coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पक्की नाली मासेर व्यापारिक भवन

बाँसगढीमा सडक उत्तर र दक्षिणतर्फ नाली मासेर निर्माण भएका व्यापारिक भवन। तस्बिर: निर्मल/नागरिक

बाँसगढी (बर्दिया) - पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँसगढी नगरपालिका–५ बाँसगढी बजारमा सडकको दुवैपट्टि तीन तले दुईवटा व्यापारिक भवन छन्। बाँसगढी बजारका ती दुई वटा भवन पक्की नाली मासेर बनेको प्रस्टै देखिन्छ। नालीमाथि बनेको सडकदेखि उत्तरतर्फको भवनमा माछापुच्छ«े होटल छ भने दक्षिणतर्फको भवनमा नागरिक इलेट्रोनिक्स पसल सञ्चालन गरिएको छ। उत्तरतर्फको घरले नाली पुरेको छ भने दक्षिणतर्फको घर नालीमै पक्की पिलर बनाएर ठड्याइएको छ। पक्की नाली मासेर बनेका यी भवनमा दर्जनभन्दा बढी पसलहरू सञ्चालनमा छन्।

घरधनीले नाली मासेर मापदण्डविपरीत बनाएको घरबाट लाखौं रुपैयाँ घरभाडा असुल गरिरहेका छन्। तर बाँसगढी बजारमा अनधिकृत रूपमा बनेका यस्ता व्यापारिक भृश्यले नियमनकारी निकाय मुकदर्शक बनेको पुष्टि गर्छ। परम्परागत कुलो वा पक्की नाली मासेर बनेका घर बाँसगढी बजारमा आर्कषक घरमध्येमा पर्छन्। सडकको दुवैतर्फ पक्की नाली मासेर बनेको ती घर करोडभन्दा बढीको लगानीमा बनेका हुन्।

पक्की नाली मिचेर बनेका व्यापारिक भवनका सन्दर्भमा नगरपालिका प्रशासन मापदण्ड लागू गर्न असफल भएको देखिन्छ। ती व्यापारिक भवनले भवन निर्माण आचारसंहिताको धज्जीसमेत उडाएका छन्।

बिनारोकटोक पक्की नालीमाथि बनेको व्यापारिक भवन देख्ने जो कोही अचम्मित हुने गरेको स्थानीय बताउँछन्। ‘सडक छेउबाट हिँड्ने जो कोही पक्की नालीमाथि बनेको घरको फोटो खिचेर हिँड्छन्’ एक स्थानीयले भने, ‘तर ती घर बटुवा र स्थानीयको आँखामा बिझाएर के गर्नु ! नियमन गर्ने निकाय भने देखेको नदेखे झैं गर्छ।’

सडक छेउबाट हिँड्ने जो कोही पक्की नालीमाथि बनेको घरको फोटो खिचेर हिँड्छन्। तर नियमन गर्ने निकाय भने ती घर देखेको नदेखे झैं गर्छ।

सडकका छेउछेउमा बनेका ती घरले नाला मिचेकाले बाँसगढी बजार नै डुबानमा पर्ने जोखिम बढेको छ। पक्की नाली मास्दा बजारबाट पानीको निकास थुनिएको छ। स्थानीयका अनुसार बजारबीचमा रहेको पूर्वपश्चिम राजमार्ग वर्षाका बेला बाँधजस्तो बन्ने गर्छ। सडक छेउमा बनेका ठूला घरले बर्खामा पानी निकास नहुँदा बाँसगढी बजार बर्सेनि डुबानमा पर्ने गरेको छ। डुबानमा पर्ने समस्याले नगरबासीले परम्परागत निकास खोल्नुपर्ने माग गर्दै आएका छन्।

नियमकारी निकायले नगरबासीको माग सम्बोधन नगर्दा यतिखेर पानी निकासको विवाद बढ्दै गएको छ। तर घरधनी कृष्ण बास्तोलाले परम्परागत निकास भए पनि सो ठाउँ आफ्नो नम्बरी जग्गामा पर्ने भएकाले घर बनाएको दाबी गर्दै आएका छन्। नगरपालिका सबै निकास खोलेर बजारमा डुबानको समस्या हटाउन लागिपरेको बाँसगढीका नगरप्रमुख शालिकराम अधिकारीले बताए।

‘घर बन्दा राखिएको निकास खोल्न नगरपालिकाले दबाब दिइरहेको छ,’ उनले भने, ‘निकास खोलिदिने शर्त भए पनि अहिलेसम्म खोलिएको छैन।’ निजी जग्गाको लालपूर्जामा परम्परागत निकास नभएकाले समस्या परिरहेको उनले बताए। नगरपालिकाले बाँसगढीलाई डुबानमुक्त पार्न अधिकांश ठाउँमा निकास खोले पनि बाँसगढी बजार नै डुबानमा पार्ने पक्की नालीको निकास भने खोल्न सकेको छैन।

प्रकाशित: २४ असार २०७६ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App