७ वैशाख २०८१ शुक्रबार
समाज

विषादी मापन प्रयोगशालाका कर्मचारी कामविहीन, कार्यालय सुनसान

लालबन्दी बजारबाट संकलन गरेरे ल्याएको तरकारीको नमूनामा सोमबार बिहान विषादीको मात्रा परीक्षण गर्दै प्राविधिक । तस्बिर: टंक/नागरिक

सर्लाही– सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण कार्य रोकेसँगै सर्लाहीको उष्णप्रदेशीय बागबानी केन्द्र परिसरमा रहेको विषादी मापन प्रयोगशाला सोमबारबाट सुनसान बनेको छ।

भारतबाट आयात हुने तरकारी र फलफूलको परीक्षण गर्दा झण्डै दुईसाता भ्याई नभ्याई भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला नवलपुरका प्रमुख गोकर्ण पौडेलले जानकारी दिए। ‘कार्यालयमा काम गर्ने हामी दुई जना मात्र छौं’, पौडेलले नागरिक न्यूजसँग कुरा गर्दै भने, ‘त्यसैले दुई सातादेखि हिजोसम्म भ्याईनभ्याई थियो, आजबाट कामविहिन बनेका छौं।’

गत असार ७ गतेदेखि २२ गते आइतबारसम्म भारतबाट आयात हुने तरकारी तथा फलफूलका ८ सय ५० वटा नमूनाको परीक्षण गरिएको पौडेलले जानकारी दिए। वीरगञ्ज, गौर, मलंगवा र जलेश्वर भन्सार कार्यालयले पठाउने भारतीय तरकारी एवं फलफूलको नमूनामा विषादीको मात्रा परीक्षण गरिएको उनले बताए। ‘दुई नं. प्रदेशमै यो एकमात्र विषादीको मात्रा परीक्षण गर्ने ल्याब हो, त्यसैले ४ वटा भन्सार कार्यालयबाट नेपाल आयात हुने भारतीय तरकारी एवं फलफूलको नमूना आउने गरेको थियो’, पौडेलले भने, ‘बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म भ्याई नभ्याई हुन्थ्यो, सरकारले रोकेसँगै आजबाट भन्सार कार्यालयले तरकारी एवं फलफूलको नमूना पठाउन छाडेको छ।’

भारतबाट आयात हुने आलु, प्याजलगायत तरकारी तथा अनार, मेवा जस्ता फलफूलको परीक्षण गरिएको पौडेलल बताए। पौडेलका अनुसार उक्त प्रयोगशालामा तरकारी तथा फलफूलमा विषादीको विभिन्न तत्व मध्ये कार्वामेट र अर्गानोफस्फेटको मात्रा मात्र परीक्षण हुने गर्दछ। ३५ प्रतिशत भन्दा कम देखिए खानयोग्य, ३५ देखि ४५ प्रतिशत देखिए ३ दिनसम्म तरकारी एवं फलफूल बजारमा नलैजाने र ४५ प्रतिशतभन्दा बढी देखिए नष्ट गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड रहेको पौडेलले जानकारी दिए।

दुई सातासम्म परीक्षण गरिएको भारतीय तरकारी एवं फलफूलमा भने कार्वामेट र अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशत भन्दा कम देखिएको कार्यालयले जनाएको छ। कार्वामेट र अर्गानोफस्फेटको मात्रा बढी भए मानव शरिरमा ईन्जायम प्रकृया अवरुद्ध हुने पौडेलले जानकारी दिए। ‘विश्वका अन्य मुलुकमा तरकारी एवं फलफूलमा विषादीको मात्रा मापन गर्न अनेकौं प्रकारका परीक्षण हुने गर्दछ’, पौडेलले भने, ‘यहाँ भने यही दुई थरीको मात्र परीक्षण हुने गरेको छ।’ नमूनाको परीक्षणको नतिजा भने १ घण्टामै आउने पौडेलले जानकारी दिए।

२०७४ सालमा स्थापना भएको प्रयोगशालामा दरबन्दीका कर्मचारी भने छैनन्। उष्णप्रदेशीय बागवानी केन्द्रका बाली विकास अधिकृत भाग्यनारायण झा काजमा खटिएर स्थापना भएको कार्यालयमा अहिले पौडेल प्रमुखको रुपमा काजमै कार्यरत छन्। गत वैशाखमा झाले अवकाश पाएपछि सरोज यादवलाई कार्यालय सहयोगीको रुपमा करारमा भर्ना गरिएको र दुई जनाले कार्यालय थेगिरहेको पौडेलको गुनासो छ। ‘हिजोसम्म भारतीय तरकारी र फलफूलको नमूना परीक्षण गरेर भ्याई नभ्याई थियो अब लालबन्दी बजारमा बिक्रीका लागि ल्याईएका तरकारीको नमूना परीक्षण गर्न थालेका छौं’, पौडेलले भने, ‘लालबन्दी तरकारी बजारमा किनबेच हुने फलफूल एवं तरकारीमासमेत अहिलेसम्म ३५ प्रतिशत भन्दा बढी मात्रा देखिएको छैन।’

मानव स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने हुनाले सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण रोक्ने भन्दा पनि यस्ता प्रयोगशालालाई अझै आधुनिक ढंगले स्तरोन्नती गर्दै मुलुकभर विस्तारसमेत गर्नुपर्ने आवश्यकता रहेको जानकारहरु बताउँछन्।

प्रकाशित: २३ असार २०७६ १२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App