७ वैशाख २०८१ शुक्रबार
अर्थ

भारतीय सहरमा चलिए पोखरा

चलिए पोखरा अभियानअन्तर्गत भारतको लखनउमा आयोजित कार्यक्रम। तस्बिर : नागरिक

पोखरा – पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य भए पनि पोखरासम्मको आउजाउ उतिसारो सजिलो नभएको भन्दै भारतीय पर्यटन व्यवसायीले गुनासो पोखेका छन्। प्राकृतिक सुन्दरता र आतिथ्यमा पोखरेली कमजोर नरहे पनि स्थलमार्गको आउजाउ झन्झटिलो रहेको उनीहरुको भनाइ छ। सबै सहरसँग हवाई पहुँच नहुँदा स्थलमार्गको भर पर्नुपर्ने बाध्यता रहेको भारतीयको भनाइ थियो।

पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा भारतका विभिन्न सहरमा सञ्चालित ‘चलिए पोखरा अभियान’को क्रममा भारतीय टुर अपरेटर्सले नेपाल घुम्नलायक मुलुक भए पनि पहुँचका हिसाबले अप्ठेरो रहेको गुनासो पोखेका थिए। अभियानका अवसरमा पटनामा आयोजित कार्यक्रममा नेपाली भन्सारमा भारतीय पर्यटकले पूरा गर्नुपर्ने प्रक्रियालाई अनलाइन गर्नसके समयको बचत भई पर्यटकलाई झन्झट नहुने भनाइ भारतीय व्यवसायीले राखेका थिए।

घुम्न निस्केका पर्यटकलाई नाकामा तीन–चार घण्टासम्म कुर्नुपर्ने समस्या रहेको उनीहरुले बताए। पर्यटकलाई भन्सार नाकामा मैत्रीपूर्ण व्यवहारसमेत नहुने गरेको भारतीय व्यवसायीको गुनासो थियो। यसैगरी भारतबाट नेपाल आउँदै गर्दा बाटोमा भारतीय स्वादका रेस्टुराँ नभएको र आवश्यक पर्दा प्रयोग गर्न मिल्ने सार्वजनिक शौचालयसमेत अभाव भएको गुनासो उनीहरुको थियो। भारतीय पर्यटकलाई नेपाली गाइडले उचित गाइडिङसमेत नगर्ने गरेको गुनासो भारतीय व्यवसायीको थियो।

लखनउमा आयोजित कार्यक्रममा भारतीय जनता पार्टी उत्तर प्रदेशका प्रवक्ता राकेश त्रिपाठीले अहिले नेपाल जाने भारतीय पर्यटकको संख्या निकै बढेको भन्दै आपसी सहकार्यबाट त्यस्तो सम्भव भएको भनाइ राखे। उनले नेपालभित्र सहज आउजाउ हुने र  खोजेको सुविधा पाउने हो भने पर्यटकलाई समस्या नरहेको सुनाए।

‘नेपाल घुम्दा निकै आनन्द आउँछ। तर, केही समस्या छन्, ती समस्या समाधान गर्ने हो भने अहिलेभन्दा बढी भारतीय पाहुना नेपाल घुम्न जानेछन्,’ उनले भने। पोखरासम्म घुम्न जाँदा मन रोमाञ्चक हुने भए पनि स्थलमार्ग सहज नभएको, हवाईमार्गले नजोडिएको उनले बताए। ‘पोखरासम्म सिधा हवाई सेवा भएको भए पनि यो समस्या हल हुन्थ्यो,’ उनले भने।

उत्तर प्रदेश पर्यटन विभागकी निर्देशक प्रीति श्रीवास्तव, अल इन्डिया ट्राभल एन्ड ट्रान्सपोर्ट एसोसिएसनका अध्यक्ष सुनिल तिवारी, भारतीय सांसद सञ्जय चौधरी, उत्तर प्रदेश परिवहनका क्षेत्रीय प्रबन्धक आरके बोस र इन्द्रजीत सिंहलगायतले नेपाल र भारतबीचको पर्यटन सम्बन्धलाई सहज हुने गरी सहकार्य गर्नुपर्ने बताए।

अभियान सञ्चालन गरेको संघका अध्यक्ष विकल तुलाचनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक वर्षअघि मुक्तिनाथको दर्शन गरेपछि पोखरामा भारतीय पर्यटक बढ्न पुगेको जानकारी गराए। भारतीय र नेपाली व्यवसायीबीच सम्बन्ध राम्रो हुँदै जाँदा दुवै पक्षका समस्या मिलेर समाधान गर्न सहज हुने र एक अर्काको व्यापारिक हितमा टेवा पुग्ने उनले बताए। ‘पर्यटक आउजाउ हुँदा दुवै पक्षलाई फाइदा हुन्छ। एकतर्फी व्यवसायीलाई मात्र नाफा हुने होइन,’ उनले भने। उनका अनुसार अहिले वर्षमा करिब दुई लाख भारतीय पाहुना पोखरा आउँछन्। यो बेला भारतीयको पोखरा आउने सिजन हो।

भारतीय पर्यटकलाई पोखरा घुम्न निम्तो दिने तथा उनीहरुका लागि पोखरा उचित गन्तव्य हो भन्ने सन्देश प्रदान गर्ने मुख्य उद्देश्य अभियानले बोेकेको संघका सल्लाहकार परिषद्का संयोजक एवं पूर्वअध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले जानकारी दिए।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निर्देशक मणिराज लामिछानेले भारतीय पर्यटकका लागि नेपाल प्रवेशमा भिसा आवश्यक नपर्ने, भारतीय एक सय रुपैयाँ दरका नोट सहज रुपमा स्वीकार हुने, एटिएम र बैंक पनि प्रशस्त रहेको तथा हिन्दी भाषा धेरै नेपालीले बुझ्ने र बोल्ने जानकारी पनि गराए। उनले उत्तर भारतमा अहिले निकै गर्मी भएको भन्दै पोखरा घुम्नका लागि भारतीयलाई यो नै उचित समय रहेको पनि बताए। पोखराका होटलका कोठाबाटै हिमाल देख्न सकिने र पोखरा पर्यटकीय राजधानीको रुपमा समेत मान्ने गरिएको जानकारी सो अवसरमा उनले गराए।

अभियानका क्रममा संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीले पोखरा प्रकृति र संस्कृतिको हिसाबले धनी भएको भन्दै साहसिक पर्यटनमा पनि सो सहर उत्तिकै प्रख्यात रहेको जानकारी गराए। दामोदरकुण्ड, मुक्तिनाथ, मनकामना, तालबराही र विन्ध्यबासिनी मन्दिर जस्ता धार्मिक स्थल पोखरा र वरपर रहेको जानकारी पनि पराजुलीले कार्यक्रममा गराएका थिए।

पोखरा र लखनउ सिधा बस वा हवाई सेवाबाट जोड्नुपर्ने सुझाव लखनउमा आयोजित कार्यक्रममा भारतीय पक्षबाट राखिएको थियो। यसैगरी नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि सो अवसरमा प्रेरित गरिएको थियो।

अभियानकै क्रममा संघका अध्यक्ष तुलाचनले पटनामा आफूहरु चलिए पोखरा अभियान लिएर तेस्रो पटक आएको भन्दै आपसी राम्रो सम्बन्धले समस्या समाधान गर्न सहज हुने भनाइ राखे। उनले यो पटक व्यापारिक आदानप्रदान र अनुभव आदानप्रदान गर्दै सिकाइका लागि पनि भ्रमण गरेको सुनाए। सन् २०१२ मा सुरु भएको चलिए पोखरा अभियानअन्तर्गत यो पटक भारतको पर्यटकीय सहर आगरा, उत्तर प्रदेशको राजधानी लखनउ, विहारको राजधानी पटना र सोही सहरको सीमावर्ती सहर रक्सौलमा कार्यक्रम गरिएको थियो। सो अवसरमा व्यापारिक भेटघाट (बिटुबी)को आयोजना गरिएको र नेपाल र पोखरा सम्बन्धी डकुमेन्ट्रीसमेत भारतीय व्यवसायी र सञ्चारकर्मीलाई देखाइएको थियो।

प्रकाशित: २३ असार २०७६ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App