coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सिन्धुलीका दुई पत्रकारमाथि प्रहरीबाटै आक्रमण, जिल्ला अध्यक्ष गम्भीर घाइते

सिन्धुली– नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ। यहाँको कमलामाई नगरपालिका ६ शिवनगरचोकमा शनिबार राति करिब ९ बजे जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई प्रहरीले निर्घात कुटपिट गर्दा पत्रकार महासंघका अध्यक्ष कार्की गम्भीर घाइते भएका छन्। शिवनगर चोकको शिवनगर खाजा घरमा खाना खान गएका कार्की र दाहालमाथि खाजा खाएको भिडियो नखिच्न अनुरोध गर्दा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार सलामसिंह लामा र प्रहरी जवान विकास स्याङ्तानले उल्टै कुटपिट गरेका थिए।

कुटपिटबाट सख्त घाइते भएका कार्कीको सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ भने पूर्वअध्यक्ष मिनकुमार दाहालको सिन्धुली अस्पतालमा उपचार पश्चात घर फर्किएका छन्। 
खाना खाइरहेको अवस्थामा लागुपदार्थ र मादक पदार्थ सेवन गरि होटलमा प्रवेश गरेका प्रहरीले एक्कासी कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। होटल सञ्चालक गोमा पोखरेलका अनुसार पत्रकारद्वयले खाना खाइरहेको अवस्थामा प्रहरी हवल्दार लामा र प्रहरी जवान स्याङ्तानले एक्कासी खाना खाएको भिडियो खिच्न थालेपछि अनावश्यक भिडियो नखिच्न आग्रह गर्दा एक्कासीे टाउकोमा आक्रमण गरि घाइते बनाएका थिए। ‘हामी पनि कर्मचारी हौं, तपाईहरु पनि कर्मचारी हो भन्दै प्रहरीको हवल्दार लामाले भिडियो खिचें’, घाइते दाहालले भने, ‘हामीलाई  विनाजानकारी अनावश्यक भिडियो नखिच्न भन्दा एक्कासी बोतल, इट्टा र हेल्मेटले टाउकोमा हाने। सादा पोसाकमा आएका प्रहरीले हामीलाई मार्ने उद्देश्यले कुटपिट गरेका थिए।’

उनले थपे, ‘प्रहरी भनेर हामीले चिनेनौं, उनीहरु साधा पोशाकमा भएकाले ज्यान बचाउन प्रहरी प्रमुख चक्रबहादुर सिंहलाई फोन गरेपछि आएको प्रहरीले आफ्नै युनिटमा कार्यरत प्रहरी भनेपछि मात्रै हामीलाई प्रहरीले नै आक्रमण गरेको थाहा भयो।’ होटलभित्रबाट कुटपिट गर्दै बाहिर ल्याएर इट्टा, ढुंगा, हेलमेट र वियरको बोतलले हानेको छिमेकी होटलकी एक प्रत्यक्षदर्शीले जनाइन्। गम्भीर घाइते कार्कीको टाउको छाती र जिउभरी चोटपटक छ।  घट्नापछि गम्भीर घाइते कार्कीलाई शनिबार राति नै काठमाडौं लगिएको थियो। 

कारवाहीको माग

नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की र पूर्वअध्यक्ष मिनकुमार दाहालमाथि भएको सांघातिक आक्रमणको विषयलाई लिएर जिल्लाका पत्रकार आन्दोलित भएका छन्। शान्ति सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीजस्तो निकायमा कार्यरत प्रहरीबाटै पत्रकार कुटिएको भन्दै जिल्लाका क्रियाशील पत्रकारले आपत्ति जनाएका हुन्। पत्रकारहरुले आइतबार बिहान एक विज्ञप्ति जारी गर्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम गर्र्दै दोषीमाथि कडा कारबाही र पत्रकारको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन्। 

दोषीमाथि कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ, प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, आदिवासी जनजाति पत्रकार महासंघ तथा क्रियाशील महिला पत्रकार समूह सिन्धुलीले विज्ञप्ति जारी गरेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख चक्रबहादुर सिंहले घटनापछि कुटपिटमा संलग्न दुबै प्रहरीलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको जानकारी दिए। ‘कुटपिटमा संलग्न प्रहरीलाई हामी हदैसम्मको कारवाही गर्छौं’, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्माले पत्रकाहरुसँग भने, ‘प्रहरी भनेर कारवाहीको कुनै छुट हुँदैन, दोषी ठहरिए कारवाही गर्छौं।’ 

प्रकाशित: २२ असार २०७६ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App