाट घुससहित वडाध्यक्ष र रुपनी नगरपलिकाबाट घुससहित प्राविधिकलाई अख्तियारको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको छ।

सिरहा नगरपालिकामा बढ्दो अनियमितता छानबिन गरी दोषीउपर कारबाही गर्न नेपाली कांग्रेसको अगुवाइमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ। केही स्थानीयले यस नगरपालिकाको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन्।

सरकारी रकम व्यक्तिको नाउँमा वितरण गरेको, विकासको नाउँमा करोडौं रकम कमिसन पाउन कोटेसन वितरण गरेको, नगर सभा पारदर्शी नगरेको, नगरभित्र गठिन उपभोक्ता समिति पारदर्शी नगरेकोलगायतका अनियमितता उपर छानबिन हुनुपर्ने कांग्रेसका स्थानीय नेता सुभाषचन्द्र यादवले बताए।

प्रकाशित: २४ असार २०७६ ०७:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App