coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सुपुर्दगी विधेयकविरुद्ध हङकङमा प्रदर्शन

हङकङ – सरकारले ल्याएको प्रस्तावित सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा हङकङमा आइतबार पनि विरोध प्रदर्शन भएको छ। हङकङको संसद्मा गत जुलाई १ मा भएको तोडफोडपछि पहिलो पटक आइतबार भएको विरोध प्रदर्शनमा हजारौं सरकार विरोधी प्रदर्शनकारी देखिएका छन्। विवादित सुपुर्दगीसम्बन्धी विषयमा आफूले राखेको सरोकार बुझाउनका लागि भन्दै ती प्रदर्शनकारीले मुख्यभूमि चीनबाट आउने पयर्टकका लागि प्रख्यात रहेका हङकङका विभिन्न क्षेत्रमा ¥यालीसमेत आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ।

‘एक राष्ट्र, दुई प्रणाली’अन्तर्गत रहेको हङकङ चीनकै एक हिस्सा हो। यही प्रणालीकै आधारमा उसले मुख्यभूमि चीनका जनताले पाउने भन्दा फरक र धेरै अधिकार र स्वतन्त्रता उपयोग गर्न पाइरहेका छन्, जसमा वाक्स्वतन्त्रता, प्रदर्शनको अधिकारलगायतका छन्। हङकङमा केही सातादेखि सुपुर्दगीसम्बन्धी विधेयकलाई लिएर प्रदर्शन जारी रहेकाले त्यहाँ हुने प्रदर्शनका तस्बिर मुख्यभूमि चीनबाट सञ्चालित हुने सामाजिक सञ्जालमा बन्देज लगाइएको छ।

केही सातादेखि हङकङमा निरन्तर प्रदर्शन भइरहेका छन्। हङकङ सरकारले मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे एउटा विधेयक ल्याएको थियो। सो प्रस्तावित विधेयक राजनीतिक रूपमा फरक आस्था राख्नेविरुद्ध लक्षित हुनसक्ने भन्दै हङकङमा लाखौंले प्रदर्शनमा सहभागिता जनाएपछि  सरकारले तत्कालका लागि सो विधेयकलाई स्थगित गरेको भए पनि पूर्ण खारेजीको माग गर्दै बेलावखत प्रदर्शन भइरहेका छन्।

यस विषयमा त्यति धैरै नबोलेको मुख्यभूमि चीनले भने जुलाई १ मा भएको हङकङको संसद् तोडफोड प्रकरणमा भने असन्तुष्टि जनाउँदै चेतावनी  जारी गरेको थियो।
बेलायतको पूर्व उपनिवेश रहेको हङकङ चीनको एउटा प्रमुख हिस्सा हो। एक देश दुई प्रणालीका कारण हङकङमा आफ्नै न्यायालय र छुट्टै कानुनी प्रणाली पनि रहेको छ। आइतबारको प्रदर्शनलाई भने विधेयक विरोधी प्रदर्शनकारीले आफ्नो भनाइ पुष्टि गर्नका लागि प्रयोग गरेको देखिन्थ्यो। उनीहरुले चिनियाँ पर्यटकका लागि प्रख्यात क्वोलुनलगायतका क्षेत्रमा प्रदर्शन गरेका थिए।

 

प्रकाशित: २३ असार २०७६ ०१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App