coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नक्कली आरोहण सिफारिसमाथि छानबिन सुरु

काठमाडौं - सगरमाथा आरोहीसँगै गएका सम्पर्क अधिकृत (लियाजोन अफिसर)ले सगरमाथा चुचुरोमा नपुगेका आरोहीलाई आरोहणको सिफरिस गरेको पाइएको छ। सम्पर्क अधिकारीले प्रमाणित गरेपछि पर्यटन विभागले भारतीय पर्वतारोही नाहिता मञ्जुरलाई सगरमाथा चुचुरोमा पुगेको प्रमाण पत्र दिएको हो।

यस वर्षको वसन्तकालीन मौसममा सगरमाथा आरोहणमा गएका भारतीय आरोही मञ्जुरलाई लियाजोन अफिसर डिल्लीबहादुर थापाले सगरमाथा आरोहणको गरेको प्रमाणित गरिदिएका छन्। मञ्जुर चुचुरोमै नपुगे पनि उनले चुचुरोमा पुगेको प्रमाण पत्र लिन सफल भएकी छिन्। सम्पर्क अधिकृतले प्रमाणित गरेपछि उनीद्वारा सगरमाथाको चुचुरोमा पुगेको प्रमाण पत्र लिन पर्यटन विभागमा निवेदन पेश भएको थियो। विभागले उनलाई सगरमाथाको चुचुरोमा पुगेको प्रमाण पत्र दिएको छ। विभागले प्रमाणित गरेपछि मञ्जुरको आरोहणको विषयमा उनीसँगै आरोहण टोलीमा गएका अन्य सदस्यहरूले प्रश्न उठाएका थिए। यसपछि विभागले मञ्जुरले सगरमाथाको चुचुरोमा पुगेको/नपुगेको विषयमा अनुसन्धान सुरु गरेको छ। स्रोत भन्छ, ‘सगरमाथाको चुचुरोमा पुगेको मञ्जुरको दाबी नक्कली हो। तैपनि उनी चुचुरोमै नपुगी सगरमाथाको चुचुरोमा पुगेको प्रमाण पत्र लिन सफल भए।’

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भारतीय पर्वतारोही मञ्जुरले लिएको आरोहण प्रमाण पत्रको विषयमा अनुसन्धान सुरु गरिएको बताए। उनले भने, ‘दुई जना आरोहीको विषयमा अनुसन्धान सुरु भएको छ। दुइ मध्ये भारतीय पर्वतारोहीले प्रमाण पत्र पनि लिएका छन् भने अर्को एक आरोहीलाई प्रमाण पत्र दिइसकेका छैनौं।’ मञ्जुरलाई सगरमाथाको चुुचुरोमा पुगेको प्रमाणित गर्ने सम्पर्क अधिकारी थापा भने बेस क्याम्पसम्म मात्र पुगेका थिए। अधिकांश सम्पर्क अधिकृत त बेस क्याम्पसम्म पनि पुग्दैनन्। आफूले भारतीय पर्वतारोही मञ्जुरलाई सगरमाथाको चुचुरोमा पुगेको प्रमाणित गरेको सम्पर्क अधिृकत थापाले स्वीकार गरे। थापा नेपाल प्रहरीका निरिक्षक हुन्। हाल उनी काभ्रे जिल्लामा कार्यरत छन्।

थापाले भने, ‘चुचुरोमा पुगेको÷नपुगेको प्रमाणित गर्न वैज्ञानिक विधि हामीसँग छैन। चुचुरोमा पुगेको फोटो हेर्छौं र सँगै गएका साथीहरूको विश्वास गर्छौं। त्यसैको आधारमा प्रमाणित गर्छौं।’ मञ्जुरले चुचुरोमा पुगेको दाबी नक्कली हुनसक्ने उनले बताए। ‘दाबी नक्कली हो कि सक्कली अनुसन्धानपछि थाहा होला,’ उनले भने। मञ्जुरलाई सगरमाथामा लैजाने एजेन्सी स्नो होराइजन हो। मञ्जुरको टोलीमा ११ सदस्य थिए। युएईका आरोहीले पनि यस्तै नक्कली दाबी गरेका छन्। उनलाई भने विभागले प्रमाण पत्र दिएको छैन। मञ्जुर सगरमाथाको चुचुरोमा पुगेको दाबी नक्कली प्रमाणित भए उनको प्रमाण पत्र रद्द हुनेछ। विभागका अनुसार उनले पेश गरेका फोटो र अन्य प्रमाणहरूको विषयमा छानबिन थालिएको छ।

६ हजार ५ सय मिटरभन्दा अग्ला हिमाल आरोहणमा जान आरोहण टोलीले एक जना सम्पर्क अधिृकत लैजानुपर्ने कानुनी व्यवस्था छ। सम्पर्क अधिकृत सरकारी कर्मचारी हुनुपर्छ। सम्पर्क अधिृकतले सम्बन्धित आरोही चुुचुरोमा पुगेको÷नपुगेको प्रमाणित गर्ने गर्छन्। सम्पर्क अधिकृतले प्रमाणित गरेपछि मात्र उसले आरोहण पूरा गरेको प्रमाण पत्र पाउँछ। चुचुरोमा पुगेको प्रमाणित गर्न सम्बन्धित आरोहीले फोटो पेश गर्नुपर्ने कानुनी व्यवस्था छ। चुचुरोमा पुगेको भिडियो पेश गर्नुपर्ने कानुनमा व्यवस्था नभएको विभागकी निर्देशक मिरा आचार्यले बताइन्।

विभागले यस वर्ष आरोहणका लागि ३ सय ८१ जनालाई अनुमति दिएको थियो। तीमध्ये २ सय १३ आरोहीले सगरमाथा आरोहण गरेको रेकर्ड छ। आरोहणमा पुगेका आरोहीलाई विभागले प्रमाण पत्र दिन सुरु गरिसकेको छ। यस वर्ष सम्पर्क अधिकारीको भूमिकाको विषयमा प्रश्न उठेपछि सरकारले एक महिनाअघि पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। समितिले अहिले काम सुरु गरिरहेको बताइएको छ।

सरकारले गठन गरेको छानबिन समितिबाहेक पर्यटन विभागले पनि हिमाल आरोहणलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने विषयमा सम्बन्धित सरोकारवालासँग छलफल सुरु गरेको छ। विभागका महानिर्देशक घिमिरिले हिमाल आरोहणलाई सुरक्षित बनाउन विभागले सम्बन्धित सरोकारावाला व्यक्ति तथा पक्षहरूसँग सम्पर्क र छलफल सुरु गरेको बताए। हिमाल आरोहणलाई सुरक्षित बनाउन आफू प्रतिबद्ध भएको उनले जनाए।

प्रकाशित: २२ असार २०७६ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App