coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रकविसँग मुखर्जीले भने– ‘कविजी, हाउ आर यु ?’

विष्णु नेपाल

काठमाडौँ–  ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्खा उचाली... जय जय जय नेपाल, सुन्दर र शान्त विशाल ...।’ हरेक नेपालीको मनमस्तिष्कमा जीवन्त बास बसेका यी गीतका हरफहरु सङ्गीतमा तरङ्गित भइरहेको थियो। खुला चौरमा त्रिपाल त थियो नै । वरिपरि रुख र रुखमा रहेका चराचुरुङ्गीको आवाजसँगै राष्ट्रिय गीतमा विशिष्टजनले मन भुलाइरहेको प्रतीत हुन्थ्यो ।

कालजयी यस राष्ट्रिय गीतका स्रष्टा राष्ट्रकवि माधव घिमिरे मुस्कुराउँदै मञ्चतर्फ लम्किए भयो। नब्बे वर्ष पार गरिसक्नुभएका वयोवृद्ध राष्ट्रकवि घिमिरे लौरोको सहाराले मञ्चमा पुगे। मञ्चमा पाइला राख्ने बित्तिकै भारतका राष्ट्रपति प्रणव मुखर्जीले ‘कवि जी, हाउ आर यु ?’ भन्ने भलाकुसारीका शब्द उच्चारण गरे। अङ्गेजी भाषाका ज्ञातासमेत रहेका राष्ट्रकवि घिमिरेले जवाफमा भने – “आई एम फाइन, योर एक्स्लेन्सी।”

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमणमा आज काठमाडौँ आएका हुन्। राष्ट्रपति भण्डारीसँग शीतल निवासमा भएको एक घन्टाको औपचारिक भेटपछि राष्ट्रपति मुखर्जी यहाँस्थित भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुँदाका क्षण हुन् यी।

राजकीय निमन्त्रणामा आउने विशिष्ट व्यक्तिले आफ्नो दूतावासमा आयोजना गरिने स्वागत समारोहमा आमन्त्रित पाहुनाहरुसँग भेटघाट गर्ने परम्परा रहिआएको छ । तत्कालीन भारतका राष्ट्रपति के आर नारायणन् र श्रीमती उषाले पनि नेपालको राजकीय भ्रमणका क्रममा भारतीय दूतावासमा आयोजित स्वागत समारोहमा सहभागी हुँदा यसैगरी शीर्ष नेता, उद्योपति, कानुनविद्लगायत विशिष्ट व्यक्तिहरुसँग भलाकुसारी गरेका थिए। पूर्वराष्ट्रपति नारायणनले विस २०५५ जेठ १४–१६ मा नेपाल भ्रमण गरेका थिए।

भ्रमणको पहिलो दिन नै भारतीय दूतावासले तत्कालीन राष्ट्रपति नारायणन्को सम्मानमा स्वागत समारोह आयोजना गरेको थियो । राष्ट्रकवि घिमिरे स्वागत समारोहका लागि मध्याह्न १२ बजे नै लैनचौरस्थित भारतीय दूतावासमा पुगेका थिए।  “जीवनमा मलाई बडो आनन्द मिल्यो” – राष्ट्रपति मुखर्जीसँग हात मिलाएपछि उनले भने।

दुई देशका राष्ट्रिय गानको धून बजाएर स्वागत समारोह सुरु र अन्त्य गरिएको थियो । हँसिलो मुद्रामा नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनसँग राष्ट्रपति मुखर्जी मञ्चमा आसीन थिए। भेटघाटमा नेपालका लागि भारतका राजदूत रणजीत रायको सहभागिता थिए। रासस

 

प्रकाशित: १७ कार्तिक २०७३ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App