७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

स्विस बैंकमा अवरोध सिर्जना गर्न खोज्ने पक्राउ

स्विस बैंक क्रेडिट सुसीको जुरिचस्थित मुख्यालयको प्रवेशद्वारमा अवरोध सिर्जना गर्दै वातावरणसम्बन्धी क्षेत्रमा काम गर्ने अभियन्ता। तस्बिर : रोयटर्स

जुरिच – फोसिल इन्धनमाथि लगानी रोक्न माग गर्दै प्रदर्शनमा उत्रिएका वातावरणसम्बन्धी अधिकारवादीलाई सोमबार पक्राउ गरिएको छ। फोसिल इन्धनमा लगानी गर्न नदिनका लागि दबाब दिने उद्देश्यसहित जुरिचस्थित क्रेडिट सुसी र बसेलस्थित युबिएसको मुख्यद्वारमा अवरोध सिर्जना गर्न खोजेका केही प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप गरी पक्राउ गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।

जलवायु परिवर्तनमा सहयोग पु¥याउने गतिविधिमाथि ध्यानाकर्षण गर्नका लागि नागरिक अवज्ञाको आह्वान गरेको समूहले प्रदर्शनको नेतृत्व गरेको थियो। उनीहरुले सडकमा गुड्ने गाडीलाई रोकेर जुरिचको परेड स्क्वायर तथा बान्होफस्ट्राजे लक्जरी सपिङ मल वरपरका मानिसलाई आफ्नो मागप्रति ध्यानाकर्षण गराएका थिए।
एक घण्टाभन्दा बढी समयसम्म सो क्षेत्रमा प्रदर्शन गरेका प्रहरीले उनीहरुलाई हेरिरहेका थिए। प्रहरीले उनीहरुलाई प्रदर्शनपछि सो क्षेत्र छोड्नका लागि मौका पनि दिएको थियो। तर ती प्रदर्शनकारीले आफैंले गरेको सम्झौताविपरित अघि बढेर एउटा सञ्जाल निर्माण गरेपछि प्रहरीले करौती र बोल्ट कटरको माध्यमबाट ती अधिकारकर्मीलाई हटाउन खोजेको थियो।

‘स्विजरल्यान्डको आफ्नै कोइला खानी वा तेलका कुवा छैनन् तर त्यस्ता गतिविधिमाथि यहाँबाट लगानी हुन्छ,’ प्रदर्शन आयोजना गर्न सहयोग गरेको कलेक्टिभ क्लाइमेट जस्टिस नामक समूहका प्रवक्ता फ्रिडा कोहलमानले पक्राउ पर्नुअघि समाचार समाचार एजेन्सी रोयटर्ससँग बताइन्। ‘स्विरजल्यान्डमा बैंकहरुको एकदमै राम्रो छवि छ र यही छविकै आवरणमा उनीहरुले विश्वभर फोहोरी व्यापारमा लगानी  गरिरहेका छन्,’ उनले बताइन्।

प्रवक्ता कोहलमानले भनिन्, ‘कोइलाबाट चल्ने जर्मनीको सबैभन्दा ठूलो पावर प्लान्ट आरडब्लुई जस्ता फोसिल इन्धनमा आधारित ऊर्जा कम्पनीलाई क्रेडिट सुसी बैंकले आर्थिक लगानी गरेका कारण यही बैंक अगाडि प्रदर्शन गरिएको हो।’ खैरो कोइला खानी विस्तारका लागि हामबाच जंगलबाट बाटो निकाल्ने काम गरिरहेको भन्दै वातावरणविद्हरुले आरडब्लुईविरुद्ध आवाज पनि उठाइरहेका छन्।

 तातो हावाको लहर र जंगलमा हुने आगलागीका साथै संयुक्त राष्ट्रसंघले बढ्दो तापक्रम घटाउनका लागि कदम चाल्न गरिरहेको आग्रहका कारण युरोप र विश्वका विभिन्न क्षेत्रमा जलवायु परिवर्तनको विषयमा विभिन्न गतिविधि तीव्र गतिमा भइरहेका छन्। जलवायु परिवर्तनलाई लिएर हुने गरेका प्रदर्शनका कारण विश्वभर सयौंको संख्यामा अधिकारकर्मीहरु पक्राउ पर्ने क्रम जारी रहेको छ।

सोमबार दिउँसोसम्ममा करिब दुई दर्जन प्रदर्शनकारी पक्राउ गरिएको जुरिच प्रहरीले आफ्नो आधिकारिक ट्विटरमा उल्लेख गरेको छ। उसका अनुसार कैयौंलाई बैंकको प्रवेशद्वारबाट हटाउन बाँकी नै रहेको छ। सोमबारको प्रदर्शनमा भेला भएका अधिकांश प्रदर्शनकारी सेतो सुट र मुखमा मास्क लगाएर आएका थिए। केहीले भने ‘स्टप कोल’लगायतका नारा लेखिएका प्लेकार्ड पनि बोकेका थिए भने प्रदर्शनमा सहभागीले ‘फोसिल बैंक, धैरै भयो,’ ‘हामीले तिमीहरुको बालबच्चाका लागि लडिरहेका छौं,’ जस्ता नारा लगाएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। आफ्नो प्रवेशद्वार अघि प्रदर्शन भए पनि क्रेडिट सुसीले भने यस विषयमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन भने युबिएसका प्रवक्ताले भने प्रतिक्रिया दिन अस्वीकार गरेकी छन्।
 

 

प्रकाशित: २४ असार २०७६ ०१:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App