coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कसैलाई र्‍याखर्‍याख्ती, कसैलाई ज्ञान

काठमाडौं - अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालले आफूले अमेरिकाको ग्रिन कार्ड नलिएको दाबी गरेका छन्। संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा सदस्यहरुले ग्रिन कार्ड लिएको हो कि होइन भन्दै प्रश्नैप्रश्न तेर्साएपछि दाहालले यस्तो दाबी गरेका हुन्। समितिमा उनले ग्रिन कार्ड लिएको भनी उजुरी परेको थियो।

दाहालले अहिलेसम्म चारपटक अमेरिका पुगेको तर बढीमा एक महिना पनि नबसेको र विदेश बस्ने सोच पनि नभएको बताए। समितिका सदस्यले उनलाई ग्रिन कार्ड लिएको भए सत्य बोल्न आग्रह गरेका थिए। नेकपाका सांसद् सुरेन्द्र पाण्डेले अहिले होइन भन्ने तर पछि पत्ता लाग्यो भने राम्रो नहुने बताएका थिए। ‘प्रश्न नउठ्दा कसैले वास्ता गर्दैनन् तर प्रश्न उठिसकेपछि यसले समस्या पार्नेछ’, पाण्डेले भने, ‘कानुनले निषेध गरेको कुरामा जहिले पनि, जतिसुकै बेला पनि प्रश्न उठ्न सक्छ।’

कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले दाहाललाई भने, ‘ग्रिन कार्ड होल्डर भनेर अँध्यारोमा ढुंगा हान्ने काम भएको छ, यसबारे स्पष्ट गर्नुहोस।’ समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले पनि राजनीतिक शरणार्थीका रुपमा आवेदन दिएर ग्रिनकार्ड लिएको हो कि होइन भन्दै प्रश्न गरे। कांग्रेस सांसद पुष्पा भुसालले समितिलाई ग्रिन कार्डका बारे सत्य कुरा बताउन आग्रह गर्दै भनिन् ‘समितिले जाँचबुझ प्रक्रिया अघि बढाउन नपरोस्।’

नेकपाका योगेश भट्टराईले योग्यता क्षमता सबै हुँदाहुँदै पनि ग्रिन कार्ड लिएको भन्ने कुराले समस्या पारेको बताए। उनले ग्रिन कार्ड लिएको भए संविधानको धारा १९१ आकर्षित हुने भन्दै थपे, ‘ग्रिन कार्ड ल्यागेर तीन महिनापछि पुनः नियुक्तिको बाटो रोज्न सकिने संविधानमै अर्को विकल्प रहेकाले त्यो अपनाउन सकिन्छ।’ नेकपाकै पार्वत गुरुङले पनि ग्रिन कार्डको चर्चाले अलमलमा पारेको बताए। ‘हामी कुन प्रक्रियाबाट अनुमोदन गर्ने कुरामा अलमलमा छौं,’ उनले भने।

सांसदहरुले र्‍याखर्‍याख्ती पारेपछि दाहाले भने, ‘मेरी श्रीमती अमेरिका छन् तर उनको ‘वर्क पर्मिट’ को म्याद सेप्टेम्बरमा सकिन्छ।’ राष्ट्रको इज्जतको कुरा भएकाले आफू ग्रिन कार्ड लिएर राजदूतमा नआउने उनले बताए।

शेर्पालाई कूटनीतिक सुझाव
संसदीय सुनुवाइ समितिमा उपस्थित स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पालाई समितिका सदस्यबाटै कूटनीति पढाउने काम भएको छ। कांग्रेस सदस्य जितेन्द्रनारायण देवले कूटनीतिमा धेरै सुन्ने कम बोल्ने काम गर्नुपर्छ भन्दै शेर्पालाई सुझाव दिए। समिति सदस्य सुरेन्द्र पाण्डेले प्रस्तुति दिँदा हिचकिचाए जस्तो देखिएको भन्दै यसमा सुधार ल्याउन शेर्पालाई सुझाए।

समिति सदस्य योगेश भट्टराईले पनि केही कमजोरी देखिएको भन्दै सच्याउन आग्रह गरे। उनले स्पेन भनेको खेलाडीहरुको देश भएको भन्दै यसबारे पनि ध्यान दिनुपर्ने बताए। समिति सदस्य पूर्णकुमारी सुवेदीले पनि राजदूतमा जाँदा अझै व्यावहारिक देखिनुपर्ने बताइन्। प्रस्तावित राजदूत शेर्पा हिमाल आरोही पासाङल्हामु शेर्पाकी छोरी हुन्।

कतारलाई पानी बेच्ने प्रस्ताव
संसदीय सुनुवाइ समितिका सदस्य जितेन्द्रनारायण देवले कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजलाई कतारको खर्चमा नेपालमा मोर्डन अस्पताल बनाउन पहल गरेमा पहिलो माला लगाउने आफू हुने बताउँदै यसबारे पहल थाल्न आग्रह गरे। भारद्वाजले कतार र नेपालबीच मेडिकल सम्बन्ध विस्तार गरी स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारमा अन्तर्राष्ट्रिय संस्था भिœयाउन पहल गर्ने, नेपालको पानी कतारमा लगेर बिक्री गर्न सकिने विषयमा पनि पहल थाल्ने बताए। भारद्वाजले श्रमिकको अवस्था अध्ययन गरी उनीहरूको सुरक्षाको बारेमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। नेकपा सांसद निरु पालले भने अहिलेसम्मका राजदूत वास्तविक काम छाडेर मनोरञ्जनका काममा लाग्ने गरेको बताउँदै भनिन् ‘अब यस्तो सुन्न नपरोस्।’

चुरेका ढुंगा बंगलादेश पु-याउने भनेपछि विरोध
बंगलादेशका लागि प्रस्तावित राजदूत डा. वंशिधर मिश्रले चुरे पहाडका ढुंगा बंगलादेश पु¥याउन आफूले पहल गर्ने बताएपछि समिति सदस्यले विरोध जनाएका थिए। चुरे दोहनले भूक्षयको खतरा भइरहेको सन्दर्भमा त्यहाँका ढुंगा बंगलादेश पु¥याउँछु भन्ने कुरा असान्दर्भिक भएको भन्दै समितिका सदस्यले यो भनाइ फिर्ता लिन आग्रह गरेका थिए। डा. मिश्रले विद्युत व्यापार, कनेक्टिभिटी र चिकित्सा शिक्षामा देखिएको समस्या समाधान गर्न पहल गर्ने बताएका थिए।

चारजनाको नाम अनुमोदन
सुनुवाइपछि समितिले प्रस्तावित चारैजनाको नाम सर्वसम्मतले अनुमोदन गरेको छ। मन्त्रिपरिषद्को २०७६ जेठ २३ गतेको निर्णयबाट चारजनालाई राजदूतमा प्रस्ताव गरिएको थियो।

प्रकाशित: २४ असार २०७६ ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App