coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जनावरको बिगबिगीले किसान आजित

कमलामाई नगरपालिका–३ बाटो निगालेका एक किसान बँदेलले सखाप पारेको मकैबाली देखाउँदै। तस्बिर: अनिल भण्डारी, नागरिक

सिन्धुली - जंगली जनावरले बाली सखाप पार्न थालेपछि जिल्लाको पहाडी भेगका किसान आजित भएका छन्। सुनकोसी गाउँपालिकाको महाभारत क्षेत्र, गोलन्जोर गाउँपालिका र कमलामाई नगरपालिकाका केही वडा तथा घ्याङलेख गाउँपालिकाका किसान पाक्ने बेलाको मकै जनावरले सिध्याउन थालेपछि चिन्तित देखिएका हुन्।

पहाडी क्षेत्रको मुख्य बाली मकैको सुत्ला आउने समयमै बादरले हैरान पारेको किसान बताउँछन्। कमलामाई–३ स्थित निगालेमा एक कार्यक्रमको अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारीमाझ किसानले अन्य कार्यक्रम अनुगमन गर्नुभन्दा पनि जंगली जनावरबाट बाली जोगाउने योजना ल्याउन आग्रह गरे। ‘हाम्रो मुख्य बाली मकै हो,’ स्थानीय लालकाजी श्रेष्ठले भने, ‘मकैको सुत्ला आउँदै बाँदर, दुम्सी, बँदेललगायत जंगली जनावरले सखाप पारिदिएका छन्। उनले बारीभरि सखाप पारेको मकै बाली देखाउँदै बाँदर र बदेलकै कारण बाली जोगाएर भित्र्याउन नसकिने अवस्था आएको बताए। त्यस क्षेत्रका बारीमा दुम्सी र बँदेलका लागि स्थानीयले पासोसमेत बनाएर राखेका छन्।

पासोमा बँदेल नपरेको भन्दै किसानले नियन्त्रणका लागि प्रजिअ गुहारेका हुन्। सोही ठाउँका स्थानीय पदम श्रेष्ठले पनि बाली जोगाइदिन आग्रह गरे। ‘बारीमा पसेर हेर्नुस्, बिजोग भएको छ, दिनभर बाँदर धपाउँदै जान्छ। राति दुम्सी र बँदेलले खान्छ, कसरी बाली जोगाउने ?’ उनले भने।

सुनकोसी गाउँपालिका–७ मझुवा क्षेत्रका किसान बाँदर र बँदेलबाट मकै बाली कसरी जोगाउने भन्ने हम्मेहम्मे परेको बताउँछन्। बाँदरले मकै सखाप पार्ने गरी खाएपछि किसानलाई समस्या भएको हो। ‘दिनभर बाँदरले हैरान पार्छ,’ एक किसानले भने, ‘राति बँदेल र दुम्सीले मकै बाली नष्ट पारेको हुन्छ, किसान रातभर सुत्न पाएका छैनन्।’

उता घ्याङ्लेख गाउँपालिकामा पनि बँदेलले बर्खेबाली नष्ट पारेपछि किसान चिन्तित भएका छन्। सो गाउँपालिका–३ तामाजोरका स्थानीयले लगाएको धान, मकै, कोदोलगायत बाली बँदेलले सखाप पारेकाले उनीहरूमा चिन्ता बढेको हो।

बाँदर र बँदेलले दुःख दिन थालेपछि छेउछाउका बारी किसानले बाँझै राख्ने गरेका छन्। ‘खेत बाँझै छ, बाली लगाएर के गर्ने ? बाँदरलाई नै ठिक्क हुन्छ,’ स्थानीय भन्छन्, ‘वर्ष दिन दुःख ग-यो, भित्र्याउने सम्भावना हुँदैन, बाँदरले खान्छ।’ साथै साविकको तामाजोर गाविसका स्थानीयले पनि बँदेलले दुःख दिन थालेपछि गाउँभन्दा टाढाका बारी तथा खेत बाँझै राखेका छन्।

प्रकाशित: २४ असार २०७६ ०१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App