६ वैशाख २०८१ बिहीबार
अर्थ

भार बोकेका सयौं सवारी बाटैमा अलपत्र

पोखरा भित्रिने मूल नाका विजयपुर खोलामा बगेको डाइभर्सन। डाइभर्सन बग्दा आउजाउ रोकिँदा करिब चार सय गह्रौ सवारी लेखनाथ क्षेत्रमा रोकिएका छन्। तस्बिर : उमेश पुन/नागरिक

पोखरा – पोखरा प्रवेशको मुख्य नाका विजयपुर खोलाको डाइभर्सन बाढीले बगाउँदा भार बोकेर भित्रिँदै गरेका सयौं ट्रक सडकमै अलपत्र परेका छन्। पक्की पुल कमजोर भएपछि केही महिनाअघि खोलामा डाइभर्सन बनाएर गह्रौ सवारीसाधनलाई वारपार गराइँदै आएको थियो। त्यही डाइभर्सन पनि खोलाले बगाएपछि गह्रौ सवारी लेखनाथ क्षेत्रमा रोकिएका छन्।

पोखराबाट विजयपुर करिब पाँच किलोमिटर पर पर्छ। पोखरा भित्रिने यो नै मुल नाका हो। नदीमाथिको पक्की पुल जीर्ण भएपछि बनाइएको डाइभर्सन आइतबार राति आएको बाढीले बगाएको हो। विजयपुर खोलामा रहेको पक्की पुल जीर्ण भएपछि १० टनभन्दा बढी भार बोकेका सवारीलाई डाइभर्सनमार्फत वारपार गराइएको थियो। कास्कीका ट्राफिक प्रहरी प्रमुख इन्सपेक्टर मुरारी मिश्रले डाइभर्सन बगेकाले गह्रौ सवारी रोकिएको बताए।

‘पोखरासहित आसपासका जिल्लाका लागि आवश्यक सामग्री बोकेर आएका झन्डै चार सय गह्रौ सवारी सडकमै लामवद्ध छन्। लामो समय गाडी रोकिँदा ती सवारीका चालक र सहचालकसमेत समस्यामा छन्,’ मिश्रले भने, ‘तत्काल बाटो खुलाउने सम्भावना छैन। खोलामा पानीको बहाव घटे पनि तत्कालै डाइभर्सन बनाउन सकिने अवस्था छैन।’ उनका अनुसार पोखरा भित्रिइरहेका ती गह्रौ सवारीलाई झन्डै १०किलोमिटर परै रोकिएको छ।

उनका अनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ कम्पनीसँग  डाइभर्सन बनाउन प्राविधिक र प्रविधिको सहयोग मागिएको छ। चिनियाँ प्राविधिकले आवश्यक अनुसन्धान गरेर डाइभर्सन बनाउन सघाउने अपेक्षा रहेको मिश्रले बताए। चिनियाँ प्राविधिक टिमले डाइभर्सन बनाउने क्षेत्रको अवलोकन पनि गरिसकेको उनले बताए।

‘पोखरासहित आसपासका जिल्लाका लागि आवश्यक सामग्री बोकेर आएका झन्डै चार सय गह्रौ सवारी सडकमै लामवद्ध छन्। लामो समय गाडी रोकिँदा ती सवारीका चालक र सहचालकसमेत समस्यामा छन्,’

गह्रौ सवारी रोकिँदा सडक साँघुरो भएको छ। त्यसले गर्दा अरु सवारीको आउजाउ पनि अप्ठेरो भएको ट्राफिक प्रमुख मिश्रले बताए। ‘जसोतसो यात्रुबाहक बस र अरु साना सवारीलाई व्यवस्थापन गरेका छौ,’ मिश्रले भने, तर, गह्रौ सवारी थपिने क्रम जारी छ। सवारी सडकमा लामबद्ध हुँदा स्थानीयलाई समेत समस्या भएको छ। यसै त साँघुरो सडक, त्यसमा पनि गह्रौ सवारी सडकमै रोकिँदा विजयपुल क्षेत्र नै अस्तव्यस्त बनेको छ।’

गण्डकी प्रदेशको राजधानी पोखरालाई काठमाडौंसहित पूर्वी तराईसँग जोड्ने सडक पनि यही हो। पृथ्वी राजमार्गमा पर्ने यो खण्ड हुँदै दैनिक करिब ६ हजार ठूलासाना सवारी आउजाउ हुने ट्राफिक प्रहरीको अनुमान छ। गण्डकी अञ्चलका कास्की र स्याङ्जासहित धवलागिरीका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जाने मूल सडक नै यही हो। पोखरा मात्र नभई धवलागिरीका अन्य जिल्लाका लागि ढुवानी हुने निर्माण सामग्री र खाद्यान्न पनि यही नाका हुँदै भित्रिन्छ।

विजयपुर खोलामा रहेको पुल आठ ठाउँमा चर्किएपछि जोखिम बढेको भन्दै खोलामा ढल बिछ्याएर डाइभर्सन बनाइएको थियो। फागुन पहिलो साता पुलमा रंगरोगन गर्ने क्रममा पेन्टरले पुल भाचिनुका साथै चर्किएको देखेपछि पुलको जोखिमबारे थाहा भएको हो। २०६४ मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको विजयपुर खोलाको पुल ११ वर्ष नबित्दै जोखिममा परेको थियो। पुलको बीच भागका विभिन्न ठाउँमा बटम कड र क्रस मेम्बर भाँचिनुका साथै चर्किएको सडक डिभिजन कार्यालय पोखराले जनाएको छ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोखरेलले डाइभर्सन बगेपछि पोखरामा गह्रौ सवारी आउजाउमा समस्या भएको बताए। उनले तत्कालै डाइभर्सन बनाउन खोलामा पानीको बहाव बढी रहेकाले समस्या भएको बताए। सिँचाइका लागि लगिएको नहरको पानी कटौती गर्दा नदीमा बहाव घट्ने भएकाले नहरको पानी घटाइदिन अनुरोध गरेको पोखरेलले बताए। अहिले सिँचाइका लागि सेती नदीबाट नहर बनाएर लगिएको पानी विजयपुुर खोलामा खसालिन्छ।

पोखरेलले सडकमा रोकिएका गह्रौ सवारीलाई रातिको समयमा पार गराउने तयारी भइरहेको जानकारी दिए। पोखरेलका अनुसार पक्की पुलमाथि सवारी नरोकिने गरी १०–१५ किलोमिटरको गतिमा गह्रौ सवारीलाई रातिको समयमा पार गराउने गरी ट्राफिक प्रहरीसँग समन्वय गरिएको छ। ‘गह्रौ सवारी दिउँसोमा पार गराउन मिल्दैन। रातिको समयमा अरु सवारीको आउजाउ घटेपछि गह्रौ सवारीलाई पार गराउने सल्लाह भएको छ,’ उनले भने, ‘हामीले विज्ञसँग छलफल गरेर यो निष्कर्षमा पुगेका हौं।’

उनका अनुसार पक्की पुलमा एउटा गाडीको भार मात्र पर्नेगरी पार गराउने तयारी छ। त्यसबाहेक केही गाडीको सामान उतारेर तौल घटाएर पार गराउनेबारे पनि सल्लाह भएको पोखरेलले बताए। ‘गाडी पुलमा रोकिनै हुँदैन, तर, गति पनि तीव्र हुनुहुँदैन। एउटै गाडी नरोकिई पार गर्नुपर्छ,’ उनले भने, ‘पुलमाथिबाट एउटा मात्र गाडी पार गर्दा जोखिम छैन। पुलमा गाडी रोकिनुप-यो भने समस्या हो, नत्र सरासर गुड्दा उतिसारो भार पर्दैन।’ उनका अनुसार पोखरा भित्रिने भारतीय नम्बरका ठूला सवारीले ६०–७० टनसम्म भार बोक्ने गरेको पाइएको छ। मार्बललगायत गह्रौ वस्तु बोकेका ती सवारी लामवद्ध रुपमा समेत गुड्ने गर्छन्। त्यसले गर्दा विजयपुरको पुल छोटो समयमै जोखिममा परेको पोखरेलले बताए।

पक्की पुल जोखिममा परेपछि विजयपुरमै ५० मिटर लामो बेलिब्रिज निर्माण भइरहेको छ। बेलिब्रिजले पनि एक सय टनसम्मको तौल धान्न सक्छ। तर, बेलिब्रिजमा पनि एकपटकमा एउटा मात्र गाडी पार गराउनुपर्ने उनले बताए। असारको अन्तिमसम्म बेलिब्रिज तयार भइसक्ने उनले बताए। ‘एकैपटक दुईवटा भारी सवारी  प्रवेश गराउँदा पुल जोखिममा पर्ने हुन। एउटामात्र सवारी चलाउने हो भने खासै समस्या हुँदैन,’ पोखरेलले भने।

प्रकाशित: २४ असार २०७६ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App