coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

ब्याज र बिदेशी मुद्राकाे काराेबारले बैंकहरुकाे नाफा बढ्याे

काठमाडौं– चालु अर्थिक वर्षको पहिलो ३ महिनामा अधिकांश बैंकको नाफा बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको सोही अवधिमा बैंकहरुले नाफा बढाएका हुन् । ब्याज आम्दानी र विदेशी मुद्राको कारोबारबाट भएको आम्दानीले नाफा बढाएको हो ।

२८ वाणिज्य बैंकमध्ये सातवटाले वित्तीय विवरण सार्वजनिक गरेका छन् । बैंकको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै सिटिजन्स बैंकको नाफा बढेको छ । सिटिजन्सले गत आर्थिक वर्षको पहिलो त्रैमासमा भन्दा चालु आवको पहिलो त्रैमासमा १ सय ४१ प्रतिशत बढी नाफा गरेको छ । बैंकले गत आर्थिक वर्षमा १४ करोड २७ लाख नाफा नाफा गरेकोमा चालु वर्ष ३४ करोड ५१ लाख पु¥याएको छ ।

यसैगरी, सनराइज बैंकले पनि शतप्रतिशत भन्दा धेरै नाफा बढाएको छ । यसले गत आर्थिक वर्ष ११ करोड ७८ लाख नाफा गरेकोमा चालु आर्थिक वर्षमा २५ करोड ३१ लाख पु¥याएको छ । नेपाल बंगालादेश बैंकले ८३ प्रतिशतभन्दा बढीले नाफा बढाएको छ । यसले पोहोर वर्ष १२ करोड ४८ लाख नाफा गरेकोमा चालु आवमा २२ करोड ५० लाख गरेको छ ।

एनआइसी एसियाले १० करोड रुपैयाँभन्दा धेरैले खुद नाफा बढाएको छ । एनआइसीले २६ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । गत आवको पहिलो त्रैमासमा यसले १५ करोड ७३ लाख रुपैयाँ नाफा गरेको थियो । सानिमा बैंकको नाफा पनि साढे ५३ प्रतिशतले बढेको छ । यसले चालु आवको पहिलो त्रैमासमा २७ करोड ५ लाख रुपैयाँ नाफा गरेको छ ।

नबिल बैंकको नाफा २२.१६ प्रतिशतले बढेको छ । यसले ७९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । यसैगरी, प्राइम कमर्सियल बैंकको नाफा १४ प्रतिशतले बढेको छ । उक्त बैंकले चालु आवको पहिलो तीन महिनामा २५ करोड १० लाख रुपैयाँ नाफा गरेको छ ।

चालु आवको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेका सात बैंकमध्ये सबैभन्दा बढी नबिलले कमाएको छ । उसले पहिलो त्रैमासमा करिब पौने अर्ब रुपैयाँ नाफा गरेको छ । दोस्रो धेरै कमाउनेमा सिटिजन्स बैंक देखिएको छ । उक्त बैंकले करिब ३५ करोड रुपैयाँ नाफा कमाएको छ ।

गत आवमा भूकम्प, तराई–मधेस आन्दोलन र नाकाबन्दीका कारण बैंकहरुको व्यवसाय विस्तार हुन नसक्दा नाफा बढ्न नसकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘गत आर्थिक वर्षको पहिलो तीन महिनामा भूकम्पलगत्तै नाकाबन्दीको असर परेका कारण व्यवसाय बिस्तार रोकिएकाले त्यसको असर त्रैमासमा देखिएको थियो,’ उनले भने, ‘तर चालु आवमा व्यवसाय बिस्तार भएकाले बैंकको नाफा बढेको हो ।’

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले राम्रै नाफा कमाएका छन् । उनीहरुको नाफामा खास संकुचन देखिएको छैन ।
बैंकहरुले लगानी बढाएकाले नाफा बढ्दै गएको एक बैंकरले बताए । बैंकहरुको चुक्ता पुँजी बढेकाले पनि नाफा बढ्नुलाई उनले स्वाभाविक प्रक्रिया भने । उनले भने, ‘बैंकहरु दिने प्रतिफल नघटाउन पनि नाफा बढाउनु पर्छ ।’ चालु आर्थिक वर्षमा लगानीको वातावरणमा सुधार आएको र कर्जाको माग पनि बढेकाले नाफा वृद्धि भएको बैंकरहरुको भनाइ छ ।

गत आर्थिक वर्ष तरलता (लगानीयोग्य पुँजी) को अधिक उपलब्धताका कारण बैंकहरुको नाफामा खासै वृद्धि हुन सकेको थिएन । तर, चालु आवमा बैंकमा लगानीयोग्य पुँजी धेरै नभएकाले पनि नाफामा ठूलो वृद्धि आएको एक बैंकरले बताए । ‘ब्याज आम्दानीका कारण नाफा वृद्धि भएको हो,’ उनले भने, ‘व्यापारको आकार बढेकोले बैंकको नाफा पनि बढेको हो ।’
२१ वाणिज्य बैंक वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन् । बैंक लगायत पब्लिक लिमिटेड कम्पनीहरुले त्रैमासिक वित्तीय विवरण उक्त अवधि सकिएको ३५ दिनभित्र सार्वजनिक गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।

पहिल्लो समय बैंकहरुले निक्षेप र लगानी दुवै बढाएका छन् । औसतमा हेर्दा चालु आवको पहिलो ३ महिनामा गत वर्षको भन्दा बैंकहरुको खुद ब्याज नाफा बढेको देखिन्छ । निक्षेपको तुलनामा कर्जाको बिस्तार पनि बढी देखिन्छ । कर्जासँगै निक्षेप पनि बढेकाले आउँदो त्रैमासमा बैंकहरुको नाफा अझ बढ्न सक्ने संकेत देखिएको बैंकरहरु बताउँछन् ।

गत आवको तुलनामा लगानीको वातावरणमा सुधार हुँदै गएकाले पनि बैंकको नाफा आगामी त्रैमासमा अझै बढ्ने अपेक्षा बैंकरहरुले गरेका छन् । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर सन्तोषजनक हुने संकेत गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पछिल्लो अवस्था सार्वजनिक गर्दै चालु आवको आर्थिक वृद्धिदर सुधार हुन सक्ने संकेत देखिएको जनाएको छ ।

अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने कृषि, ऊर्जा, पर्यटन तथा उद्योग क्षेत्रमा सकारात्मक संकेत देखिएकाले अर्थतन्त्रको वृद्धि सम्भव हुने राष्ट्र बैंकले प्रक्षेपण गरेको छ ।

देशको वित्तीय विवरण घाटामा गए पनि राष्ट्र बैंकले भने अर्थतन्त्रमा केही सुधारको संकेत देखिन थालेको जनाएको छ । पर्याप्त वर्षा हुनुका साथै कृषिजन्य सामग्रीको वितरणसमेत सहज भएकाले बर्खे बालीहरुको उत्पादन बढ्ने केन्द्रीय बैंकले जनाएको छ ।

ऊर्जा तथा अन्य कच्चा पदार्थको आपूर्तिमा सुधार आएकाले उद्योगहरुको उपयोग क्षमता विस्तार भएको तथा पर्यटकीय होटलहरुको बेड अकुपेन्सी दरमा सुधार आएकाले पर्यटन व्यवसायमा सकारात्मक सुधार आएको उसले जनाएको छ । त्यसले अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने राष्ट्र बैंकको अनुमान छ ।

प्रकाशित: १८ कार्तिक २०७३ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App