coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘दुईपक्षीय सैन्य साझेदारी इन्डोप्यासिफिक रणनीतिभित्र पर्दैन’

काठमाडौं - नेपाली सेनाले अमेरिकी रक्षा विभागको रिपोर्टमा नेपाली सेनालाई दिँदै आएको सहयोग र साझेदारीलाई इन्डो–प्यासिफिक रणनीतिमा राख्न नमिल्ने बताएको छ। रिपोर्टमा नेपाली सेनालाई विगतदेखि दिँदै आएको सहयोगलाई इन्डोप्यासिफिक रणनीतिमा राखे पनि सेनाले भने यसलाई रणनीतिक साझेदारी मान्न नसकिने जनाएको छ।

अमेरिकाले नेपाली सेनालाई दिइँदै आएको मानवीय सहायता र विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास तथा शान्ति स्थापना, सुरक्षा व्यवसायीकरण, प्रतिविद्रोहलगायतका क्षेत्रमा हुँदै आएको साझोदारीलाई पनि इन्डो–प्यासिफिक रणनीतिमा राखेको छ। सेनाले भने अमेरिकी सहयोग र साझेदारीलाई दुईपक्षीय सहयोग र साझेदारी मात्र भएको जनाएको छ।

‘हामी असंलग्न नीतिमा विश्वास गर्छौँ, सेना सरकारको नीतिअनुसार सञ्चालन हुने भएकाले सेनालाई दिइने सहयोगलाई कुनै रणनीतिभित्र राख्न मिल्दैन, हामी यसमा प्रष्ट छौँ,’ नेपाली सेनाका एक उच्च अधिकारीले भने। नेपाली सेना कुनै सैन्य गठबन्धनमा नरहेकाले सेनालाई दिइने सहयोगलाई रणनीतिभित्र राख्न नमिल्ने ती अधिकारीको तर्क छ।

‘इन्डो–प्यासिफिक रणनीति सुरु हुनुभन्दा पहिले नै दिइएका सहायता र सहयोग पनि त्यही बास्केटभित्र राखेको देखिन्छ, त्यो राम्रो कुरा होइन,’ ती अधिकारीले भने। रिपोर्टमा नेपाललाई विगतमा प्यासिफिक कमाण्डअन्तर्गत गरिएका सहयोग र साझेदारीसँगै जुन २०१८ मा भएको ‘ल्याण्ड फोर्स टक’ र नेपालसँग भएको उच्चस्तरीय सैन्य संवाद र भ्रमणलाई अमेरिकी रणनीतिभित्र राखिएको छ। सेनाले भने इन्डोप्यासिफिक रणनीतिभित्र रहेर कुनै पनि सहकार्य र साझेदारी नभएको बताएको छ। आगामी दिनमा हुने साझेदारी पनि कुनै रणनीति अन्तर्गत नभई दुईपक्षीय सहयोग र साझेदारीअन्तर्गत मात्र हुने सेनाले जनाएको छ।

यस विषयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिका भ्रमणका क्रममा पेन्टागनमा अमेरिकी अधिकारीसँग छलफल गर्न सक्ने सैनिक स्रोतले जानकारी दिएको छ। प्रधानसेनापति थापा बेलायती सेनाले आयोजना गर्न लागेको फस्ट ओमन, पिस एण्ड सिक्युरिटी (डब्ल्यूपिएस) चोर्डस नेटवर्क मिटिङमा सहभागी हुन असार २३ मा न्यूयोर्क प्रस्थान गर्दैछन्।

त्यस क्रममा उनले पेन्टागनस्थित अमेरिकी रक्षा विभागमा अमेरिकी सेनाका उप–प्रमुख जोइन्ट चिफ अफ स्टाफसँग भेट गर्ने कार्यक्रम तय भएको छ। त्यस क्रममा इन्डो–प्यासिफिक रणनीतिको विषय उठेमा प्रधानसेनापतिले नेपालको असंलग्न नीतबारेमा प्रष्ट पार्ने सैनिक स्रोतले जनाएको छ। ‘भेटमा प्रशंग उठेमा नेपाली सेनाले असंलग्न नीतिअन्तर्गत कुनै गठबन्धन वा रणनीतिमा संलग्न नरहेको विषयमा प्रधानसेनापतिज्यूले प्रष्ट पार्नुहुनेछ,’ स्रोतले भन्यो।

प्रकाशित: २३ असार २०७६ ०१:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App