coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

अद्भुत ब्याटिङ शैली

म्यानचेस्टर – यस विश्वकपमा रोहित शर्माले निकै लोभलाग्दो प्रदर्शन गर्दा भारत लिगमा शीर्ष स्थानमा रहँदै विश्वकपको सेमिफाइनल पुग्यो। उनकै प्रदर्शनप्रेरित भारतले लिगका ९ मध्ये एक खेलमा मात्र इङ्ल्यान्डसँग हार बेहोरेको थियो। रोहितले एकपछि अर्को उत्कृष्ट ब्याटिङ गर्दा भारतले हरेक टोलीसँग चुनौती पेस गरेको थियो। उनै रोहित मंगलबार न्युजिल्यान्डसँगको सेमिफाइनलमा भारतका लागि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ उत्रँदै छ। भारतीय टोलीका लागि ओपनर रोहित निकै आशा गरिएका ब्याट्सम्यान हुन्।

ओपनिङ साझेदारी राम्रो हुँदा रोहितमा ठूलो जिम्मेवारी रहनेछ। यसै विश्वकपको यसअघिका खेलमा पनि रोहित चल्दा भारतको इनिङ बलियो साबित भएको थियो। रोहितले जारी विश्वकपमा पाँच शतक र एक अर्धशतक बनाउँदा धेरै रन बटुल्ने ब्याट्सम्यानमा आफूलाई शीर्ष स्थानमा उभ्याएका छन्। आठ खेलमा ६ सय ४७ रन बनाएका रोहित सर्वाधिक रन बनाउने सूचीमा शीर्ष स्थानमा छन्। अद्भुत ब्याटिङ शैली भएका रोहित न्युजिल्यान्डविरुद्ध पनि लय निरन्तरता दिँदै भारतलाई सन् २०११ पछि विश्वकपको फाइनलमा पु¥याउन चाहन्छन्। रोहितमा टोलीलाई सफलता दिलाउन सक्ने क्षमता  छ।

यसअघिका खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्दै आफूलाई साबितसमेत गरिसकेका छन्। ५ शतक प्रहार गर्ने एक्ला ब्याट्सम्यान रोहितको नाममा एक अर्धशतक पनि सामेल छ। उनले दक्षिण अफ्रिका, पाकिस्तान, इङ्ल्यान्ड, बंगलादेश र श्रीलंकाविरुद्धको खेलमा शतक बनाएका थिए।

गत खेलमा बंगलादेशलाई हराउँदै भारतले सेमिफाइनलको यात्रा तय गर्दा रोहितले १ सय ४ रनको बलियो योगदान दिएका थिए। त्यसअघि पहिलो खेलमा भारतले दक्षिण अफ्रिकामाथि जित निकाल्दा पनि रोहितले १ सय २२ रनको अविजित इनिङ खेले। दोस्रो खेलमा पनि बलियो टोली अस्ट्रेलियाविरुद्ध भारतले जित निकाल्दा रोहित शर्माले ५७ रनको अर्धशतकीय योगदान दिए।

उनको उत्कृष्ट लय त्यतिमा मात्र सीमित रहेन। उनले पाकिस्तानविरुद्ध पनि १ सय १३ बलमा १ सय ४० रनको यादगार इनिङ खेलेका थिए। यस विश्वकपको फाइनलमा पुग्ने लक्ष्यका साथ भारत मंगलबार न्युजिल्यान्डसँग म्यानचेस्टरमा भिड्दै छ। उक्त खेलमा पनि भारतले रोहितबाट सोही किसिमको प्रदर्शन आशा राखेको छ। भारतको आशाअनुरूप रोहितमा क्षमता पनि छ।

एकदिवसीय क्रिकेटमा तीन पटक दोहोरो शतक पूरा गर्दै रोहितले विश्व क्रिकेटलाई नै उनीबाट धेरै आशा गर्ने अवस्था सिर्जना गरिसकेका छन्। त्यसैले न्युजिल्यान्डसँगको खेलमा रोहित भारतका लागि आशा गरिएका खेलाडी हुन्।

 

प्रकाशित: २४ असार २०७६ ०१:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App