८ वैशाख २०८१ शनिबार
समाज

जलविद्युत आयोजनामा कार्यरत दुई बेपत्ता, दुई घाइते

फाइल तस्बिर

सिन्धुपाल्चोक - अविरल बर्षासँगै गएराति आएको बाढीले भोटेकोसी नदी करिडोर क्षेत्रमा रहेका विभिन्न पाँच जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याउने क्रममा दुई कामदारलाई बगाएर बेपत्ता बनाएको छ। अन्य दुई घाइते भएका छन्।

शिवश्री हाइड्रो पावर कम्पनीद्धारा भोटेकोसी गाउँपालिकामा निर्माणाधीन माथिल्लो चाकु जलविद्युत आयोजनामा कार्यरत कामदार यादव काफ्ले र रामऔतार चौधरी बाढीमा बगेर बेपत्ता भएका हुन्। उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर यादव थापाले नागरिकन्यूजलाई बताए। अन्तिम चरणमा पुगेको २२ मेगावाट क्षमताको उक्त आयोजनामा उनीहरु ‘पाइप फिटिङ’ को काम गर्थे।

उक्त आयोजनाको पावर हाउसमा गार्डको काम गर्ने एक र लाफिङ बुद्ध जलविद्युत आयोजनामा काम गर्ने अर्का एक कामदार गरी दुई जना घाइते भएका हुन्। उनीहरुलाई आइतबार बिहान हेलिकप्टरबाट उद्दार गरी उपचारको लागि ललितपुरको बिएण्डबी अस्पताल पु¥याइएको छ। हेलिकप्टर अवतरण गर्न नसकेपछि डोरीको सहायतामा घाइतेको उद्दार गरिएको शिविश्रीका सञ्चालक उमेश कसजूले बताए। शनिबार साँझदेखिको अविरल बर्षा नरोकिँदा राति ११ बजेतिर चाकु लगायत आसपासका खहरे खोला उर्लँदा भोटेकोसी नदीको बहाब उच्च बनेको थियो। इन्सपेक्टर थापाले बाढीले विभिन्न पाँच आयोजनामा व्यापक क्षति पु¥याएको बताए। ‘क्षति विवरण संकलन गर्दै छौँ,’ उनले भने। बाढीले निर्माणाधीन चाकुका साथै लाफिङ बुद्धका तीनवटा आयोजनामा भौतिक क्षति पु¥याएको छ। आयोजनाका बाँध र उत्पादन गृहमा लेदोमाटो र ढुंगा थुप्रिएको छ।

त्यतै भोटेकोसी नदीको चाकुमा निर्माणाधीन एक सय दुई मेगावटा क्षमताको मध्येभोटेकोसी आयोजनाको बाँधमासमेत बाढीले क्षति पु¥याएको छ। बाँधमा रहेका आयोजनाका एक ट्रिपर र एक एक्स्काभेटर पुरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार क्षतिको थप विवरण संकलन भइरहेको छ। आसपासको खहरे र भोटेकोसी उर्लेपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले राति नै स्थानीयलाई सचेत गराएको थियो। शुक्रबार मध्यराति मात्रै अविरल बर्षासँगैको बाढी भेल पस्दा जुगल गाउँपालिकाको गोल्चेमा निर्माणाधीन गाउँघर उज्याला जलविद्युत आयोजनामा कार्यरत एक इन्जिनियरलाई बगाएर बेपत्ता बनाएको थियो। दोलखा जिल्ला घर भएका बेपत्ता इन्जिनियर मूक्ति सिवाकोटी अझै फेला पर्न सकेका छैनन्।

प्रकाशित: २२ असार २०७६ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App