७ वैशाख २०८१ शुक्रबार
राजनीति

हिमालको पानी कतार पुर्‍याउँछुः राजदूत भारद्वाज

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– कतारका लागि प्रस्तावित राजदूत नारदनाथ भारद्वाजले नेपालको खानेपानी निर्यात गर्न पहल गर्ने बताएका छन्।

खानेपानी मन्त्रालयले विदेशमा खानेपानीको निर्यात गर्नेगरी खानेपानी तथा सरसफाइ विधेयक संसदमा पेश गरेका बेला साेमबार संसदीय सुनुवाइ समितिमा आफ्ना योजना सुनाउँदै भारद्वाजले नेपालको हिमालको खानेपानी कतार निर्यात गर्न सकिने र यसका लागि आफूले पहल गर्ने बताए। ‘हिमालको पानी कतार पुर्‍याउँछु’, उनले भने। 

राजदूत भारद्वाजले श्रमिकको सुरक्षामा पनि प्रतिबद्धता जनाए। ‘अस्पतालमा रहेका, कोमामा रहेका र जेलमा बसेका श्रमिकको समस्या समाधान गर्न पहल गर्छु’, उनले भने। आजाद भिसाको समस्या समाधानका लागि पनि पहल गर्ने उनको भनाई छ।

राजदूत भारद्वाजले कतारका राष्ट्र प्रमुखको नेपालको भ्रमण गराउन पहल गर्ने प्रतिबद्धता पनि जनाए। नेपाली कामदारको हितमा काम गर्ने उनको भनाई छ।  

अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहालले आर्थिक कुटनीति र त्यहाँको प्रविधि नेपाल भित्र्याउन पहल गर्ने बताए। ‘पर्यटन र राजनीतिक भ्रमणका लागि पहल गर्छु’, उनले प्रतिबद्धता जनाए।  

दाहाललाई सुनवाइका क्रममा सांसदहरुले श्रीमतीको अमेरिकी ग्रीन कार्ड र पीआर भए/नभएको स्पष्ट पार्न आग्रह गरेका थिए। छ भने नैतिकताका आधारमा स्वघोषणा गरेर पछि हट्न पनि सुझाव दिएका थिए। जवाफमा दाहालले आफ्नो अमेरिकी नागरिकता नभएको र श्रीमतीको पनि वर्क परमिट मात्रै रहेको बताए। ‘ग्रीनकार्ड पीआर भएको पुष्टि भए म पद त्याग्न तयार छु’, उनले भने। 

बंगलादेशका लागि प्रस्तावित राजदूत वंशिधर मिश्रले कनेक्टीभिटी, विद्यतुको व्यापारका लागि पहल गर्ने प्रतिबद्धता जनाए। ‘चिकित्सक शिक्षा अध्ययनका लागि जाने विद्यार्थीको समस्या समाधानमा पहल गर्छु’, उनले भने। 

स्पेनका लागि प्रस्तावित राजदूत दावा फुटी शेर्पाले आमा पासाङ ल्हामु शेर्पाले देशलाई केन्द्रमा राखेर काम गरेको स्मरण गर्दै आफू पनि त्यसरी नै काम गर्ने बताइन्। सुनुवाइ समितिले चारै राजदूतलाई सर्वसम्मतले अनुमोदन गरेको छ। 

प्रकाशित: २३ असार २०७६ १३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App