coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

१९७४ एडी ‘रियुनाइटेड’

काठमाडौं  – सांगीतिक रक ब्यान्ड १९७४ एडीका पुराना सदस्यहरू ‘रियुनाइटेड’ भएका छन्। सोमबार पुराना ब्यान्डका सदस्यहरूसहित देखिएको १९७४ एडीले औपचारिक रूपमा ‘रियुनाइटेड’ भएको घोषणा गरेका छन्।

१९७४ एडीको २५ वर्ष सांगीतिक यात्रामा एड्रियन प्रधान, फिरोज स्याङदेन, निराकार याक्थुम्बा, मनोजकुमार केसी, संञ्जय श्रेष्ठ फेरि एकजुट भएका छन्। ‘१९७४ एडीका पुराना सदस्यहरूलाई एकजुट हुन फ्यानहरूले बारम्बार अनुरोध गरिरहेका थिए। नेपाल भ्रमण वर्ष २०२० को निम्ति नेपाल पर्यटन बोर्डले १९७४ एडीको पुरानो ब्यान्डका सदस्यसहित वल्र्ड टूर गर्न आग्रह गरेपछि तीन हप्ताअघि यस विषयमा कुराकानी भयो। नेपाल भ्रमण वर्ष २०२० का लागि १९७४ एडीले वल्र्ड टूर नगरेपनि ब्यान्ड एकजुट भयो,’ औपचारिक कार्यक्रममा बोल्दै १९७४ एडीका मनोजकुमार केसीले भने, ‘सबै सदस्यहरू हाल गीत रेकर्ड गर्न लागिपरेका छौं।’

सन् १९९३ मा निराकार याक्थुम्बा, फिरोज स्याङ्देन र भानु एले १९७४ एडीको स्थापना गरेका थिए। गायक एड्रियन प्रधान र गिटारिस्ट मनोजकुमार केसीले भने १९९८ मा ब्यान्डसँग आवद्ध भएका थिए।

सन् २००९ फिरोज स्याङ्देन अमेरिका उठेपछि ब्यान्डको गतिविधिमा असर पर्दै गएको थियो। सन् २०१४ मनमुटावका कारण एड्रियन प्रधान ब्यान्ड छाडेका थिए। सन् २०१५ ब्यान्डसँग आवद्ध भएका रोहितजोन क्षेत्री, प्रज्जवल मुखिया, सुवासजंग पाण्डे र प्रतिक बानिँया अबदेखि नदेखिने जानकारी कार्यक्रममा गराइएको थियो।

‘हरेक कन्सर्टमा जाँदा फ्यानहरूले १९७४ एडीमार्फत आउन बारम्बार अनुरोध गरिरहेका थिए। आफैलाई पनि ब्यान्डमार्फत कन्सर्ट गनुपर्छ जस्तो लागि रहेको अवस्थामा एकजुट भएर अघि बढौं भन्ने कुरा भएपछि १९७४ एडीलाई निरन्तरता दिन लागिपरेको हुँ,’ गायक एड्रियन प्रधानले भने। उनी सोलो कन्सर्टमा पनि देखिनेछन्। ब्यान्डले सन् २०२० सम्मको लागि कार्यतालिका तयार गर्ने क्रममा छ।

ब्यान्डले यसअघि ‘हजार सपना’, ‘टाइम आउट’, ‘सम्झी बस्छु’, ‘शताब्दी’,‘जंगी निशान’ र ‘पिजडाको सुगा’ लगायत एल्बम सार्वजनिक गरिसकेको छ। १९७४ एडीको ‘गुराँस फुल्यो’, ‘हिड्दाहिड्दै’, ‘पिजडाको सुगा’, ‘पहिलो जुनीमा’, ‘नेपाली’, ‘छुदैन तिम्रो मायाले’, ‘सम्झी बस्छु’, ‘सम्बोधन’ र ‘धेरैधेरै’ लगायत गीतहरु चर्चामा छन्।
 

प्रकाशित: २४ असार २०७६ ०२:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App