७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

परमाणु सम्झौताको प्रावधान उल्लंघन गरेको इरानको घोषणा

तेहरान – विश्वका ६ शक्तिशाली राष्ट्र र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौताको अर्को एउटा प्रावधान तोडेको तेहरानले घोषणा गरेको छ। तेहरानमा आयोजित एउटा पत्रकार सम्मेलनमा इरानका सहायक विदेशमन्त्री अब्बास अराक्चीले सम्झौताले व्यवस्था गरेको युरेनियमको थप प्रशोधन वा इन्रिचमेन्टको सीमास्तरलाई आफ्नो देशले तोडेको बताएका हुन्।

सम्झौताले आफूसँग राख्न अनुमति दिएभन्दा बढी (लो इन्रिच्ड) युरेनियमको भण्डारण बढाएको बताएको एक साताभन्दा कम समयमा यस्तो नयाँ घोषणा आएको बिबिसीले उल्लेख गरेको छ। त्यस्तो इन्रिच्ड युरेनियम आणविक भट्टीमा इन्धनको रूपमा र पारमाणविक अस्त्रमा पनि प्रयोग हुनसक्ने बताइन्छ।

इरानले के भन्यो ?
इरानले आणविक हतियार निर्माण गर्ने आफ्नो कुनै मनसाय नरहेको बताउँदै आएको छ। ‘इरान न त अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हट्नेछ न त त्यसलाई रद्द गर्नेछ,’ पत्रकार सम्मलेनमा अराक्चीले बताए।

सन् २०१५ को सम्झौताबाट पछि नहट्ने वा त्यसलाई रद्द गर्ने पक्षमा नरहेको बताए पनि युरोपेली संघ (इयु)का विदेशनीति प्रमुखलाई इरानले पठाएको पत्रमा तेहरान अब सो सम्झौतामा तोकिएका विभिन्न सीमामा अडिग नरहने स्पष्ट पारेको थियो।

पत्रकार सम्मेलनमा सहायक विदेशमन्त्री अराक्चीले इरानले अझै उक्त सम्झौता बचाउन चाहेको तर युरोपेली राष्ट्रहरु आफूले गरेको प्रतिबद्धतामा कायम रहन नसकेको आरोप लगाए। इरानको आणविका कार्यक्रम रोक्ने र त्यसको बदलामा उसविरुद्ध लगाइएका प्रतिबन्ध हटाउनेबारे सन् २०१५ मा भएको सो सम्झौताबाट संयुक्त राज्य अमेरिका सन् २०१८ मा एकपक्षीय रूपमा बाहिरिएको थियो।

एकतर्फी रूपमा सम्झौता तोडेलगत्तै अमेरिकाले इरानमाथि पुनः प्रतिबन्ध लगाएको छ। सम्झौताबाट अमेरिका पछाडि हटेको एक वर्ष नाघेको अवसरमा इरानले बाँकी हस्ताक्षरकर्तालाई ६० दिनको समयसीमा दिएको थियो। तेहरानले चीन, फ्रान्स, जर्मनी, रुस र बेलायतलाई अमेरिकी प्रतिबन्धहरुबाट आफूलाई बचाउन आग्रह गरेको पनि गरेको थियो। ६० दिने समयसीमा सकिएको दिन आइतबार इरानका सहायक विदेशमन्त्री अब्बास अराक्चीले पत्रकार सम्मेलन गरेर परमाणु सम्झौताका केही प्रावधान उल्लंघन गरेको घोषणा गरेका हुन्।

अराक्चीका अनुसार ३.६७ प्रतिशतभन्दा बढी घनत्वमा युरेनियमको थप प्रशोधन वा इन्रिच्मेन्टको कार्य केही समयमै सुरु हुने र त्यसले बुसर पावर प्लान्टलाई ऊर्जा प्रदान गर्नेछ।

इरानी अधिकारीहरुले यसअघि त्यस्तो घनत्व पाँच प्रतिशतसम्मले बढ्ने बताएका थिए। हतियार तहका युरेनियम ९० प्रतिशत वा बढी ‘इन्रिच्ड’ हुनेगर्छन्। इरानले प्रत्येक ६० दिनमा सन् २०१५ को सम्झौतामा आफूले गरेको एकपछि अर्को प्रतिबद्धताबाट हात झिक्ने बताएको छ। यद्यपि आफूमाथि लगाइएका प्रतिबन्ध हटाइए कूटनीतिक बाटो अझै खुला रहने पनि उसको भनाइ छ।

इरानले आणविक सम्झौताको केही प्रावधान उल्लंघन गरेको घोषणा गरेलगत्तै मध्यपूर्वको अमेरिकी प्रमुख साझेदार इजरायलका ऊर्जामन्त्रीले इरानको कदमको आलोचना गरेका छन्। ‘अहिले बढाइएको तह मझौला खालको भएपनि इरानले परमाणु शस्त्रीकरणतर्फ आफ्नो कदम बढाएको छ,’ उनले भनेका छन्। फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोंले इरानी राष्ट्रपति हसन रौहानीसँग सम्झौता अलपत्र परे के हुन्छ भन्ने बारे ‘कडा चासो’ राखेको  एकदिनपछि तेहरानको यस्तो घोषणा आएको हो। रौहानीले युरोपेली राष्ट्रहरुलाई सम्झौतालाई बचाउन आग्रह गरेका थिए।

के हो परमाणु सम्झौता ?
परमाणु सम्झौतामार्फत इरानको परमाणु महŒवाकांक्षालाई सीमित पार्ने सर्तमा उसमाथि लगाइएका प्रतिबन्ध खुकुलो पारिएको थियो। वासिङ्टन सम्झौताबाट पछि हटेपछि इरान–अमेरिका तनाव बढेको छ। सम्झौता अनुसार इरानले ३ देखि चार प्रतिशत घनत्व हुने लो इन्रिच्ड युरेनियम मात्र उत्पादन गर्न पाउँथ्यो जुन आणविक ऊर्जा भट्टीमा मात्र प्रयोग गर्न पाइन्छ। त्यस्तो युरेनियम तीन सय किलो मात्र भण्डारण गर्न सम्झौताले अनुमति दिएको थियो। तर १ हजार ५० किलोसम्म इन्रिच्ड युरेनियम भण्डारण गरेर त्यसको घनत्व बढाउँदा एउटा बम बनाउन सकिने आर्म्स कन्ट्रोल एसोसिएसनको भनाइ छ।

अमेरिकी प्रतिबन्धका कारण इरानको अर्थतन्त्रमा नराम्ररी धक्का लागेको छ। इरानको मुद्राको मूल्य अहिलेसम्मकै सबैभन्दा कममा पुगेको छ र वार्षिक मुद्रास्फ्रिति दर चारगुणा बढेको छ भने वैदेशिक लगानी पनि अन्यत्रै गएको छ।

प्रकाशित: २३ असार २०७६ ०१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App