coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हुरीपीडितका घर निर्माणमा

निर्माण अवधि बितिसके पनि निर्माण सम्पन्न नभएका पुरैनियाका हुरीपीडितका घर।

बारा - घर निर्माणमा ढिलाइ भएको भन्दै बाराका हुरीपीडितले गुनासो गरेका छन्। जेठ अन्तिम सातासम्म चार सय ६३ घर निर्माण गर्ने दाबी गरिए पनि असारको दोस्रो साता बितिसक्दा समेत ५० वटा मात्र घर तयार भएका छन्। नेपाली सेनाले निर्माणको जिम्मा लिए पनि घरनिर्माणमा ढिलाइ हुँदा हुरीपीडितले सास्ती खेप्नुपरेको छ।

घर निर्माणमा ढिलाइ भएपछि टेन्टमा बसिरहेका हुरीपीडितलाई अत्यधिक गर्मी र वर्षाले सास्ती दिइरहेको छ।

चैत १७ गतेको विनाशकारी हुरीबाट क्षति भएका घरको वैशाख २१ गते पुनर्निर्माणका लागि शिलान्यास गरिएको थियो। ‘हुरीपीडित परिवारलाई साउनअघि नै उपलब्ध गराउन भनेर निर्माण थालिए पनि केही ढिलाइ भएको छ,’ जनता आवास कार्यदलको नेतृत्वकर्ता सेनाका सहायक रथी विनयविक्रम राणाले भने, ‘घरमा प्रयोग हुने निर्माण सामग्री आपूर्तिलगायत समस्याले सोचेअनुसार काम भएको छैन।’ शिलान्यास गरिएपछि त्यसको एक महिनाभित्रै चार सय ६३ वटा घर निर्माण गर्ने लक्ष्य लिएर काम अगाडि बढाइएकोमा घर निर्माणमा आवश्यक पर्ने सामग्रीको खरिद प्रक्रिया लम्बिएको र बाहिरबाट लिन भनिएको जनशक्ति लिन नसकिएकाले सोचेअनुसार घरहरूको निर्माण कार्य गर्न नसकिएको राणाको भनाइ छ।

हुरीपीडितका लागि आठ सय ८५ वटा घर पछिल्लोपटक निर्माण गर्ने निर्णय भएअनुसार अहिलेसम्म सात सय ७४ वटा घरको जग खनी निर्माण अगाडि बढाइएको राणाले दाबी गरे। निर्माण सुरु गरिएकामध्ये पाँच सय ४४ घरको पर्खाल जगभन्दा तीन फिटमाथिसम्म आएको, ४५ वटाको छानो र वाइरिङ गर्ने कार्य सुरु गरिएको तथा ५० वटा घरको मात्रै छानो हाल्ने कार्य सम्पन्न गरिएको उनले बताए। उनका अनुसार बारा र पर्साका हुरीपीडितका लागि घर निर्माण भइरहेको र कतिपय स्थानमा निर्माण सामग्री ढुवानी गर्न सडकको अभाव रहेको छ।
सेनाले निर्माण गर्न जिम्मा पाएको एउटा घरको निर्माणमा मूल्य अभिवृद्धि करसहित पाँच लाख ४५ हजार खर्च हुने बताइएको छ। जग खन्ने बेलामा सेनाले राम्रोसँग काम गरेको र पछि बाहिरबाट ल्याइएका मजदुरले काम छाडेर गएपछि समस्या भएको पुरैनियाका वाइदा खातुनले बताइन्।
     
घर निर्माणमा खटेका बाहिरका मजदुरलाई घरको निर्माण कार्य पूरा गरेर जान आग्रह गर्दा काम लगाएको ठेकेदारले ज्याला दिनमा आलटाल गरेकाले काम गर्न नसकिने भन्दै उनीहरू गएको खातुनले सुनाइन्। घर निर्माणमा ढिलाइ गरिएपछि टेन्टमा बसिरहेका हुरीपीडितलाई अत्यधिक गर्मी र वर्षाले सास्ती भइरहेको छ। टेन्टमा खाना पकाउन नसकिने र अहिले पानी परिरहेकाले बाहिर खाना पकाउँदा खानामा कीराफट्यांग्रा पर्ने गरेको दुखेसो पीडितले सुनाए।
 

प्रकाशित: २२ असार २०७६ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App