१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कतारमा अफगान–तालिवान वार्ता

दोहो – देशमा दैनिकजसो आक्रमणका घटना बढे पनि शान्तिपूर्ण भविष्यका लागि भन्दै मध्यपूर्वी देश कतारमा विद्रोही तालिबान अधिकारी र अफगान समाजका सर्तक प्रतिनिधिबीच सोमबार वार्ता भएको छ।

देशमा रक्तपातपूर्ण विद्रोही आक्रमण जारी नै रहेको भए पनि अफगानिस्तानमा दशकौंदेखि जारी युद्धलाई अन्त्य गर्ने उद्देश्यसहित कतारमा भइरहेको वार्ताको दोस्रो दिन तालिबान अधिकारी र अफगान समाजका प्रतिनिधिबीच छलफल भएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ। तालिबानले आइतबार मध्य अफगानिस्तानस्थित सरकारी सुरक्षा कम्पाउन्डबाहिर एउटा कार बम विस्फोट गराउँदा कम्तीमा १४ जनाको मृत्यु भएको थियो भने एक सय ८० जना घाइते भएका थिए। घाइतेमध्ये अधिकांश बालबालिका रहेको बताइएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण सन् २०१८ मा मात्रै अफगानिस्तानमा तीन हजार आठ सय चार सर्वसाधारणको मृत्यु भएको थियो

अफगान नागरिक र लडाकु तालिबानबीच कतारमा दुई दिने बैठक सुरु हुनै लाग्दा आइतबार सो आक्रमण भएको थियो। बैठक अफगान शान्ति प्रक्रिया थालनीका लागि निर्णायक हुने र अमेरिका संलग्न भएको सबैभन्दा लामो युद्ध अन्त्य गर्नका लागि संयुक्त राज्य अमेरिका र तालिबानबीच सहमति हुने अपेक्षा धेरैले लिएका छन्।
‘निर्दोष अफगान नागरिकमाथि युद्ध थोपरिरहेकाहरुसँग बैठकमा बस्न अत्यन्तै अप्ठेरो विषय भएको भए पनि यो शान्तिका लागि हामीले गरेको प्रतिबद्धताको परीक्षण पनि हो,’ वार्तामा संलग्न अफगान सरकारका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

तालिबानसमक्ष अफगानिस्तानलाई आतंकवादी शिविरका रूपमा प्रयोग नर्गन अमेरिकाले माग राखेको छ भने तालिबानले भने अफगानिस्तानमा रहेका अमेरिकी तथा अन्य देशका विदेशी फौज हटाउन माग गरेको छ। तालिबान र अमेरिका दुवैले यही मागमा आधारित भएर सम्झौता गर्न खोजिरहेका छन्। तालिबानले अमेरिकासँग विदेशी भूमिमा वार्ता गरिरहेको भए पनि उसकैको समर्थन रहेको अफगान सरकारसँग भने वार्ता गर्न अस्वीकार गर्दै आइरहेको छ। उसले अफगान सरकार अमेरिकाको कठपुतली भएकाले सिधैं अमेरिकासँगै वार्ता गर्ने बताउँदै आएको छ। त्यसैले हाल कतारमा ६० जना अफगान सरकारका प्रतिनिधि तालिबानसँगको वार्ताका लागि पुगेको भए पनि उनीहरु आफ्नै क्षमतामा त्यहाँ पुगेका हैनन्।

‘म यहाँ अफगान नागरिकको हैसियतमा आएको हुँ तर मलाई अन्य हैसियतमा हेर्नुपूर्व तालिबानले अफगान नागरिकको रूपमा हेर्छ भन्नेमा म विश्वस्त भने छैन,’ आफ्नो परिचय खुलाउन नचाहेका अफगान सरकारका एक अधिकारीले कतारबाट टेलिफोनमा रोयटर्ससँग बताए। तालिबानसँगको वार्तामा सहभागी भएका छ जना अफगान अधिकारीसँग रोयटर्सले कुराकानी  गरेको छ।

समग्रमा तालिबान अधिकारीहरुसँगको छलफल सुखद् नै रहेको भए पनि उनीहरुले महिलाका अधिकार र समाजमा स्वतन्त्रतालगायतका विषयमा भने छलफल गर्न नचाहेको अर्का एक सरकारी प्रतिनिधिले रोयटर्ससँग बताए।

सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा शासन गर्दा तालिबानले महिलालाई घरबाट बाहिरको काम गर्न प्रतिबन्ध लगाएको थियो। उसले पुरुष आफन्तसँग मात्रै महिला घरबाट बाहिर जानसक्ने बताएको थियो। तर सन् २००१ मा अल–कायदाद्वारा अमेरिकामा गराइएको आक्रमणको केही सातापछि तालिबान अपदस्थ भएको थियो। त्यसपछि अफगान समाजमा व्यापक परिवर्तन भइसकेको छ। त्यसैले पनि लामो समयदेखि जारी अफगान युद्ध अन्त्य गर्नेबारे यदि अमेरिका र तालिबानबीच सहमति भइहाल्यो भने सहमतिको सरकार बन्ने र त्यसले भएका परिवर्तनमा अंकुश लाग्न सक्ने भन्दै अफगान नागरिकले चिन्ता व्यक्त गर्ने गरेका छन्।
जर्मनी र कतारले मिलाएको वार्ताको वातावरणमा अहिले कसरी अफगानस्तिान संगठित हुनसक्छ भन्ने विषयमा कुराकानी भइरहेको भए पनि तार्किक निष्कर्षमा भने वार्ता पुग्न सकेको छैन।

‘तालिबानले इस्लामिक इमिरेट्स प्रकृतीको सरकार चाहिरहेको छ भने हामी गणतन्त्रात्मक शासन प्रणालीको वकालत गरिरहेका छौं,’ उत्तरी अफगानिस्तानका शक्तिशाली राजनीतिज्ञ अट्टा मोहम्मद नुरका छोरा खालिद नुरले टेलिफोनमार्फत रोयटर्ससँग बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अफगानिस्तानबाट पूर्ण रूपमा आफ्नो सेना फिर्ता गर्न आतुर छन्। यही कारण पनि अमेरिकाले तालिबानसँग सम्झौता गरिहाल्यो भने त्यसले निम्त्याउन सक्ने चुनौतीलाई लिएर अफगान सरकार अहिले चिन्तामा रहेको छ। यदि अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रूपमा फिर्ता भयो भने सरकारी फौज एक्लैले तालिबानसँग लड्नु पर्ने हुन्छ, जुन उसका लागि फलामको च्यूरा चपाए झैं हुने अनुमान गर्ने गरिएको छ।

हाल अफगानिस्तानको ८० प्रतिशतभन्दा बढी भूभागमा तालिबानको नियन्त्रण रहेको बताइन्छ। संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण सन् २०१८ मा मात्रै अफगानिस्तानमा तीन हजार आठ सय चार सर्वसाधारणको मृत्यु भएको थियो जसमा नौ सयभन्दा बढी बालबालिका थिए। त्यसैगरी घाइतेको संख्या सात हजारभन्दा बढी रहेको थियो। सन् २०१८ अफगान युद्ध सुरु भएदेखिकै सबैभन्दा खराब वर्ष हो। यसैबीच मंगलबार अमेरिकी वार्ताकार र तालिबान अधिकारीबीच मंगलबार पुनः बैठक हुने तय भएको छ।

क्याप्सन ः आइतबार घाज्नी क्षेत्रमा गराइएको कार बम विस्फोट क्षेत्रमा पुगेका अफगान सुरक्षाकर्मी। तस्बिर ः एजेन्सी००००
 

    

प्रकाशित: २४ असार २०७६ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App