८ वैशाख २०८१ शनिबार
समाज

शिक्षणसँगै आलुखेती

आलुबारीमा सिँचाइ गर्दै प्रकाश। तस्बिरः नागरिक

डडेल्धुरा – हाम्रो समाजमा केही यस्ता व्यक्ति पनि छन्, जो सरकारी जागिरसँगै अन्य काममा पनि आफ्नो ऊर्जा खर्चिरहेका छन्। यसको एक उदाहरण हुन्, अमरगढी नगरपालिका–१, तडिपाटाका प्रकाशबहादुर ऐर। पेसाले उनी सरकारी शिक्षक हुन्। सामुदायिक विद्यालयमा शिक्षण गर्दै आएका छन्।

उनले पढाउने विद्यालय घरदेखि १५ मिनेटको दूरीमा रहेको असिग्राम मावि भातकाँडा हो। उनी विद्यालयमा गणित र विज्ञान विषय पढाउँछन्। शिक्षण पेसामा आबद्ध भएको उनलाई २२ वर्ष पुग्यो।

शिक्षकको दैनिकी कस्तो हुन्छ ? बिहान १० बजे देखि ४ बजेसम्म विद्यालयमै बस्ने, अध्यापन गराउने अन्य समयमा कुनै राजनीतिक दलको चिया पसलमा गुनगान गाउने, राजनीतिक दलका भातृसंगठनका कार्यक्रममा धाउने, नभए ट्युसन कक्षा दिएर साँझ बिहान गरी दिन बिताउने वा घरमा भोलि पढाउने विषयको पूर्व तयारी गर्ने। तर, प्रकाशको भने दैनिकी फरक छ।

उनी बिहान ६ बजे देखि ९ बजे सम्म तीन घण्टा र साँझ ५ देखि करिब ८ सम्म (तीन घण्टा) मातृभूमिको माटोमा रमाउँछन्। तीन महिना आलुसँग रमाउने उनी तीन महिना काउलीसँग खेतबारीमा रमाउँछन्। अन्य समय घर वरपरका बोटविरुवा, गाई भैंसी, माछाहरूको हेरचाहमा बिताउँछन् उनी।

प्रकाशले आलु खेती सुरु गरेको २० वर्ष भयो। अहिले १३ रोपनीमा उनले आलु खेती गरिरहेका छन्। विगतमा मकै बालीमा सीमित तडिपाटा अहिले नगदे बालीमा धेरै अगाडि पुगेको छ। आलुको सुपरजोननै घोषणा भएको छ। त्यस क्षेत्रमा प्रायः खेतबारी यो समयमा हरियाली छ। उनीलगायत तडीपाटाका सयाैं स्थानीयले आलुखेती गर्दै आएका छन्।

धेरै स्थानमा सिँचाइ सुविधा छैन भन्दै काम गर्न छोडेका उदाहरण छन्। इच्छा शक्ति भए असम्भव भन्ने केही छैन भने जस्तै ऐरले खेतभन्दा तल रहेको खोलाबाट मोटर प्रयोग गरी बारीमा पानी तानेका छन्। उनको ६ जनाको परिवार छ। आलु खेतीमा घरपरिवारका अन्य सदस्यहरूले पनि साथ दिएका छन्।

एक सिजनमै ६ लाख कमाइ

उनी अहिले एक सिजनमा सरदर १२ देखि १५ टन आलु उत्पादन गर्छन्। आलु राम्रो उत्पादन भएको समयमा एक सिजनमा मात्रै ६ लाख र कम उत्पादन भएको वर्षमा तीन लाख आम्दानी हुने उनी बताउँछन।

उत्पादित आलु बिक्रीवितरणमा पनि केही समस्या नभएको उनको भनाइ छ। बीउ आलु उत्पादन गरेको वर्ष नजिकैको उग्रतारा शीतभण्डारमा राख्छन्। तराईका जिल्ला कैलाली, कञ्चनपुर र पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ, डोटीका विभिन्न स्थानीय तहले सजिलै घरैबाट खरिद गरेर आलु लैजाने उनको भनाइ छ। उनले अहिले खायन आलु (खानका लागि लगाएको आलु) मात्र नभई बीउ आलु पनि उत्पादन गर्न थालेका छन्।

व्यावसायिक आलु खेतीबाट उनले २० वर्षमा १४ रोपनी जमिन खरिदसमेत गरेका छन्। उनले करिब एक करोडको लगानीमा पक्की घरसमेत बनाएका छन्। ‘एक छोरालाई काठमाडौंमा बायोलोजी पढाउँदैछु, छोरीलाई अनमी पढाएँ,’ उनले भने, ‘अर्की छोरी कृषि प्राविधिक पास गरिसकेकी छ भने एक छोरीको बिहे पनि गरिसकेको छु।’

युवाहरूले खाडी मुलुक तथा भारतीय सहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी गर्न सकिने उनको ठम्याइ छ। देशमै आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवाहरू विदेश पलायन हुन नपर्ने उनको बुझाई छ।

प्रकाशित: २३ असार २०७६ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App