coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

धनुषामा रोजगार कार्यक्रमको सुरसार छैन

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम गर्न तयार श्रमिकसहित उद्घाटन सत्रका अतिथि। तस्बिर : कमलेश/नागरिक

धनुषा – सरकारले चालु आर्थिक वर्षमै सुरु हुने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रम धनुषाका अधिकांश स्थानीय तहमा अझै सुरु भएको छैन। १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिलाई दिने भनिएको प्रधानमन्त्री रोजगार कार्यक्रम विभिन्न कारणले सुरु हुन नसकेको स्थानीय तहका रोजगार संयोजकले बताएका छन्।

आव सकिन एक सातामात्र बाँकी रहे पनि कतिपय स्थानीय तहमा अझै सुरु गर्ने सुरसार देखाएका छैनन् भने कतियले प्रकृयामा रहे पनि सुरु हुन नसकेको बताएका छन्। जिल्लाका अधिकांश स्थानीय तहले समयमा काम गर्न नसक्दा यस वर्ष रोजगार कार्यक्रमको बजेट फ्रिज हुने देखिएको छ।

विदेह नगरपालिकामा सरकारले पहिलो चरणमा छनौट गरी पठाएको रोजगार संयोजक नआएपछि दोस्रो चरणका कर्मचारी आउँन ढिलो हुँदा यस वर्ष कार्यक्रम सञ्चालन नहुने निश्चित भएको छ। नगरमा तथ्यांक संकलन, योजना छनौटलगायत काम सम्पन्न भएको भन्दै अगामी आवको पहिलो महिनादेखि नै कार्यक्रम सुरु हुने रोजगार संयोजक किरणकुमारी थिङले बताइन्।

‘कर्मचारी ढिलो आएको र आवको अन्तिममा कामको धेरै भार भएको हुनाले यस वर्ष कार्यक्रम सञ्चालन हुन सक्दैन,’ उनले भनिन्, ‘यस वर्षको बजेट फ्रिज हुन्छ। हामीलाई श्रम मन्त्रालयबाट पनि यो वर्ष छाडेर अगामी आवको पहिलो महिनादेखि नै सुरु हुनेगरी तयारी गर्न निर्देशन आएको छ।’ कार्यक्रम सुरु नहुँदा कार्यक्रमका लागि नगरमा आएको २२ लाख रुपैयाँ फ्रिज हुने भएको छ।

हंशपुर नगरपालिकामा जनप्रतिनिधिको विवाद, कर्मचारी र कार्यालय अभावले कार्यक्रम सञ्चालन हुन नसकेको रोजगार संयोजक कुलदिप राउतले बताए। ‘वडाबाट आवेदन संकलन गरी ल्याए पनि राख्ने ठाउँ छैन,’ उनले भने, ‘योजना शाखाले योजना छनौट गरेको छैन।’

रोजगार संयोजकको कार्यालय व्यवस्थापन हुन नसक्दा नगरका बेरोजगार युवाले दिएका कतिपय आवेदन सम्बन्धित वडामै रहेको उनले बताए। ‘यस वर्ष हंशपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुन सक्दैनन्,’ उनले भने, ‘कार्यक्रमको लागि आएको २७ लाख रुपैयाँ फ्रिज हुन्छ।’

जनकपुरधाम उपमहानगरपालिकामा पनि यस वर्ष सुरु नहुने नगरपालिकाले जनाएको छ। योजना शाखाले स्टिमेट तयार पारेर नदिएका कारण कार्यक्रम सञ्चालन नहुने रोजगार संयोजक सन्तोष महतोले बताए।

रोजगारीका लागि नगरमा १० हजार युवाले आवेदन दिएका थिए। आवेदन संकलन, श्रमिक छनौट, कुन योजना कार्यान्वयन गर्ने भन्ने विषयमा कागजी प्रकृया पूरा गरे पनि योजना शाखाले स्टिमेट तयार पारेर उपलब्ध नगराएको उनले आरोप लगाए।

‘हामीले एक हजार ९० युवालाई कम्तीमा १० दिनको रोजगारी उपलब्ध गराउने लक्ष्य राखेका थियौं तर, योजना शाखाले स्टिमेट तयार पारेर नदिएकाले कार्यक्रम सुरु हुन सकेन,’ महतोले भने, ‘वृक्षरोपण, सरसफाइलगायत कार्यक्रम सञ्चालन गर्न सकिन्थ्यो।’ उनका अनुसार प्रत्येक श्रमिकलाई ६ सय ५० रुपैयाँका दरले दैनिक ज्यालामा कम्तीमा १० दिन रोजगारी दिने लक्ष्य राखिएको थियो।

धनुषाको सहिद नगरपालिकामा पनि रोजगार कार्यक्रम सुरु नभएको तर, चालु सातामा नै सुरु गर्ने रोजगार संयोजक सरोजकुमार मण्डलले बताए। ‘प्रकृया सबै पूरा छ। असार मसान्तमा धेरै काम भएको हुनाले सुरु हुन सकेको छैन,’ उनले भने, ‘तर चालु सातामा नै सुरु हुन्छ।’ नगरपालिकाले रोजगार कार्यक्रमअन्तर्गत ६ वटा योजना बनाएर यस वर्ष दुई सय २० जनालाई रोजगारी दिने जनाएको छ।

‘विभिन्न वडाबाट चार हजार पाँच सय बेरोजगारले आवेदन दिएका थिए,’ उनले भने, ‘तर, यस वर्ष दुई सय २० जनालाई १५ दिनको रोजगारी दिने छौं। कार्यविधिअनुसार दलितलाई प्राथमिकतामा राखेर छनौट गरेका छौं।’ १५ दिन चालु आवको बाँकी नभए पनि कागजी प्रकृया पूरा गरी १५ दिनको लागि रोजगारी दिने उनले जनाए।  

नगराइन नगरपालिकामा प्रकृया पूरा भए पनि बजेटमा ढिलाइ हुँदा सुरु हुन सकेको छैन। नगरमा २२ सय आवेदनबाट यस वर्ष एक सय ७० जनालाई रोजगारी दिने योजना रहेको रोजगार संयोजक विजयकुमार यादवले बताए। ‘कार्यक्रम सञ्चालनका लागि स्टिमेट बजेटको निवेदन दिएको छु,’ उनले भने, ‘बुधबारसम्म बजेट विनियोजन भएन भने कार्यक्रम सुरु हुन सक्दैन। बजेट विनियोजनमा ढिलाइ भयो भने यस वर्षको बजेट फ्रिज हुन्छ।’ फिल्डमा काम गर्नका लागि आवश्यक पर्ने औजार, सामग्रीलगायत किन्न बाँकी नै रहेको उनले बताए।

सबैला नगरपालिकामा पनि कार्यक्रम सुरु भएको छैन। तर, यसै वर्षदेखि नै चालु गर्ने मेयर विजयशंकर साहले बताए। ‘कार्यक्रम सुरु गर्ने काम अन्तिम चरणमा छ,’ उनले भने, ‘एक साताका लागि भए पनि बेरोजगारलाई रोजगारी दिन्छौं।’ यस्तै क्षिरेश्वरनाथ नगरपालिकामा पनि कार्यक्रम सुरु भएको छैन। सुरु गर्ने तयारीमा रहेको रोजगार संयोजक रञ्जित यादवले बताए। नगरका वडाबाट आएको २५ आवेदनबाट यसपालि तीन सय ६६ जनालाई १० दिनको रोजगारी दिने उनले बताए।

जिल्लामा सबै भन्दा पहिले बटेश्वर गाउँपालिकाले कार्यक्रमको शुभारम्भ गरेको थियो। गाउँपालिकामा असार १ देखि नै कार्यक्रम सुरु भएको रोजगार संयोजक पूजा साहले बताइन्। एक हजार ६ सय ६७ आवेदनबाट यस वर्ष ७५ जनालाई २५ दिनको रोजगारी दिएको उनले बताइन्। गाउँपालिकामा रोजगार कार्यक्रमअन्तर्गत आएको १४ लाख सदुपयोग गर्न विभिन्न योजना बनाएर काम भइरहेको उनले बताइन्।

कमला नगरपालिकामा असार १० देखि कार्यक्रम सुरु भएको छ। नगरपालिकामा आएका तीन हजार आवेदनबाट एक सय ५० जनाले २२ दिनका लागि रोजगार पाएको संयोजक विकी मण्डलले बताए। विद्यालय सरसफाइ, गार्डिङ निर्माण, कच्ची बाटोको नाला व्यवस्थापन, नगरको मठमंन्दिर, स्थास्थ्य संस्थालगायत नगर स्तरीय सरसफाइलगायतको काम गरिरहेको उनले बताए।

मिथिला नगरपालिकामा तीन हजार तीन सय पाँच आवेदनबाट ७५ जनालाई रोजगारी दिएको छ। यस वर्ष नगरको चार वडामा मात्र सुरु गरेको भन्दै योजनाअनुसार दिन र दैनिक पारिश्रमिक छुट्याएको रोजगार संयोजक सुनिल साहले बताए। यस्तै लक्ष्मीनियाँ गाउँपालिकामा पनि कार्यक्रम सुरु भइसकेको नगरकी उपमेयर इन्द्रकला देवी यादवले बताइन्। जिल्लामा एक उपमहानगर, ११ नगरपालिका, ६ गाउँपालिका गरी १८ स्थानीय तह छन्। तर, अधिकांश स्थानीय तहमा रोजगार कार्यक्रम सुरु हुन सकेको छैन।

प्रकाशित: २४ असार २०७६ ०४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App