१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बझाङः पहिले र अहिले

आजको बझाङमा सडक पुगेको छ, बिजुली पुगेको छ। ह्याचरी लघु उद्योग विकास गर्न सकिन्छ।

एउटा १२/१४ वर्षका किशोर बझाङको बुंगल गर्खा शान्ति हाइस्कुलको प्रांगणमा उसिनाको चामल हतार–हतार फाँको मार्दै (खाँदै) थियो। उसका वरिपरि लगभग उसकै उमेरका अन्य १०/१२ जना किशोर अत्यन्त लोभलाग्दो किसिमले उसको मुख हेरिरहेका थिए। केही गम्भीर त केही चञ्चले पाराले। यो घटना हो– ४१ वर्षअघि ०३५ सालको। त्यति बेला ‘गाउँ फर्क’ राष्ट्रिय अभियानको आवरणमा पञ्चायत राजनीति अरू जरा गाड्ने रणनीतिमा थियो। गाउँ फर्क अभियानको नेतृत्व विश्वबन्धुु थापाले गरेका थिए। संस्थाका प्रमुख थापा काठमाडौँमा भने साइकलमा यात्रा गर्थे। म राससको प्रमुख समाचारदाता थिएँ। विश्वबन्धुुले सुदूरपश्चिमका बझाङ, दार्चुला, बैतडी, डडेल्धुराको राजनीतिक भ्रमण गर्ने अठोट गरेछन्। मैले थाहा पाएँ र मलाई पनि मिल्ने भए त्यो यात्रामा मिसाउन आग्रह गरेँ। उनी सहमत भए। त्यो बेला धमाधम गाउँ, नगर पञ्चायतको निर्वाचन भइरहेको थियो। त्यसपछि जिल्ला र राष्ट्रिय पञ्चायतको निर्वाचन हुने थियो। गाउँ फर्क अभियानको सिफारिस पञ्चायतका कुनै पनि तहको उम्मेदवार हुन आवश्यक मात्र होइन, अनिवार्य थियो। पञ्चायतलाई मैले बुझेसम्म साँघुरो बनाउने परिपञ्च थियो, त्यो अभियान।

उसिनाको काँचो चामल खाजा    
त्यही यात्राका क्रममा हामी ४ जनाको टोली प्लेनबाट बझाङको चैनपुर उत्रिई सदरमुकामको काम सकी बुंगल गर्खा पुग्यौँ। त्यहाँको हाइस्कुलको  प्रांगणमा आमसभा राखिएको थियो, जहाँ विश्वबन्धुु थापा पञ्चायत र गाउँ फर्क राजनीतिको पक्षमा फुर्का गाँसी–गाँसी भाषण गर्दै थिए। पञ्चायत ल्याइएको १८ वर्ष नाघिसक्दा पनि आमजनताका लागि न कामको ग्यारेन्टी थियो न त मामको ! हाइकुल पढ्ने एउटा किशोर उसिनाको फुको चामल अरूलाई देखाइ धमाधम फाँको मार्दै खाँदै छ, त्यो पनि बडा गर्वसाथ। त्यसताका नेपालबाट खाद्यान्न धान भारत निर्यात हुने गथ्र्यो। सरकारले धान–चामल निर्यात कम्पनीहरू नै चलाएको थियो, तराईतिर। तर भारतबाट दुर्गम पहाडी  जिल्लाहरूका लागि उसिनाको चामल किनेर ल्याउँथ्यो र बेच्थ्यो। त्यो धान–चामल राजनीति मैले बुझेको थिइनँ। बझाङ जिल्ला मानव विकास सूचकांकका आधारमा निकै पछि परेको थियो। उसिना चामलको प्रसंग सम्झिएपछि मैले बझाङ बुझेका केही मान्छेसँग सम्पर्क गर्दा थाहा भयो– बझाङमा उसिना वा नउसिना चामल अहिलेसम्म पनि काँचै खाने चलन रहेछ। जसलाई फाँको भनिँदोरहेछ। बिहान वा दिउँसो वन वा मेलापात जाँदा खाजाका रूपमा काँचो चामल पटुकामा हालेर लाने गरिँदोरहेछ। भोक लागेपछि चामल मुखमा हाल्यो, अनि तातो थुकले अलि ढाडिएपछि चपायो, निल्यो। यो चलन नै रहेछ। तसर्थ ती किशोर विद्यार्थीले उसिना चामल फाँकोमारी खाएको मेरा लागिमात्र नयाँ रहेछ।  बझाङमा त यो साधारण व्यवहार नै रहेछ। यसर्थ पत्रकार वरिष्ठ होस् वा कनिष्ठ, कुनै नयाँ कुरा सुने वा देखे त्यसको स्थानीय प्रचलन र व्यवहार नबुझी अनुमानले मात्र निष्कर्षमा पुग्नु केटाकेटी काम हुने रहेछ भन्ने आत्मालोचना गर्न मन लाग्छ।  

कुखुरा र लुइँचे क्रस
बझाङको यात्रा सातपल्ट गरिछु, मैले। नेपाल वातावरण पत्रकार समूहबाट जिल्ला स्तरीय सचेतना कार्यक्रम लिएर गएका थियौँ, हामी। दुई दिनको विचार गोष्ठी थियो। जिल्ला विकास समितिको सभापतिमा चेतराज बजाज हुनुहुन्थ्यो। त्यतिबेला बझाङको सदरमुकाम चैनपुरमा पनि खान–बस्न मिल्ने किसिमका सामान्य होटेल पनि थिएनन्। कामचलाउ खालका मात्र थिए। सफा सुग्घरको चेतना एकदमै न्यून। हाम्रो टोलीमा हस्त गुरुङ र अर्का एक जना विज्ञका रूपमा हुनुहुन्थ्यो। म त्यो कार्यक्रमको संयोजक थिएँ। त्यतिबेला बझाङ पनि सुक्खा जिल्ला घोषणा भएको रहेछ। सुक्खा जिल्ला भनेको जाँडरक्सी निषेध। हामीसँग जाने विशेषज्ञ एक जनाको साथी त्यहाँको सैनिक  ब्यारेकका हाकिम  रहेछन्। एक दिनको डिनर रसिलोसँग खुवाउन खोजेछन्। रक्सी खाँदा सितनका रूपमा प्रायः कुखुराको मासु दिने चलन। ती ब्यारेकका अफिसरले कुखुरो खोज्न लगाए, चैनपुर बजार र वरपरका गाँउमा पनि । तर एउटै पनि पाइएनछ, कुखुरो। अन्ततः बिनाकुखुराको मासु पार्टी भो। तर अनिषेधित कुखुराको मासु पाइएन। निषेधित रक्सीको भने चुस्की लिइयो। निषेधित रक्सी पाइने, अनिषेधित कुखुरा नपाइने कस्तो अवस्था २०५१ सालमा बझाङको !

बझाङमा बथानका बथान कुखुरा पाली पुग्दो खाने, बढी भएको बाहिर पठाएर जिल्लाको अर्थतन्त्र उकास्न सकिन्छ। कुखुरा र कालिज क्रस गर्ने प्रयास सफल भयो भने सुनमा सुगन्ध हुँदैन र ! कुखुरा र लुइँचेको क्रस गर्ने प्रयोगमा बझाङका पूर्वराजा जयपृथ्वीबहादुर सिंहका नाति लागिरहनुभएको छ।


सफल भए, सुनमा सुगन्ध
यो अवस्थाले त बझाङको अर्थतन्त्रलाई कहिले माथि उठाउला र भन्ने लागेर मैले एउटा उपाय सोचेँ। बझाङको गरिबी उखेल्न अन्य कुराका साथसाथै स्थानीय घरपालुवा कुखुरा र जंगली  कालिज क्रस गरेर नयाँ जातिका कुखुरा प्रजाति सिर्जना गर्न प्रयत्न गर्ने। यो सम्भव वा असम्भव दुवै हुनसक्छ। भएन भने भएन। तर भयो भने नयाँ मात्र हो र, उल्कै पो त हुन्छ ! यो कुरा मैले बझाङमै सर्वप्रथम एफएम रेडियो सञ्चालन गरेरै छाड्ने अठोटमा रहेका बझाङी मीनबहादुर सिंहलाई भेनेँ र छलफल गरेँ। उहाँ छक्क पर्नु भो, यो नितान्त नौलो प्रस्तावबाट। मीनबहादुरलाई विकासको यो मोडल एकदमै नयाँ लागेछ। त्यसपछि कुखुरा र लुइँचेको क्रस गर्ने प्रयोग त भइरहेको छ तर सफल भइसकेको छैन। हालै मीनबहादुरसँग भेट हुँदा मैले सोधेँ– ‘अहिले चैनपुरमा कुखुरा पाइन्छ ?’  चैनपुरमा रक्सी र कुखुरा जति भने पनि पाइन्छ भैरवसर, भन्नु भो उहाँले। मैले उत्साहित हुँदै फेरि सोधेँ– ‘कुखुरा बझाङ कै हो कि ?’ उहाँले निराशाको उच्छ्वाससाथ जवाफ दिनु भो– ‘कहाँ बझाङको हुनु सर, बाहिरबाट ल्याइएको।’ म छक्क परेँ ! आजको बझाङमा सडक पुगेको छ, बिजुली पुगेको छ। ह्याचरी लघु उद्योग विकास गर्न सकिन्छ। बझाङमा बथानका बथान कुखुरा पाली पुग्दो खाने, बढी भएको बाहिर पठाएर जिल्लाको अर्थतन्त्र उकास्न सकिन्छ। यसै मेसोमा कुखुरा र कालिज क्रस गर्ने प्रयास सफल भयो भने सुनमा सुगन्ध हुँदैन र ! कुखुरा र लुइँचेको क्रस  गर्ने प्रयोगमा बझाङका पूर्वराजा जयपृथ्वीबहादुर सिंहका नाति लागिरहनुभएको छ।
काममा जानेको अभिलेख राखौँ
बझाङमा पहिलोपल्ट २०१८ सालमा राष्ट्रिय जनगणनाको काममा पुगेको हुँ। किनभने नेपालका प्रशासकीय जिल्ला ७७ होइन, ७५ पनि होइन, ३५ मात्र थिए। अछाम, बाजुरा र बझाङ डोटी जिल्ला प्रशासनअन्तर्गत पर्थे। बझाङमा बझाङी राजा थिए। बझाङकै थलारामा थलारी राजा थिए। तर राजारजौटा उन्मूलन भइसकेका थिए। म थलारा जाँदा थलाराका पूर्वराजा राघवनारायण सिंहसँग कुराकानी भयो। उनले बेलुका दुईथरी तरकारी र दुईथरी नै अचार पठाइदिए। उनको शिष्टाचार र अतिथि सत्कारको उच्च संस्कारको प्रशंसा गर्न मन लाग्छ। बझाङको चैनपुरमा त्यतिबेला नै सत्यवादी हाइस्कुल थियो। जसका प्रधानाध्याापक रामदत्त अवस्थी थिए। उनी हालको भारतको उत्तराञ्चलप्रदेश अस्कोटका थिए। त्यतिबेला नेपालका भित्री भागमा पढाउने शिक्षक प्रायः भारतबाट आउँथे।

बझाङ, रोजगारीका लागि पुग्दो काम नपाइने जिल्ला। तसर्थ त्यहाँका मानिस रोजगारीका लागि भारतको हिमाली क्षेत्र बद्री केदारधामतिर जाने आमप्रचलन थियो। यिनीहरूलाई कहाँ जाने भनी सोध्दा भन्थे– ‘भर्दी झ्यान्या।’ केही वर्षअघि केदारनाथ क्षेत्रमा भएको प्राकृतिक प्रकोपमा कति नेपाली परे, त्यसको अभिलेख छैन। अनुमानमा धेरै नेपाली परे भन्ने छ। तसर्थ अस्थायी  रोजगारीका लागि भारत जाने नेपालीको पनि अभिलेख राख्ने व्यवस्था गर्नेतिर सरकार गम्भीर हुन जरुरी छ।

प्रकाशित: २२ असार २०७६ १३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App