coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपालसँग मलेसिया स्तब्ध

काठमाडौं – साबिकको विजेता नेपालले एसिसी यु–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिका लागि हङकङविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ। सोमबार मलेसियाको किनरारा ओभल मैदानमा भएको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियालाई ७ विकेटले स्तब्ध बनाउँदै नेपाल फाइनलमा पुगेको थियो। सोमबारै भएको दोस्रो सेमिफाइनलमा हङकङले सिंगापुरमाथि डिएल मेथडका आधारमा ५१ रनको जित रच्दै उपाधि भिडन्तका लागि नेपालसँगको भेट पक्का गरेको हो।

नेपालले उपाधिका लागि मंगलबार हङकङसँग खेल्नेछ। यो उपाधि जितेमा नेपालले श्रीलंकाका आगामी सेप्टेम्बरमा हुने यु–१९ एसिया कप क्रिकेट खेल्ने अवसर पाउनेछ।यसअघि मलेसियाले प्रस्तुत गरेको ८८ रनको झीनो लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। नेपालको जितमा भीम सार्की र रोहितकुमार पौडेलले नटआउट ६० रनको साझेदारी गरे।

सार्की ३३ रनमा र रोहित ३१ रनमा अविजित रहे। त्यसअघि पवन सर्राफ १८ रनमा आउट हुँदा ऋत गौतम ३ रनमा पवेलियन फर्किए। खडक बोहराले भने खाता खोल्न सकेनन्। मलेसियाका हैकल खेरले २ विकेट लिँदा मोहम्मद आमिरले एक विकेट निकाले। त्यसअघि, किनरारा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले ४०.५ ओभरमा ८७ रनको झीनो योगफल समेटिएको थियो।

नेपालको बलिङ आक्रमणसामु मलेसियाका ब्याट्सम्यान निरीह बन्न बाध्य भए। उनीहरूले लामो साझेदारी गर्न सकेनन् भने कुनै पनि ब्याट्सम्यान लामो समयसम्म क्रिजमा टिक्नै सकेनन्। मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंकको रन बटुल्न सफल भए। मोहम्मद आमिरको २४ रन नै मलेसियाको इनिङमा सर्वाधिक व्यक्तिगत योगदान रह्यो। हैकल खेरले १२ रन, वान अमिरुल ११ र अहमद अकमलले १० रन बनाउँदा मलेसियाले ८० रनको आँकडा पार गरेको थियो। नेपालको बलिङतर्फ  सागर ढकालले सर्वाधिक तीन विकेट लिए।  उनले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चिए। ९ ओभरमा ५ मेडनसहित १३ रन खर्चेका कुशल मल्लले २ विकेट निकाले। रसिद खान र तिलकराज भण्डारीले समान १/१ विकेट बाँडेका थिए।  मलेसियाले प्रस्तुत गरेको ८८ रनको झीनो लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो।

प्रकाशित: २४ असार २०७६ ०१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App