८ वैशाख २०८१ शनिबार
अर्थ

दोर्दीखोला जलविद्युत् आयोजनाकाे उत्पादन पुसबाट

काठमाडौं – २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी पुसदेखि परीक्षण उत्पादन गर्ने भएको छ। आयोजनाको निर्माण ८५ प्रतिशत सम्पन्न भइसकेको छ।

आयोजनाका कार्यकारी निर्देशक प्रमुख गुरुप्रसाद ढकालले जलविद्युत् आयोजनाको ८५ प्रतिशत काम सम्पन्न भएको बताए। ‘आयोजनाको ८५ प्रतिशत निर्माण सम्पन्न भइसक्यो,’ उनले भने, ‘सिभिलतर्फको लगभग सम्पूर्ण काम सम्पन्न भइसक्यो। अहिले हाइड्रो इन्जिनियरिङतर्फको काम धमाधम भइरहेको छ।’

आयोजना प्रमुख ढकालले आगामी डिसेम्बरभित्र निर्माण सम्पन्न गरेर आयोजनाको परीक्षण प्रसारण सुरु गर्नेछौं। ‘डिसेम्बरदेखि परीक्षण प्रसारण गर्ने गरी तिव्र गतिमा काम गरिरहेका छौं,’ उनले भने, ‘अहिलेको गतिले समयमा सम्पन्न हुनेमा आशावादी छौं।’

कम्पनीले २०७४ मंसिरमा उत्पादन गर्ने प्रारम्भिक लक्ष्य राखिएको थियो। तर, भूकम्प र नाकाबन्दीका कारणले आयोजनाको निर्माण प्रभावित भएर तोकिएको समयभन्दा दुई वर्षपछि तयार हुन लागेको हो। आयोजना हिमालयन पावर पार्टनर र गैरआवासीय संघ एनआरएनको संयुक्त लगानीमा निर्माण भइरहेको छ।

एनआरएनको ५१ प्रतिशत र हिमालयन पार्टनरको ४९ प्रतिशत सेयर रहेको छ। विद्युत् विकास विभागबाट आयोजनाले २०६८ मा जलविद्युत् उत्पादन गर्ने अनुमतिपत्र प्राप्त गरेको थियो। आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग  विद्युत् खरिद सम्झौता (पिपिए) गरिसकेको छ।

आयोजनाले गरेको पिपिएमा सुक्खायाममा ८.४ रुपैयाँ र वर्षायाममा ४.८ रुपैयाँ दररेटमा बिजुली उपलब्ध गराउनेछ। दोर्दीखोलाबाट उत्पादित बिजुली १३२ केभीको प्रसारणलाइनमार्फत उदयपुरको सबस्टेसनमा जोडेर राष्ट्रिय ग्रिडमा लैजाने योजना अघि बढाइएको छ। लम्जुङ जिल्लामा अवस्थित उक्त आयोजना रन अफ दी रिभरमा प्रणालीमा निर्माण गरिएको हो।

आयोजनाका अनुसार अहिले इलेक्ट्रो मेकानिकलको काम भइरहेको छ। आयोजनाको टनेल निर्माण गर्ने जिम्मा मल्टी इन्फ्रास्ट्रक्चरले पाएको थियो। हाइड्रोमेकानिलको काम माछापुच्छ«े र सिभिलतर्फको कामको जिम्मेवारी रसुवा कन्स्ट्रक्सनले पाएको थियो। त्यस्तै इलेक्ट्रो मेकानिकलतर्फको भने भवाइड कम्पनीले पाएको थियो। यो आयोजना चार अर्ब २३ करोड लागतमा निर्माण गर्न लागिएको हो।

मुआब्जा माग गर्दै स्थानीय आन्दोलित
दोर्दीखोला जलविद्युत् आयोजनाका प्रभावित मुआब्जावापतको रकम पाउनुपर्ने माग राख्दै आन्दोलित भएका छन्। आयोजनाले तोकेको भन्दा धेरै जग्गा अतिक्रमण गरेको भन्दै मुआब्जा रकम माग गर्दै प्रभावित आन्दोलित भएका हुन्।

दोर्दीखोला जलविद्युत् आयोजना पीडित संघर्ष समितिले आयोजनाले मापदण्डविपरीत पाइप विस्तार गरेको भन्दै आन्दोलनमा उत्रिएका छन्। संघर्ष समितिका ऋषिराज दवाडीले आयोजनाले तोकिएको भन्दै धेरै जग्गा अधिग्रहण गरेर जलविद्युत्को पाइपलाइन विस्तार गरेकाले आन्दोलनमा उत्रिनुपरेको बताए।

‘जलविद्युत् आयोजनाले पहिला १५ मिटर मात्रै जग्गा अधिग्रहण गरेर मुआब्जा उपलब्ध गराएको थियो,’ उनले भने, ‘तर, अहिले आयोजनाले १५ मिटरको ठाउँमा ४० मिटरसम्म जग्गा अधिग्रहण गरेर पाइप बिछ्याएको छ। त्यसैले थप अधिग्रहण गरिएको जग्गाको मुआब्जाको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको हो।’ अहिले मुआब्जा माग गर्नेमा धोर्दी गाउँपालिका वडा नं ८ मा दवाडी परिवारका पाँच घर, बेसीसहर नगरपालिकामा  वडा नं ११  मा ५० जना जग्गाधनीले मुआब्जा रकम पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन्।

संघर्ष समितिका अध्यक्ष दवाडीले आयोजनासँग पटक–पटक मुआब्जा रकम माग गर्दा पनि आलटाल गरिरहेको गुनासो गरे। ‘आयोजनासँग थप अधिग्रहण गरिएको जग्गाको पटक–पटक मुआब्जा रकम माग ग-यौं। तर, आयोजनाले बेवास्ता गरिरहेको छ,’ उनले भने, ‘हाम्रो समस्याबारे स्थानीय जनप्रतिनिधिलाई पनि जानकारी गराइसकेका छौं।’

आयोजन प्रमुख ढकालले पहिलो चरणको मुआब्जा रकम भुक्तानी गरिसकेको बताउँछन्। ‘पहिलो चरणको मुआब्जा रकम भुक्तानी गरिसकेका छौं,’ उनले भने, ‘पछिल्लो समयको केहीलाई मात्रै भुक्तानी गर्न बाँकी छ। उक्त रकम पनि केही समयभित्रै भुक्तानी गर्नेछौं।’ आयोजनाले  यसअघि  जलविद्युत् प्रभावितलाई प्रतिरोपनी साढे दुई लाख आठ रुपैयाँ मुआब्जा रकम भुक्तानी गरेको थियो।

संघर्ष समितिले जलविद्युत् आयोजना प्रभावितलाई शतप्रतिशत क्षतिपूर्ति र मुआब्जा उपलब्ध गराउनुपर्ने, इआइए रिपोर्ट नेपाली भाषामा हुनुपर्ने, पानी मुहानको पहिचान गरेर प्रभावित स्थानीयलाई खानेपानी र सिँचाइको व्यवस्था गर्नुपर्ने लगायत माग राखेर आन्दोलनमा उत्रिएका हुन्।

प्रकाशित: २३ असार २०७६ ०३:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App